हिन्दी कविता

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला जाने मौका मिल्यो । दार्चुलामा नै त्यस्तो कार्यक्रम आयोजना गरिएको थिएन तर डिलासैन गाउँ पालिकामा हुन लागेको चर्वण्ववती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीको निम्तो राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले खवर गरे अनुसार डिलासैनका लागि हिंडियो । पहिलो यात्रा थियो बैतडी उत्तर तिरको । बैतडी सदरमुकाम दुई तीन पटक टेकेको थिएं तर अन्य स्थान पुगिएको थिएन । चौलानी नदीले दुई जिल्लाको सिमा छुट्याइएको थियो । सामान्यतया गोकुलेश्वर भनेर दार्चुलामा छ भन्ने बुझिन्छ तर वारि र पारी दुबै तिर गोकुलेश्वर नै भनिन्छ । बेतालेश्वरमा लाग्ने शिवरात्री मेला गोकुलेश्वरको चर्चित मेला हो । हजाराँैको संख्यामा मानिस मेला भर्न पुग्छन् । ऊन, नुन, सुन समेतको ब्यापार हुने मेलाको निकै चर्चा हुने गर्छ ।
डिलासैनी गा.पा बैतडीको निम्तोमा गए पनि हाम्रो बास दार्चुलाको गोकुलेश्वर गरिएको थियो । बैतडी र दार्चुला छुट्याउने गरि बगेको नदीको नामबाट साहित्य गोष्ठी आयोजना हुँदै थियो । स्थानीय रूपमा चौलानी भनिए पनि चमेलिया नाउँले निकै चर्चित रहेको छ । गोकुलेश्वर बाट उत्तर पुर्व रहेको बलाचमा हाइड्रोपावर निर्माण गरि विद्युत उत्पादन गरिएको छ । चमेलिया जलविद्युत आयोजनाले चिनिएको चालीस मेगावाट बिद्युत उत्पादन भएको सुदूरपश्चिम पहिलो ठूलो बिद्युत गृह हो । त्यही जसलाई चौलानी, चमेलिया भनिएको छ । त्यसको पौराणिक नाम चर्मण्वती भनेर स्कन्द पुराणमा उलेख गरिएको छ । त्यही पौराणिक नाउँलाई लिएर चर्वण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीको आयोजना गरिएको थियो ।
दार्चुलाको सदरमुकाम पुग्ने इच्छा पनि थियो । गोष्ठी हुने दिन भन्दा एक दिन अगाडि नै गोकुलेश्वर पुगेको थिए ।त्यस दिन त्यहा नवसी सदरमुकाम खलंगा तर्फ लागे। गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा छहत्तर कि।मी उत्तर पश्चिम रहेछ । महाकाली नदीको किनारमा रहेको सुन्दर बस्ती रहेछ । पुग्दा निकै रात भएको थियो । जे जति थियो अनुमानमा सिमित थियो । दार्चुलाका धेरै इष्ट मित्र थिए । तराई भित्रीमधेस तिर बस्नेहरु संग चिनजान थियो तर खलंगामा भने एक्लो थिए । राति अवेर पुगे बिहानै नयाँ शहर हेर्ने रहर समेटदै विश्राम गरें ।
पतञ्जलि योग समितिका साथीहरूलाई आफू दार्चुला पुगेको जानकारी दिएको थिएं । बिहान चार बज्नै लाग्दा म बसेको होटलमा पुगे साथीहरू । संगै साधना केन्द्र गयौं योग साधक तथा क्याम्पसमा प्रध्यापन गर्नु हुने समाजसेवी जमन महरा र योग साधक भुवन धामीले बसाई तथा अन्य ब्यवस्थापनको मेसो मिलाउनु भएको थियो । नियमित अभ्यास जस्तै दार्चुलाका साधकहरु संग योग गरियो । सबैलाई शुभकामना दिइयो । न्यानो आतिथ्यता पाए । निकै उत्साही र लगनशील साधक थिए । योगको कक्षाको सहजीकरणको जिम्मा मलाई नै दिए । साधनामा सामेल भयौँ ।
