के माया लाग्छ र ?
उखुमै लाग्छ नि…
मेरो याद आंउछ र ??
हुर्हुरी आउँछ नि…
०००
त्यसपछि-
हामी दुवै
एकाएक
मायामा हरायौँ ।
ऊ
टिकटककी
हिरोइन झैँ-
आफूलाई
सिगार्दैं गई,
मैले पनि
आफूलाई
राजेश खन्नाको
रोमान्टिक क्यारेक्टरमा
ढाल्दै गएँ,
समय न हो
एकनास बगिरह्यो
र
हामी पनि
सँगसँगै
त्यसैमा
निश्चिन्त बगिरह्यौँ ।
दुनियाँ सबै
चकित थिए
हाम्रो मायाको
रूप देखेर
ईंष्र्या, डाह
र
जलनमा
कोहीकोही
जलेका थिए
समाज न हो
यसरी नै
चलेको थियो ।
अचानक
एकदिन
मायाको बाँध फुट्यो
र
त्यस भेलले
बलियो गरेर
समातेको मायावी हात
अकस्मात छुट्यो
अर्थात्
हाम्रो सम्वन्ध
ठाउँको ठाउँ नै
टुट्यो ।
यतिखेर
ठन्डा दिमागले
सोचिरहेछु-
त्यो प्रेम थियो
कि
क्षणिक आवेग
वा
पागलपन
कि
एक मीठो तिर्सना ??
जीवनको
यो
मोडसम्म आइपुग्दा
अझै अनुत्तरित
म
जो हमेसा
भ्रममा बाँचेको छु
र
एक पागल प्रेमीको
डायरी सम्झीसम्झी
लेखिरहेछु ।
(कविता, गीत र अन्य साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आएका स्रष्टा उत्तम भौकाजी यस पुस्ताका चर्चित कवि हुन्)
[email protected]