कविता

सधैं त्यो रुखको छायामा केहीबेर बसेपछि मात्रै मलाई एक प्रकारको आनन्द महसुस हुन्थ्यो । म शुक्रबारका दिन भने करिब एक डेढ घण्टा सम्म बस्छु त्यहाँ । साँच्चै भन्नु पर्दा मैले त्यो रुखको छायाँमा बसेर धेरै कविताहरु, धेरै कहानीहरु र धेरै लेखहरू लेखेको छु । एकप्रकारले आनन्द लाग्छ मलाई त्यो रुखको छायाँमा बस्न । जीवनका धेरै तिता-मिठा पलहरूलाई स्मरण गर्ने ठाउँ बनेको थियो त्यो रुख मेरो । अफिस जाँदा म अलिक हतारमा हुन्थेँ, बस्न पाउँदिन थिएँ । केवल ठिङ्ग उभिएर गतिशील श्वास-प्रश्वास सामान्य गतिमा आएपछि उकालो लाग्थेँ म ।
मेरो डेराबाट मेरो अफिस सम्मको बाटो त्यही एक डेढ किलोमिटरको दूरीमा छ । म त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा कार्यरत छु । म सधैं हिँडेरै जान्छु र हिँडेरै आउँछु । अफिस जाँदा म जङ्गलको छेउ बाटो भएर जान्छु, त्यो बाटोको एकातिर जंगल छ भने अर्कातिर खेत । अर्थात एकातिर जङ्गलले ढाकेको छ भने अर्कातिर खुला खेत छ । जाँदा अलिअलि उकालो पर्छ र आउँदा अलि अलि ओरालो । जङ्गलमा विभिन्न प्रजातिका रुखहरु छन् । जङ्गलभित्र बाट विभिन्न चराचुरुङ्गीको आवाज आइरहेको हुन्छ । मैले हिँड्ने बाटोमै एउटा ठूलो रुख छ, जहाँ म सधैं केही क्षण बसेर आराम गर्छु । त्यो रूखबाट करिब सौ फीटको दुरीमा जंगल छ । जंगल शुरु हुनुभन्दा चार-पाँच मिटर पहिला एउटा अर्को रुख छ । त्यो रुख देखि उत्तापट्टि पूरै जंगल छ ।
म जब घरबाट बिहान अफिसका लागि त्यो रुखनेर पुग्छु । एउटी चरी परको रुखबाट कराउँदै त्यही रुखमा आएर बस्छे । अनि जब म अफिसबाट घर फर्किन्छु त्यतिबेला पनि त्यो चरी परको रुखबाट भुर्र उडेर त्यही रुखमा आएर बस्छे । जबसम्म म त्यो रुखको सयलमा बस्छु, तब सम्म ऊ कराउँदिन तर जब म आराम गरिसकेपछि घर तिर लाग्छु ऊ कराउन थाल्छे । सायद यस्तो धेरै पहिलेदेखि भएको हुनुपर्छ । मैले याद गरेको थिइनँ होला । तर आजभोलि मैले याद गर्न थालेको छु । म फर्केर आउँदै गर्दा ऊ परको अर्को रुखबाट भुरुर्र उडेर आउँछे र एक दुईचोटि कराएर त्यहीं बस्छे । विरक्त लाग्नेगरी कराउँछे ।
दिउसो करीब एक बजेतिर अफिसमा एउटी दिदी चिया लिएर आउँछिन् । उनीसँगै एउटा फुच्चे पनि हुन्थ्यो । उनी यस्तै बाइस-पच्चीस की होलिन् तर सबैले उनलाई ‘दिदी’ भन्थे म पनि दिदी भन्थें । ‘नमस्ते सर’ भन्दै प्राय मेरो अगाडि चिया राखिदिन्थिन् । उनी राम्री थिइन् । मिलेको जीउडाल, ठूलो निधार, लामो कपाल, मिलेका दन्तलहर तर अलिक पातली थिइन् । उनले सम्मानपूर्वक ‘नमस्ते सर’ भन्दै चिया दिएको राम्रो लाग्थ्यो मलाई । म पनि उनलाई सम्मानपूर्वक नै बोलाउँथे । एकदिन मैले उनलाई सोधें, “यो बाबु कति वर्षको भयो ?” “भर्खर दुई वर्षको” उनको छोटो जवाफ हुन्छ । “अनि उसका बा ?” उनी केही बोलिनन् । चिया खाएका कपहरू उठाएर उनी अर्को कमरातिर लागिन् । उनले भन्न रुचाइनन् आफ्ना लोग्नेका बारेमा ।
आजभोलि अफिस जाँदा-आउँदा मलाई नि त्यो चरीलाई हेर्ने र उसको आवाज सुन्ने बानी परेछ । परको रुखबाट यो रुखमा आउँदाको उसको आवाज र म त्यो रुखबाट छुट्दाको आवाजमा परिवर्तन पाउँछु । सायद मेरा भावनाहरुलाई ति चरीले धेरै पहिलादेखि सुनेकी होली । मैले मेरी प्रियतमालाई सम्झेर लेखेको कविता त्यहीँ बसेर वाचन गरेको थिएँ । मैले मेरो पीडालाई सम्झेर लेखेका कहानी त्यही रूखको फेदमा बसेर वाचन गरेको थिएँ । मैले मेरा एकाकी जीवनका धेरै तिता-मिठा घट्नाहरुलाई त्यही रूखको फेदमा बसेर लेख्दै च्यात्दै गरेको थिएँ ।
सुरु-सुरुमा मैले त्यो चरीको आवाजलाई सायद ध्यानपूर्वक सुनेको थिइनँ होला तर अहिले यस्तो लाग्छ म उसको आवाजलाई राम्ररी बुझ्छु । किनभने खुशी हुँदाको आवाज, पीडा हुँदाको आवाज र मसँग बिलौनाको आवाज बेग्लै हुन्थ्यो उसको । बिस्तारै बिस्तारै हाम्रो सम्बन्ध प्रगाढ हुन थाल्छ । मलाई पनि त्यो चरीसँग भेट्ने इच्छा हुन्छ र उसलाई पनि मलाई भेट्ने । कहिले कहिले कारणवश म अफिस गइनँ भने मलाई यस्तो लाग्छ कि आज मैले के बिर्सेँ ? के गर्न पाइन ? असहज अनुभूति हुन्छ मलाई । सायद त्यो चरीलाई पनि त्यस्तै पीडा भएको हुनुपर्छ किनभने भोलिपल्टको भेटघाटमा उसको आवाजमा गुनासो हुन्थ्यो म प्रति ।
त्यो चरी सधैं एक्लै उड्दै आउँछे । अरु कोही हुँदैनथे ऊसँग । उसका परिवारका सदस्यलाई मैले कहिल्यै देखिनँ । त्यो जङ्गलमा बिचरी एक्लै बस्छे ऊ । मेरो भन्दा कहालीलाग्दो जीवन होला उसको । मलाई मेरी श्रीमतीले छोडेको भए पनि कम से कम मसँग जागिर त छ, अफिसमा मेरो मित्रहरूसँग कुराकानी त हुन्छ । तर उसको कोसँग हुन्छ होला र ? सधैं एक्लै देखिरहन्छु उसलाई म । उसले कसैसँग वार्तालाप गर्छे भने सायद त्यो म मात्रै हुँला ।
हुन त म पनि एक्लै छु । मेरी श्रीमतीले मलाई छोडेर गई सकेकी छिन् । मेरो अगाध प्रेमलाई लत्याएर उनी टाढा भइसकेकी छिन् । उनको र मेरो सोच बेग्लै थियो । म ‘दुख-सुख स्वदेशमै गरेर खाउँ’ भन्थेँ उनी ‘यस्तो अभावग्रस्त जीवन म बाँच्न सक्दिन’ भन्थिन् । म उनलाई भन्थेँ, “ठीकै छ त ! मेरो सरकारी जागिर छँदै छ । हामीलाई हातमुख जोड्न धौ धौ पर्ने छैन । तिमी पनि त केहि न केहि गरिहाल्छौ ।” “तपाईंको जाबो तीस हजार तलबले के गर्न सकिन्छ भन्नु त ? भोलि छोराछोरी हुन्छन् । उनीहरूलाई पढाउनु बढाउनुपर्छ । यो सब सोचेका छौ तिमीले ? ” उनी भन्थिन् ।
“विस्तारै सबै कुरा मिल्दै जान्छ । तिमी पनि त केहि न केहि गरिहाल्छौ नि । दुवैजना मिलेर गरौँला नि हुन्न ?” “भो म यहाँ बस्न सक्दिन । अस्ट्रेलिया जान्छु । तिमी बस यतै ।” उनको रुखो उत्तर थियो । उनि महत्वाकांक्षी स्वभावकी थिइन् । विवाहको दुई वर्ष सम्म त सबै ठिकै थियो तर दुई वर्ष पछि उनमा बिस्तारै बिस्तारै परिवर्तन आएको पाएँ मैले । एक दिन अचानक उनी मेरो छेउमा आएर भन्छिन्,
“सुन्नु त !”
