• २०८२ असार २४ मङ्गलबार

दिलिप राई सगरको ‘साईमा स्यामुना’ लोकार्पण

नेपाली साहित्य समाजले दिलिप राई सगरको ‘साईमा स्यामुना’ गीतसङ्ग्रहको लोकार्पण गरेको छ । नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको सभाध्यक्षता तथा वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष यज्ञ परिश्रमी, प्रमुख अतिथि शिवशंकर थापा, विशिष्ट अतिथि प्राज्ञ मुनाराज शेर्मा, गीतकार आचार्य प्रभा लगायतले कृतिको लोकार्पण गरेका थिए ।

उर्लाबारी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले आफ्नो सांस्कृतिक सौन्दर्य मौलिक रूपमा पस्किनु कृतिको वैशिष्टय रहेको बताए । कार्यक्रममा समाजका कार्य समिति उपाध्यक्ष गगन योक्पाङदेनले स्वागत गरेका थिए भने गायक तथा संगीतकार जेबि थुलुङले कृति साईमा स्यामुनाको समीक्षा गरेका थिए ।

नेपाली साहित्य समाजका महासचिव दधिराम ढकालले सञ्चालन गरेको कार्यक्रममा अभागी थेगुवा, कविता पौडेल, कृष्ण उदासी, कृष्ण बराल, केशव आचार्य, भगवती ढुङ्गेल, निहाङ किराँती, राजकुमार सुब्बा अनिश्चित, सेलिङ केसी, सुन्दर कुरूप, विराट किराती, विवश बलिभद्र कोइराला, रुमानी कुलङ लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

यसअघि गीतकार सगरको मायालु ठुली गीतसङ्ग्रह (२०५७), नियति लघुकथासङ्ग्रह (२०६०), सिम्मा केस्रासङ्ग्रह (२०७१), बाराङ लघुकथासङ्ग्रह (२०७८) र तस्बिर’ गीति एल्बम बजारमा आइसकेका छन् ।