समाचार
बा, आउनुहोस्न ! कोपिला जोशीको सम्मानजनक निम्तो,बैतडी घुम्ने । सञ्जाल र छन्द कविता अनि गजलले जोडेको नाता । पवित्र । प्रोफेसर विमलराज सम्मोहनप्रसाद तमघाश्वेर आशुतोष महादेव सौराहाश्रीले निम्तो स्वीकार्यो, बेझिझक । यो सोचेन, दुनियाँले के भन्छ ? किन ? कोपिला अति चारु, जम्मा ३६, गोरी, पर्वतकी छोरी । तस्वीरहरू अपलोड हुन्छन् । दुनियाँले देख्छ, हेर्छ । अनि ? धोबी उद्योग शुभारम्भ ! यो हो नेपाली समाजको गौरवमय रीत । पिता गुमाएकी कोपिलाको लागि प्रोफेसर सक्कली बा, पवित्र बा अरू भाडमा जा !! एक हप्ता घुमेर फर्कियो प्रोफेसर ।
केही बर्ष बिते । बाउछोरीले एक अर्काको मन जिते । अब छोरी पनि त आउनपर्यो नि खीर खान ! प्रोफेसरको निम्तो । सहर्ष स्वीकारिन् कोपिलाले ।
आइन् । कोपिला गिरिराज डल्लाकोटीसित भेट गरायो । घुमायो धेरै एरिया । हेर छोरी, यो गाइड कर्म पनि बदलिन्छ, हिजो म तिम्रो पछिपछि, आज तिमी मेरो, मेरो जीवनमा त यतिसम्म भएको छ पुत्री, मैले आफ्नो आचार्यलाई पनि पढाएको छु । यो एरिया मेरो हो सुपुत्री ! कहिले राम साहु, कहिले हनुमान । हाफ टाइमपछि यताको खेलाडी उता हुने पक्का ! प्रोफेसर ।
बा, हजुरको यो कथनले मलाई नोस्टाल्जिया भयो । एउटा लघुकथा पढेको थिएँ, बेफोवादिप्या ! दुई मित्र, जापानी र रुसी, जापानी भासुमा हिरोहुतो मासुमुतो सायोनारा अजासु बजासु र रसियन धनोस्की बिग्रोस्की भतोस्की सप्रोस्की हस्की फुर्कोस्की गिरिवाचोभ मस्कोस्की ! पहिला जापानी गुरु, रुसीले मान्ने खुरुखुरु, पछि कायापलट, अनि त ! आम्माम्मा, अररो जापानी, सापटी दिएकोसित सापटी लिन परेजस्तो । ठसठसी कन्ने, मनको कुरा अड्कली अड्कली भन्ने, मोरो रसियन फुक्काफाल, कोलकोता यहीँपर मार खायो, तर रसियनले धीरता गुमाएन । हिम्मत हारेन । कल्याण मित्रको थियो । अकडो भए पनि मित्र त हो । धान्यो । हिसाब मिल्यो । बा, हजुरको जीवनमा त यस्तो गणित आएन ? कोपिला ।
अरे छोरी, त्यो लघुकथाको पितामह बेहोरेको छु मैले । जिन्दगी हो, सरल बाटोमा हिड्दैन । हो छोरी, भरोसा, र निरन्तरता, संवादले समस्या समाधान हुन्छ। दम्भ हुनुहुन्न । जीवनको अर्को नाम सम्झौता हो । हरेक कुरा आफ्नै अनुकूल खोज्नुहुन्न । कपटी हुनुहुन्न । चलाख हुनुपर्छ, तर चलाखीले अरूको कल्याण हुनुपर्छ । सन्देह त्यो धमिरा हो, जसले मीरा र कृष्णको जस्तो नाताको सतिसाललाई पनि चाटिदिन्छ । मित्रतामा, प्रेममा, शङ्काको कुनै स्थान हुनुहुन्न । अति सोच पनि घातक हुन्छ, हुनसक्छ । बेफोवादिप्या मलाई पनि मन परेको लघुकथा हो छोरी । आज म तिमीलाई कोपिला अङ्कलसित भेट गराउने छु । यो मेरो एरिया हो, ढुक्क हुने ! प्रोफेसर ।
दश दिन घुमेर कोपिला फर्किन् । बा, हजुरको हिम्मतलाई सलाम ! हजुरको निर्मल विमल कञ्चन मनलाई सलाम । ती कोपिला अनुजाको विचित्रको मनलाई सलाम ! उनको परिवारलाई पनि सलाम । हाम्री माईको मनलाई सलाम ! ल बा, यो एरिया मेरो हो, अब यताको गाइड म बन्छु । सम्मोहन पढ्नुछ । राधिकाजीलाई सलाम । कल्पित कथालाई सलाम ! छोरी, शिवानी प्रेमदीवानी अपराजीता सौभग्यश्री ।
सलाम छोरी सलाम ! बा, प्रोफेसर । भिडिओ कल, क्यानडाबाट । प्रोफेसरको तेस्रो नेत्र खुल्यो । मनमा शाका, राका, काका खेल्यो । गजल लेख्न कस्सियो, फिलिलिलिली !!
धनराज गिरी