योगको कक्षा सकिए पछि त्यहाका साथी मध्ये योगगुरु आयुर्वेद स्वास्थ केन्द्रका केशवराज जोशीजी दार्चुला र धार्चुला समेत घुमाए । दार्चुला पारी भारतको धार्चुला बजार महाकाली नदीमा पुलले जोडेको अवस्था । नेपाल भारत सिमा छुट्टिए पनि भाषा, संस्कृति, रहनसहन एकै प्रकृतिको थियो । दुबै बस्तीका बिचमा सहसम्बन्ध पनि रहिआएको थियो । केही बेरको घुमघाम पछि दार्चुला फर्किएँ । दार्चुला खलंगा बजारका विषयमा कुरा गर्दै यताउती सबै तिर हे¥यौँ । महाकालीले कटान गरेको क्षेत्रका बिषयमा छलफल ग¥यौँ । अपिनाम्पा संरक्षणको कार्यालय पनि त्यहीँ थियो । अपिनाम्पा देख्न नपाए पनि कार्यालयमा गएर संरक्षण क्षेत्रको जानकारी लियौँ । जेठ महिनाको गर्मी छिचोल्दै खलंगा भ्रमण सिध्याएर फर्किए ।
दार्चुला भ्रमणको अर्को बास गोकुलेश्वर बजारमा भयो । संयोगले हाम्रो बस्ने होटलको नाम पनि अपिनाम्पा नै जुरयो । डिलासैनी गाउँ पालिकाले बैतडीमा कार्यक्रम गरिरहेको थियो तर बास ब्यवस्थापन दार्चुलाको शैल्य शिखर नगर पालिकाको गोकुलेश्वरमा थियो । दुबै चौलानी नदी किनारका सुन्दर बस्ती थिए ।
बैतडी र दार्चुला जिल्लाको गोकुलेश्वर भनेर चिनिने चमेलिया नदी छेउको सुन्दर बस्तीमा डिलासैन गाउँ पालिकाको प्रवद्र्धन र राष्ट्रियता संरक्षण अभियानको आयोजनामा दुई दिने चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी आयोजना गरिएको थियो। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले गंगा दशहराको अवसरमा असार २ गते उदघाटन गर्नु भएको कार्यक्रममा डिलासैन गाउँ पालिका अध्यक्ष सन्तोष प्रकाश जोशीको सभापतित्वमा सञ्चालन गरि शैल्य शिखर नगर पालिका प्रमुख बिजयसिह धामी,अपिनाम्पा गा पा अध्यक्ष अनन्तसिह ठेकरे, भारत उत्तराखण्डका डा.पिताम्बर अवस्थी ,उत्तरप्रदेश साहाजादापुरका डा.अरुण कुमार भदौरीया, सिक्किमका जीविका अश्रु, अर्जुन राई सुदूरपश्चिम साहित्य समाज कैलाली अध्यक्ष तीर्थराज पाण्डेय, पृतबहादुर बिष्ट, पदमबहादुर बडालको उपस्थितिमा उदघाटन भएको थियो ।
अपीहिमालको पकिनदहबाट प्रवाहित चमेलिया नदी हिमालबाट निस्कने छोटो नदी मध्ये एक हो । बैतडी र दार्चुलाको सिमा भएर बग्ने नदीको पुराणमा पनि उल्लेख छ । चर्मवासा ऋषिले तपस्या गरेकाले चर्मण्वती भनिएको हो । नदीको किनारमा धेरै देवालय रहेका छन् । नदी किनारमा भएको सभ्यताको विकासमा चर्मण्वतीको छुट्टै स्थान रहेको छ । यसै सभ्यताका राउटे, सौका आदिवासी जनजाति यसै क्षेत्रमा रहेका छन् ।
कार्यक्रममा चर्मण्वती सभ्यता अध्ययन र संरक्षण, साहित्यको सिमा, संस्कृति र पर्यटन बिषयमा समूह छलफल र आदिवासी जनजाति राउटे र सौकाका विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए । कार्यक्रममा सञ्चालित काव्यसभामा बीस जना स्रष्टाको प्रस्तुति रहेको थियो । हरेक वर्ष सम्पन्न हुने चर्मण्वती साहित्य सम्मेलनको यो दोस्रो संस्करण भएको र हरेक बर्ष गंगा दशहराका दिन चर्मण्वती दिवस र सम्मेलनको आयोजना गरिने आयोजक राष्ट्रियता संरक्षण अभियान का अध्यक्ष हेमबाबु लेखकले कार्यक्रम सञ्चालन गर्दैगर्दा जानकारी गराएका थिए । असार ३ गते औपचारिक कार्यक्रमका बिचो सम्मेलन मा सहिद दशरथ चन्द काव्य सम्मान, द्वारिकादेवी प्रतिभा सम्मानबाट प्रतिष्ठित व्यक्तित्त्वहरूलाई सम्मान गरिएको थियो । सम्मेलनले लोप हुन लागेको भाषा,संस्कृति संरक्षण तथा नदीको स्वच्छता र योजनाबद्ध बिकासमा टेवा पुग्ने त निश्चय नै थियो । डिलासैन गाउँ पालिकाका लागि मार्ददर्शन पनि थियो। गा।पा अध्यक्ष सन्तोष प्रकाश जोशी कार्यक्रम अवधि भर उत्साहका साथ खटिनु भएको थियो । उहाँ को खटाइ र ब्यवस्थापनले कार्यक्रम अझै आकर्षक भएको थियो ।
