• २०८१ भाद्र २५ मङ्गलबार

मेरो ठेगाना

अमृता प्रीतम

अमृता प्रीतम

आज मैले
आफ्नो घर- नम्बर मेटाएको छु
अनि गल्लीको सिरानमा टाँगिएको
गल्लीको नाम हटाएको छु,
र, हरेक सडकको
दिशा- निर्देशलाई पुछिदिएको छु,
तर यदि तिमीलाई मसँग
भेट्न आवश्यक छ भने
हरेक देशको
हरेक सहरको
हरेक गल्लीको ढोका ढकढकाऊ
यो एक सराप हो
यो एक वरदान हो
अनि जहाँ पनि
स्वतन्त्र आत्माको आभास हुँदा
सम्झनू-
त्यो मेरो घर हो ।

अनुवाद: रमण घिमिरे