समाचार

१.
आज मृत्यु
जीवनको छेउबाटै गयो
भनौँ
उसले जीवन देख्दै देखेन
म कामना गर्छु
मृत्युले संधैँ
यसरी नै
जीवन देख्दै नदेखोस
तर
जहिले पनि
त्यस्तो कहाँ हुन्छ र
जीवन अमर कहिल्यै हुँदैन
सपना अधुरो रहे पनि !
२.
सागर कहिलेकाहीँं
शान्त बनेर थामिन्छ
आकाशचाहिँं कहिलेकाहीँ
आफूसंँगै हिँड्छ
त्यति मात्र कहाँ हो र
आकाश र सागर टक्क अडिएर
पहाड हिँड्छ कहिलेकाहींँ
यही त भिन्न रहेछ
मन र मस्तिष्कमा
कहिलेकाहींँ मनले पनि
मस्तिष्कलाई भ्रम पार्न
खोज्दोरहेछ !!
३.
योभन्दा त्यो अग्लो
त्योभन्दा यो अग्लो
सहरका अग्लाअग्ला घरहरू
कस्तरी मिलेर बसेका छन्
अग्लाअग्ला घरका वरिपरिचाहिँ
सानासाना नमिल्दा झुप्राहरू छन्
तर थाहा छ
ती अग्लाअग्ला घर बनाउनेहरू
ती सानासाना झुप्रामा बस्छन्
कर्मको फल भन्दै
आफ्नो भाग्यलाई धिक्कार्दै
भोकभोकै आसुँ बगाउँदै
भोलिको प्रतीक्षामा
आफैँभित्र हराउने
ती ब्यर्थै कोसिस गर्दछन !!!
बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका