• २०८१ बैशाख १६ आइतबार

भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ–

प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ । घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार मंगलबार गरिने छ । राजधानीस्थित संगीत तथा नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि उनको शवलाई राखेर अन्तेष्टि गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ ।

८१ वर्षीय भक्तराजका दुई छोरा सत्य–स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन् । थुप्रै गीत तथा भजन गाएका भक्तराजलाई भजन शिरोमणिका उपमाले पनि चिनिन्छ । बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका भक्तराजले ‘संगीत प्रभाकर’ सम्म अध्ययन गरेका छन् ।

वि. सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन‘’ प्रथम भएपछि उनी रेडियो नेपालमा जागिरे भए । त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए । दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए । उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, राष्ट्रिय, बालगीत गाएका छन् ।

वि.सं. २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकोमा झन्डै सयभन्दा बढी टाँका लगाइएको थियो । भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएपछि उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएको थियो । अनि उनको जिब्रो काटियो । त्यसयता उनको गायनयात्रामा विराम लागेको थियो । उनको ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नशा पिएर’ लगायत थुप्रै कालजयी गीत छन् । त्यस्तै उनका ‘एकदिन मैले प्रभुसँग सोधेँ’, ‘तन मन बचनले’, ‘सब निदाए प्रभु’ लगायत थुप्रै लोकप्रिय भजन छन् ।

उनको जीवनी फिनिक्स बुक्सले बजारमा ल्याउने तयारी गरिरहेको छ । भक्तराजका जेठा छोरा सत्यराज आचार्यले पुस्तक लेखनका लागि सहयोग गर्ने भएका थिए । उनको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनेको छ । नेपाली सुगम संगीतलाई उचाइमा पुरयाउन उनले ठूलो योगदान दिएका छन् । गायक भक्तराज आचार्यले रेडियो नेपाललाई ठूलो योगदान दिएको दीप श्रेष्ठ बताउँछन् । रेडियो नेपालले दिएको डेटमा कोही नआए भक्तराज गायनका लागि तयार भइहाल्ने उनी बताउँछन् ।

स्वर परीक्षा पास नगरेका व्यक्तिले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न पाउँदैन थिए । स्वर परीक्षा पास गरेका व्यक्तिले पनि रेकर्ड गर्न डेट लिनुपर्थ्यो । त्यस्तो बेलामा रेडियो नेपालमा कार्यरत भक्तराज आचार्यले समय कुरेर सयौँ गीत रेकर्ड गराएका थिए ।