“के भो र ?”
“म अष्ट्रेलिया जाँदैछु हाम्रै गाउँका दाइसँग ।”
“अनि कसरी जान्छौ नि ?”
“कोट म्यारिज को कागज बनाएर, हामीले कोर्ट म्यारिज पनि गरिसक्यौं ।” भन्दै उनले कोर्टमा विवाह गरेको कागज मेरो अगाडि सार्दै “मलाई पाँच लाख रुपैयाँको व्यवस्था मिलाइदिनु” भनिन् ।
म अक्क न बक्क भएँ । म केही बोल्नै सकिनँ । “किन चुप लागेको ? नदिने भए ठिकै छ, म माइतबाटै मिलाएर जान्छु ।” उनको कर्कस जवाफ थियो ।
उनी भोलिपल्टै माइत लागिन् । म हेरेको हेरै भएँ । ‘नजाऊ’ पनि भन्न सकिनँ, ‘जाउ’ पनि भन्न सकिनँ । हाम्रा बच्चा थिएनन् । उनमा बच्चाको इच्छा पनि थिएन । उनी भन्थिन् ‘पहिले लाइफ सेटल गर्ने अनि बच्चा पाउने’ । मेरो केही चलेन । साँच्चै भन्नुपर्दा हामी केवल यौन प्यास मेटाउने साधन मात्रै थियौँ । हामीमा लोग्ने स्वास्नीको जस्तो प्रेममय, विश्वासिलो र सौहार्दको वातावरण कहिल्यै सिर्जना भएन ।
उनी माइत गइन् । केही दिनपछि मैले फोन गरें । उनले फोन काटिन् । फेरि दुइ-चार दिनपछि गरेँ । “मेरो बारेमा नसोच्ने मान्छेले मलाई किन फोन गरेको ? बस अब एक्लै । म अष्ट्रेलिया जाँदैछु ।” यस्तो कर्कश जवाफ दिइन उनले र फोन राखिन् । मैले केही भन्न पाइन । उनको लगभग एक वर्ष देखिको रुखो व्यवहारबाट म पनि दिक्क हुन थालिसकेको थिएँ । तर जे भएपनि मैले विवाह गरेर ल्याएकी श्रीमती थिइन् उनी । मनमा पिर त पर्ने नै भयो नि । जीवनमा धेरै कुराहरु साटासाट नगरे पनि उनको शरीरका प्रत्येक अंग-प्रत्यंगलाई चुमेर यौनक्रीडा त गरेकै थिएँ । सुरु सुरुमा त मिठा-मिठा कुरा नभएका पनि होइनन् ।
आज भोली भन्दै एक वर्ष बित्यो । म एक्लै बसेँ । घरकाले सोद्धा ‘ठीकै छ’ भन्ने जवाफ दिन्थेँ तर उनिले वहाँ अर्कैसँग विवाह गरेको थाहा पाएँ मैले । त्यो पीडालाई म कविता, कथामा पोख्थेँ त्यही रुखको फेदमा बसेर ।
धेरै कमाउने र आधुनिक सुख-साधन तथा विलासिताका सामानहरु किनेर मोजमस्ती रुचाउने खालकी थिइन् उनि ।
x x x
विचरी त्यो चरीको जीवनलाई म आफ्नो पाराले सोच्न थालेँ । एक्लै थिइ ऊ । उसको चित्कार वेदना, पीडा, कष्ट मिश्रित हुन्थ्यो । उसले पनि मेरो बारेमा सबै थाहा पाइसकेकी थिई । किनभने मैले त्यो रुखको फेदमा बसेर धेरै पटक आँखाबाट आँसु झारी आफ्ना बहलाई व्यक्त गरेको थिएँ । ऊ किन एक्लै छे त्यो मलाई थाहा भएन । तर ऊ एक्लै भएको पीडालाई म अनुभूति