हिंजो आज मन
विगतका यादहरूले
पोलिरहेको छ
यहाँ, त्यहाँ, वहाँ
घरभित्र र घर बाहिर
सारा जहाँ
धरती आकाश
र सबै चिजहरूले
तिम्रै सम्झना दिलाउँदै
हर वखत साउतीगर्दै
कानमै बोलिरहेको छ ।
मनमा कतै नअटाएर
बाहिर निस्कन हतास गरिरहेका
मनका कुराहरू
कलमले यसरी खोलिरहेको छ
शुभकामना बाँड्ने र
स्वागत गर्ने रहर त छ नि यथेष्ट
बडा दशैँको
तिर्खा पनि छ मनभरि
सँगालेको सबैको
तिम्रो हातको टिका, जमरा आशिष र
हौसलाको अनमोल उपहार पाउँदाका
ती वैजनी दिनहरु
मखमली साँझ र सप्तरङ्गी बिहानीहरू
आँखैभरि चलमलाईरहेको छ
मन मस्तिष्कभरि
यस्तै लहडहरूको भीड
ओहोर- दोहोर सलबलाईरहेको छ ।
उ बेला जस्तै साटिन्छन्
र बाँडिन्छन शुभकामना र शुभेच्छाहरू
तर रहरहरूले कहर काटिरहेको छ
दशैँ त यसपाली पनि
आयो नि आमा !
दशैँ त यसपाली पनि
आयो नि आपा !
तर उस्तै खुशी हर्ष र उमंगका
लहरहरूले मेरो मनको ढोका खोलेन
मेरो मनको ढोका खोलेन ।
मायादेवी गुरुङ, सिरुबारी पञ्चमूल, हाल- वेलायत