• २०८१ चैत ७ शुक्रबार

नम्रता उप्रेतीका चार मुक्तक

नम्रता उप्रेती

नम्रता उप्रेती

जुनसुकै तन्त्र आए पनि यो देश बन्ने कहानी भए
डढेलो लागे विश्वासमा आस्था सारा खरानी भए
मुलुकको भाग्य दोहन गर्दै भ्रष्टाचारमा लिप्त हुँदै ,
चप्पल नभएका नेता पनि आज सबै खान्दानी भए ।

प्रेमका पुजारी बस्ने देवलमा ठडिएको छ ठुलो कलश
पुराना ग्रन्थहरू लुकाइएका खोल्छु अब म त बाकस
कसले हार्यो कसले जित्यो मायाको महासंग्राममा युद्धझैँ,
बयान गरिएको किताब पढ्छु फेरी एकएक अक्षरशः ।

उसको कामित रहिन म हिड्न थालेँ आफ्नै बाटो
एक्लै पाइला अघि सार्दै बोकेर आँसु खुसीको साटो
अप्ठ्यारा घुम्ति पार गर्दै उफ्रिएर जहाँ जता पुगे पनि
आखिर माया नै रहेछ यहाँ जीवन चल्ने एउटै पाटो ।

फूलै फूलको डाली बन्नु छ भन्छौ
मायामा मिठास हाली भन्नु छ भन्छौ
विश्वास माथि सच्चा हाम्रो प्यार देख्दा
कतिले ठोक्लान् ताली गन्नु छ भन्छौ ।


नम्रता उप्रेती