गर्न सक्थें । ठेस लागेका मान्छेलाई थाहा हुन्छ त्यसको पीडा । म उसलाई हेरेर प्रश्न गर्थें “किन एक्लै ? खोइ तिम्रो साथी ? खोइ तिम्रा बालबच्चा ?” खै ऊ बुझ्थी वा बुझ्दिनथिई थाहा भएन तर उसको चित्कारबाट म महसुस गर्थे कि ऊ पीडित छे, व्यथित छे । मेरा मनमा धेरै प्रश्न उठ्थेँ, ऊ एक्लै भएको बारेमा ! तर एउटा कुराचाहिँ पक्कै हो उसलाई छोडेर उसको साथी अन्तै गएको भने कदापि होइन । मनुष्यको जस्तो धोका पक्षीले दिँदैनन् ।
एकदिन ऊ मलाई हेरेर धेरैबेरसम्म कराइ रही । के भएछ कुन्नि या के भन्न चाहिरहेकी थिई ऊ । सायद भन्न चाहिरहेकी थिई, “तेरो जिन्दगी लामो छ, भर्खर तीस वर्षको हुँदैछस् अर्को जीवनसाथी खोज् ।”
म उसलाई भन्थेँ, “म अब अर्कीसँग बिहे गरेर फेरि पीडित हुन चाहन्न ।” ऊ जवाफ दिन्थी, “सबै एकै खालका कहाँ हुन्छन् र ? असाध्यै माया गर्ने पनि त हुन सक्छन नि ?” “म फेरि विरही भए भने त बाँच्न सक्दिन ।” मेरो उत्तर हुन्थ्यो । “के था ? बा असाध्यै माया पाएर यहाँ बस्न नै भुल्ने होस् कि ?” यस्तै यस्तै संवादको अनुभव गर्थेँ म ऊसँग ।
एकपल्ट म घरायसी कामले गाउँ जानु पर्ने भो । मैले उसलाई भन्न बिर्सेछु । एक सप्ताहको छुट्टी लिएर म घर गएँ । घरबाट फर्किएर आएकै भोलिपल्ट अफिस जाने क्रममा रुखको छेउमा के पुगेको थिएँ कि ऊ परबाट भुर्र उडेर आई र मलाई हेर्दै धेरैबेरसम्म मसंग गुनासो गरी, “किन आइनस यत्रो दिनसम्म ? किन मलाई भनिनस् ? म कति न्यास्रेँ हुला ? कस्तो निर्दयी रैछस् तँ ?” आदिइत्यादि । मैले क्षमा मागें र अफिसतिर लागेँ ।
श्रीमतीले मलाई छोडेर अर्कैसँग विवाह गरेको बिस्तारै बिस्तारै मेरा गाउँ घरकाले पनि थाहा पाइसकेका थिए । मेरा बाआमा चाहन्थे कि कानुनी कागजीय काम गरेर छोराले अर्को विवाह गरोस् । म हृदयदेखि सहमत थिइनँ । तर आमाबुबाको करकापबाट मुक्त हुन मलाई त्यति सहज पनि थिएन । म ‘हुन्छ म सोचौँला’ भन्ने उत्तर नै प्राय: दिने गर्थेँ ।
x x x
आज चाहिँ म चरीलाई खुसीको खबर सुनाउँछु भन्दै लागेँ अफिसतिर । मैले हिजोमात्रै रोहन कि आमासँग बिहे गरेको थिएँ । आज चरीलाई भन्नेछु- “तँ सधैँ मलाई बिहे गर, बिहे गर भन्थिन्स् नि ? गरेँ मैले विवाह । अब त खुसी भइस् होला नि ?” ऊ अवश्य सोध्ने छे मलाई, “कोसँग गरिस् त बिहे ?” तिनै महिलासँग जसलाई उसका लोग्नेले सानै उमेरमा बिहे गरेर बच्चा