• २०८३ जेष्ठ २५, सोमबार

काठमाडौँमा मनाइयो २२७ औ पुश्किन जयन्ती

काठमाडौँ ।

नेपाल रुस साहित्य समाज र रुसी भवन काठमाडौँको आयोजनामा विश्वविख्यात रुसी कवि, नाटककार र उपन्यासकार अलेक्सान्दर पुश्किनको २२७ औ जयन्ती आयोजना गरिएको थियो । उक्त दिन रूसी भाषा दिवसको रूपमा पनि मनाइने गरिन्छ । कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रमा सम्पन्न कार्यक्रमको शुरु रुसी सांस्कृतिक केन्द्रको परिसरमा अवस्थित पुश्किनको सालिकमा माल्यार्पणबाट भयो । त्यसपछि लब्बीमा ‘पुश्किन एण्ड हिज टेल्स ’ नामक फोटो प्रदर्शनीको उद्घाटन भयो ।

नेपाल रुस साहित्य समाजका अध्यक्ष ई. विष्णु बहादुर सिंहको सभापतित्वमा एउटा काव्यिक साँझ भयो, जसको सञ्चालन समाजका महासचिव ई. रामविन्दु श्रेष्ठले गरेका थिए । अतिथिहरूको स्वागत गर्दै श्रेष्ठले साहित्यले भिन्न देश, भिन्न भूगोल र संस्कृतिलाई जोड्छ । त्यसैले त हामीले पुश्किनलाई चिन्यौं भने । कार्यक्रममा पुश्किन बारे परिचय दिँदै रुसी भाषा शिक्षक ई. सुशिल सिग्देलले रुसी भाषाको विशेषता, प्रचलित रोचक तथ्यहरू र त्यसको विश्वव्यापी महत्व प्रस्तुत गरे । उनले अन्तरिक्षमा यात्रा गर्नेे रुसी भाषाको जानकारी हुनुपर्ने कुरा बताए । रुसी लेखक संघका सदस्यहरूले मस्कोबाट पठाएको शुभकामना सन्देशले कार्यक्रममा थप रोचकता थपेको थियो ।

कार्यक्रम मुख्य सत्र काव्यिक साँझमा स्रष्टाहरूले रुसी तथा नेपाली भाषामा पुश्किनका र मौलिक कविताहरू वाचन गरे । जसमा सह निर्देशक साकानुश भान्यान, रुसी भाषा शिक्षीका सायरा शाह, रुसी दूतावासका उपप्रमुख रेन्चेन रक्षायभ आदिले रुसीमा भाषा शिक्षक सुशिल सिग्देल, इ. अमोदमणि दीक्षित, इ. किरण दर्नालले रुसी र नेपालीमा , कवि कवियत्रीहरू विमला तुम्खेवा, लक्ष्मी थापा, केशव राज विष्ट, राधिका गुरागाईं, रश्मी रिमाल, चेतन बस्नेत ठूलाघरे, कृष्ण पौडेल जस्ताघरेले नेपालीमा कविता वाचन गरे । रसियन हाउसकी सायरा शाहले मिखाइल लेर्मन्टोभको पुश्किनपैति समर्पित कविता ’द डेथ अफ द पोएट’ पढिन् ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा सुशील बहादुर बज्राचार्यले मानवीय मूल्यमान्यता र सांस्कृतिक पहिचानको संरक्षणमा साहित्यको भूमिका हुन्छ भन्नुभयो । रूसमा आफ्नो अध्ययनकालको संझना गर्दै उहाँले रूसी साहित्यले कसरी आफ्नो बौद्धिक विकासलाई आकार दियो भन्ने कुरा उल्लेख गर्नुभयो । विशेष अतिथि नेपालस्थित रुस दूतावासका काउन्सिलर–मन्त्री रिन्चेन राक्षेभले पुष्किनको साहित्यिक विरासतलाई रूसी भाषा र संस्कृतिको प्रतीकको रूपमा प्रस्तुत गरे । यसले स्वतन्त्रता, मर्यादा र मानवीय आकांक्षाको विश्वव्यापी मूल्यहरूलाई मूर्त रूप दिन्छ । रूसीहरूका लागि पुष्किन रूसी संस्कृतिको जग हुन् उहाँको कथन थियो ।

कार्यक्रमको दोस्रो आकर्षणमा नेपाल –रूस साहित्य समाजका उपाध्यक्ष चन्द्रकान्त आचार्यद्वारा लिखित “खुशीका पलहरु” संस्मरण कृतिको विमोचन गरिएको थियो । यो पुस्तक लेखकको जीवन मार्ग, नेपाल र रूसमा अध्ययन गर्दाका चुनौतीहरू, र त्यस समयको सामाजिक, आर्थिक, सांस्कृतिक र पारिवारिक परिस्थितिहरूको वर्णन गर्ने संस्मरण हो । नेपाल–रूस साहित्य समाजका अध्यक्ष विष्णु बहादुर सिंहको ‘अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको अमर विरासत र रूसी भाषा दिवस मनाउनु नेपाल र रूसबीचको दिगो साहित्यिक तथा सांस्कृतिक सम्बन्धको निरन्तरताको अवयव हो’ भन्ने मन्तव्यसँगै काव्यिक साँझको समापन भयो ।