जीवनका ८२ वर्षमध्ये ६५ वर्ष नेपाली भाषा, साहित्यको प्राध्यापन र अनुसन्धानमा समर्पित प्रा. डा. दयाराम श्रेष्ठलाई आज नेपाली विषयका प्राध्यापकहरूको एक बृहत् भेलाका बिचमा काठमाडौँमा सामूहिक अभिनन्दन गरिएको छ। धनकुटामा जन्मेका श्रेष्ठ त्रिविका अवकाशप्राप्त प्राध्यापक हुनुहुन्छ । उहाँका दर्जनौं कालजयी कृति प्रकाशित छन् ।
त्रि. वि. नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको अभिनन्दन समारोहमा विशिष्ट अतिथि प्रा. डा. कपिल लामिछाने तथा विभिन्न क्याम्पसका नेपाली विभागीय प्रमुख प्रा. डा. धर्मराज अधिकारी, विष्णु ज्ञवाली, उषा अधिकारी, डा. फणीन्द्रराज निरौला, बालकृष्ण शर्मा, यादवराज उपाध्याय आदिले प्राध्यापक गुरु श्रेष्ठको प्राज्ञिक योगदान अतुलनीय रहेको सुखद अनुभूति प्रकट गर्नुभयो भने प्रा. डा. रामप्रसाद ज्ञवालीले सुन्दर कविताद्वारा प्राध्यापक श्रेष्ठप्रति सम्मान प्रकट गर्नुभयो ।
कार्यक्रममा नेपाली विषयका सयजना भन्दा बढीको उपस्थिति रहेको थियो ।
अभिनन्दनपश्चात् श्री श्रेष्ठले ८२ वर्षको भए पनि ज्ञानको खोज र पुस्तान्तरण गर्ने काममा आफू नथाकेको तथा नथाक्ने बताउनुभयो । कार्यक्रम सहिद स्मृति प्रतिष्ठान, त्रिभुवन पार्क, चन्द्रागिरिमा सम्पन्न भएको हो ।