• २०८१ पौष २९ सोमबार

जे रोप्छौँ त्यही फल्छ !

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

जीवनमा सिक्नुपर्ने, जान्नुपर्ने, बुझ्नुपर्ने कति कुरा रहेछन् कति ! सधैँ बाँच्नुको यान्त्रिकताभित्र आत्मसमर्पित हामीलाई मनको गहिराइमा डुबेर एकैछिन पनि नितान्त आफू भएर सोच्न फुर्सदै कहाँ छ र ? अरूले सोचिदिएका, अरूले लेखिदिएका र अरूले देखाइदिएका यात्रामै आफूलाई डोर्याईरहने हामीसँग नयाँ बाटो, नयाँ यात्रा र नयाँ अनुभूतिको दृष्टि कहाँबाट आओस् र ! सधैँ आफूबाट भाग्दै, आफैँलाई छल्दै- आफ्नै स्वार्थको महत्त्वाकाङ्क्षामा घोलिँदै सेकेन्ड, मिनेट र घन्टाहरू गुजार्ने हामीसँग यो विराट जीवन र जगत्बारे एकछिन उभिएर आँखा घुमाउने समय नै कहाँ उब्रन्छ र ?
देख्नेले पलपल बगिरहेको पानीमा पनि एकपछि अर्को भिन्नता देख्छ । एकएक सेकेन्ड, मिनेट र घन्टामा पनि एकएक नयाँपनको परिवर्तन देख्छ । तर हामी भने उही पानी देख्छौँ- जुन अस्तिजस्तै, हिजोजस्तै आज पनि बगिरहेछ । हातमा कतिवटा घडी फेरिइसके तैपनि समय उही देख्छौँ- उही सेकेन्ड, उही मिनेट र घन्टा । साँचै हामीले एउटा युग बितिसक्दा पनि पत्तो पाएनौ त्यस युगभित्र कति नित्य नवीनताहरू हुँदै, परिवर्तन हुँदैरहे ।
‘जीवन नै एउटा प्राध्यापक हो’  कुनै प्रसिद्ध लेखकको यो वाक्य अचेल मलाई बराबर सम्झना आइरहन्छ । आफ्नो जीवनले जति मानिसलाई सिकाउन र पढाउन सक्तोरहेन छ । अचेल म बुझ्दैछु, मानवजीवनको हरेक उमेर, हरेकका लागि आफ्नै प्रकारको चुनौती रहेछ । कति यस चुनौतीको सामना गर्न नसक्ता हार्छन्, थोरै मात्र यस्ता हुन्छन् जो चुनौती स्वीकार्ने आँट गर्छन् । शारीरिक बाँच्नु ता पशुहरू पनि बाँचिरहेछन् तर मानसिक अर्थात् चेतनासम्पन्न भएर बाँच्नुचाहिँ एउटा ठूलै चुनौती रहेछ । चेतना कसैको शोषण चाहँदैन, कसैबाट धोका सहँदैन । आफ्नो निष्ठा र ध्येयका लागि जुन मानिस तरबारको धारमाथि हिँड्न तयार हुन्छ तर आफ्नो प्रतिष्ठालाई अलिकति पनि विचलित पार्दैन । यस्तो चुनौती बोकेर हिँडने मानिस एक्कासि आउँदैन । यो त निरन्तर अभ्यास र संस्कारवाट खारिने प्राप्ति हो । एउटा बालक नै युवा हुने हो, त्यही युवा नै पछि वृद्ध हुने हो । यो बालक जस्तो बन्छ, जवान र वृद्ध पनि क्रमशः त्यस्तै बन्छ ।
चाहन त सायद युद्ध कसैले चाहँदैन तर युद्ध रामायण, महाभारत अझ त्योभन्दा अघिदेखि आजसम्म निरन्तर नै छ । युद्ध नभए सायद शान्तिको महत्त्व नभएजस्तै । धेरै कामना शान्ति हुँदाहुँदै पनि युद्ध त निरन्तर छ । जुन निरन्तरता युद्धको छ, त्यही निरन्तरता विश्वमा शान्ति स्थापनाका लागि पनि भइरहेछ । क्रम यथावत छ युद्ध र शान्ति, हार र जित । यस दुनियाँमा न पूरै हारेर सकिन्छ, न जितेर । केटाकेटीको आँखामिचौली  खेलजस्तो हार र जित मानवजीवनको स्वाभाविक खेल हो । पहिले जित्नेहरू पछि हार्न पनि सक्छन् । विजयको कामना बोक्नेले पराजय पनि स्वीकार्दै मानवजातिको प्रतिष्ठा र सभ्यतालाई गरिमामयी बनाउने हो भने हरेक मानिसले आफ्नो जय- पराजय दुवैभन्दा माथि उठेर कर्म गर्नुपर्छ ।
मानवसभ्यताको आरम्भबाटै उठ्दैआएको एउटा ठूलो प्रश्न हो- मानिसले के गर्ने ? शदियौँ अघि गीताले यस प्रश्नको स्पष्ट उत्तर दिएको छ । वास्तवमा मानिसले गर्ने कर्म मात्रै हो । यो कर्म जब सत्कर्मले परिपूर्ण हुन्छ, त्यहीँ पुगेर मानवजीवनको उद्देश्य अर्थपूर्ण बन्छ । ‘कर्म’ मा सत्कर्म मात्र छैन, ठीक विपरीत ‘कुकर्म’ पनि छ । कुनै शास्त्र, आदर्श र कुनै धर्मले पनि, कुनै राजनीतिले पनि ‘कुकर्म’ गर भनेको छैन । त्यहाँ सत्कर्मको मात्र व्याख्या छ । तैपनि सुकर्मसँगै धेरै यस्ता कुकर्महरू पहिलेदेखि अहिलेसम्म निरन्तर भइरहेछन् । भन्न त सबै भन्छन्- चारैतिर उज्यालो भैसक्यो तर हामी भने ब्यूँझेका छैनौँ । निद्राको धङधङीले हामीलाई छाडेको छैन । युगौँदेखि सुत्ने अभ्यस्तमा लत परिसकेका हामी एक्कासि ब्यूँझेर उठ्नु पनि कसरी ? सुत्नुसँग आत्मसमर्पित भइसकेका हामीलाई अझैरात प्यारो छ, अझै अँध्यारो आफ्नो लाग्छ । वस्तुतः समय भन्नु नै हामी हौँ,  हामी हाम्रो समयमा जे रोप्छौँ, त्यही फल्छ । रोप्तै नरोपेको फल कहिले फल्छ र ? हामीले निरन्तर सोच्नैपर्छ, आज हामी कस्तो समय रोप्तैछौँ? किनभने भोलि आजमा निर्भर छ । आज जे गर्छौ , त्यसैको फल पाउने हौँ ।


याद

In Love

संवेदनाएँ