२४ चैत २०७८, काठमाडौं ।
साहित्यकार गोविन्दगिरी प्रेरणाको यात्रा संस्मरण कृति सार्वजनिक भएको छ । काठमाडौंमा साहित्यिक पत्रकार संघद्वारा आयोजित एक कार्यक्रममा गिरीको यात्रा संस्मरणकृति ’टुप्लुक्क टोकियो’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको कृतिका बारेमा बोल्दै नियात्राकार प्रतीक ढकालले गोविन्दगिरी प्रेरणाले एक पछि अर्को उत्कृष्ट कृति लेख्न सफल भएको बताए । उनले प्रेरणाको लामो लेखन सक्रियता लोभ लाग्दो भएको बताउँदै प्रेरणाले साहित्यका हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको दावी गरे ।
यस्तै संघका अध्यक्ष एवं कार्यक्रमका सभापति राधेश्याम लेकालीले नेपाली साहित्यका लागि गोविन्दगिरी प्रेरणा उदाहरणीय लेखक भएको बताए । उनले प्रेरणाको लेख शैलीको चर्चा गरेका थिए ।
कार्यक्रमलाई स्वागत गर्दै साहित्यकार डा. दामोदर पुडासैनीले स्रष्टा प्रेरणाले नेपाली साहित्यलाई एकपछि अर्को महत्वपूर्ण कृति दिएको बताए । उनले सरल भाषामा लेखिएको ‘टुप्लुक्क टोकियो’ सबैलाई पढ्न आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै स्रष्टा प्रेरणाले लेखन आफ्ना लागि नशाजस्तै भएको बताए । लेखन र अध्ययन बिना आफू बाँच्नै नसक्ने उनको जिकिर थियो ।
यस्तै कार्यक्रममा ठाकुर वेलवासेले प्रेरणा अक्षरका ’डोजर’ भएको बताउँदै युवा पुस्ताका लागि गिरी ’प्रेरणा’ को स्रोत भएको बताए ।
कार्यक्रममा उपस्थित साहित्यकारहरु प्रतीक ढकाल, राधेश्याम लेकाली, किशोर पहाडी, श्रीओम श्रेष्ठ, डा. दामोदर पुडासैनी, वसन्त श्रेष्ठ, पवन आलोक, जय छाङ्छा, जयदेव भट्टराई, भीष्म उप्रेती, प्रधुम्न जोशी, ठाकुर बेलवासे, पुष्करजंग थापा, सूर्य विसी र रञ्जना निरौला, पारु तिमिल्सिना, सरिता खनाललगायत स्रष्टाले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गरेका थिए । कार्यक्रममा राजेश खनाल, अश्वीनी कोइराला, बिएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको मूल्य २५० तोकिएको छ ।
कार्यक्रममा अमेरिका निवासी वरिष्ठ कवि वसन्त श्रेष्ठ र जापान निवासी पुष्करजंग थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।