भएपछि छाडिदिएर गाउँकै अर्की केटीलाई लिएर भारततिर लागे । रोहन कि आमा । रोहन कि आमाले दुख सुख गरेर रोहनलाई हुर्काउँदै थिइन् । बुढाले उसलाई छाडेर अर्की लिएर भारततिर लागे पछि उनी पनि गाउँमा बस्न सकिनन् । उनी काठमाडौं छिरिन् र यसै अफिसमा चिया बाँडन लागिन् । उनी यस्तै बीस-बाइस की होलिन् । यसो हेर्दा अठ्ठाइस-तीस कि जस्ती देखिन्थिन् । सायद धेरै दुख कष्ट झेलेर होला । कहिले भोकै बसेर होला । कहिले खानेकुरा नभएर होला । त्योभन्दा पनि ज्यादा आफूले माया गर्ने लोग्नेबाट धोका पाएर होला । म उनलाई करिब तीन-चार वर्षदेखि चिन्छु । मेहेनती अरुलाई सम्मान गर्न जान्ने । कता कता मलाई उनीप्रति साहानुभूति लाग्थ्यो । मान्छेको मन न हो ।
उनी कहिले कहिले मलाई रुँदै भन्थिन्, “सर ! सुहान सरले मलाई एक हजारको नोट दिए र आज उनकैमा बस्न जाउँ भने, तर मैले मानिनँ । मैले नमानेपछि ‘के भो त ! तिमीलाई काम लाग्छ, हेर त छोराका कपडा ? फाटिसकेका छन् किनिदिनु राम्रा ’ यस्तै खाले धेरै कुरा सुनाउँथिन् उनी मलाई । मलाई भित्रभित्रै माया लाग्न थालिसकेछ । खै किन हो, उनी पनि सब कुरा मलाई नै सुनाउँथिन् ।
मैले बिस्तारै बिस्तारै श्रीमतीलाई बिर्सिन थालेँ । किनभने ऊ अब मेरी नभएर अर्कैकी भईसकेकी थिई । मैले आफ्नो मनलाई दरो पार्न थालिसकेको थिएँ । उनी मलाई सहजै छाड्न सक्छिन भने म उनका लागि किन तड्पिने ?
मेरा आमा-बुबा र आफन्तको पनि चाहना थियो कि म विवाह गरौं । सबैभन्दा धेरै चाहना त्यो चरीको थियो । त्यही भएर म उसलाई त्यो खबर सुनाउन उत्सुक थिएँ । म उसलाई सुनाउन चाहन्थेँ कि हेर त मैले विवाह गरेँ । यिनै हुन् मेरी श्रीमती । म उनीलाई लिएर चाँडै रुख भएको ठाउँमा पुगेँ । उसलाइ आफ्ना कुरा सुनाउनका लागि । तर त्यहाँ ऊ कराउँदै आइन् आज । म परको रुख तिर हेर्न लागेँ जहाँबाट ऊ सधैँ उड्दै उड्दै आउँथिई । मैले सोचेँ सायद चारो खान कतै गएकी होली । एकछिन बस्यौँ हामी त्यो रूखको फेदमा, तर ऊ आइन । केहीबेर बसेर हामी फर्कियौं । मन भारी भयो । बेलुकीपख फेरि म आएँ । तर अहिले पनि सुनसान थियो । ऊ आइन । म अनेक सवाल लिएर घर फर्केँ । केही दिनसम्म मैले उसलाई रुखमा पर्खें कहीँ आउँछे कि भनेर । तर ऊ कहिल्यै आइन । अनी मैले उसलाई खुसीको कुरा कहिल्यै सुनाउन पाइन ।
डिल्लीराम शर्मा संग्रौला (9841826656)
[email protected]