निकै आकर्षक र सुन्दर ठाउँ पुग्ने मौका राष्ट्रियता संरक्षण अभियानले जुटाइ दियो। यस पुर्व अभियानले बैतडी कै दोगडाकेदार गाउँ पालिकामा पनि यस्तै कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रमले एउटा नयाँ स्थान र त्यहाका शुभचिन्तक तथा विभिन्न बिधाका मुर्धन्य ब्यक्ति संग चिनजान सम्पर्क बढाउने अवसर मिल्यो । सुदूरपश्चिमको संस्कृति बेजोडको छ । देउडा ,चैत, धमारी, फाग, छलिया, भैनी, भुवा, मांगल, चौतोलो, घरगीत, चाँचरी, ठाडीभाका, बैरालगायतका लोक साहित्य ले भरिएको अपार संस्कृति जहाँ पनि पाइन्छ । आफ्नै गाउँमा गाए जस्तै, खेले जस्तै देउडा, छलियामा सामेल भए। नदीसंग जोडिएको सभ्यता चौलानीसंग पनि प्रत्यक्ष रूपमा देख्न पाइन्छ ।
नदी छेउ धेरै बस्ती रहेका र जीवनका हरेक संस्कार नदीसंगै जोडेर गर्ने परम्परा रहिआएको छ। चौलानीसंग जोडिएको राउटेको एउटा मार्मिक कथा रहेछ । अष्कोटका पाल राजाका तीन छोरा मध्ये जेठाले अष्कोटको राजगद्दी समाले । कान्छोले भोटको र माइलो अपमानित भइ नदीमा हामफाली मर्न गएको बेला एउटा ठुलो ढुङ्गोमा बसेछन् । आफ्नो जीवन चौलानीमा समर्पण गर्ने सुनाएछन् । त्यतिबेला चौलानीले मर्ने कुरा नगर मसंग माछा लगायत धेरै जीवजन्तु छन तिम्रो आहार बन्न सक्छन् भनी सहास थपेछन् । त्यस्तै बसेको ढुङ्गोले मलाई काटेर घट्ट बनाउन सक्छौं त्यही बेचेर जीवन चलाउनु । त्यस्तै राति एउटा गीठीको रुखमा बसेछन त्यहा रहेको गीठाको बेलो खुट्टा अल्झिएछ र भनेछ मलाई खानाको रूपमा प्रयोग गर भनेछन् । त्यस्तै गीठीले मेरो काठबाट पाल्ला ठेकी बनाउ भनेछन् । दोस्रो दिन बिहानै चौलानी जलपरी भएर आइन र माछा, कन्दमुल फलफुल सहित खाना ल्याएर दिइन । खान मात्र दिइनन् जीवन पनि दिएर बाच्ने प्रेरणा दिइन । तीनै अष्कोटी राजवार राउटे भए भन्ने मान्यता छ ।
दार्चुला राउटे र सौका आदिवासी जनजातिहरूको मुल थलो मानिन्छ । दार्चुलाको उत्तर तिर सौकाको बसोबास रहेको छ । ऊन र नुन सबैका लागि पु¥याउने सौकाहरू पछिल्लो समय यार्सागुम्बा संकलन गरि निकै ठुलो ब्यवसाय गरेका हुन्छन। अहिले अधिकांश दार्चुला सदरमुकाम बस्ने गरेका छन् । सौका र राउटेको छुट्टै पहिचान, संस्कार, संस्कृति रहेको पाइन्छ ।
चौलानी, चमेलिया, चमल्या, चर्मण्वती विभिन्न नाउँले भनिए पनि नदी सभ्यता नै हो । त्यसको पौराणिक महत्वको खोजी गरेर डिलासैनी गाउँ पालिकाले गङ्गा दशहराको दिन पारेर चर्मण्वती दिवस मनाउने गरेको छ। त्यसै दिवसलाई उत्सवका रूपमा मनाउन चर्मण्वती साहित्य महोत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष अर्थात २0८१ अषाढ २ गते गङ्गा दसहराको दिन डिलासैनी गाउँ पालिकाको प्रवद्र्धन र राष्ट्रियता संरक्षण अभियानको आयोजनामा दुई दिने चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठीमा समावेश हुने मौका मिक्यो। साहित्यको रस पान संगै चौलानीको तीरैतीर घुम्ने मौका मिल्यो। निकै फराकिला उब्जाउ फाट रहेका छन। राष्ट्रिय गौरवको चमेलिया जलविद्युत यसै तीरमा छ। अपिनाम्पाको पकिनदह देखि सेरागाड सम्म हिमालबाट बग्ने छोटो नदी मध्येको सुन्दर मनोरम नदी हो चौलानी । चर्मण्वतीतीर्थमा पुगेर तीर्थोचित कार्य र साहित्यिक कार्यक्रममा तत अनुरुप कार्य गरि दुई दिनको गोकुलेश्वर बसाई को बिट मारेर फर्कियौ।
कैलासकुमार पाण्डेय
परशुराम ५ विष्णुपुर, डडेल्धुरा