• २०८१ श्रावाण ११ शुक्रबार

बाल्यकालको सम्झना

अप्सरा आचार्य

अप्सरा आचार्य

सरल कति रमाइलो अति सम्झदा बालापन
गाउँघरको याद साथीको साथ फुरुङ्ग हुन्थ्यो मन
माटोको भाँडा माटोकै भात पकाई खेलेको
हाँसो नै लाग्ने सम्झदा रोटी माटोकै बेलेको !

गट्टा र गुच्चा कबडी अनि रुमाल लुकाई
खट्टीकी आठ भन्दै बागचाल खेलेको रमाई
चकलेटको खोलमा ढुङ्गा र माटो राख्थ्यौ है बेरेर
बाटोमा हिड्ने झुक्किन्थे बटुवा बसिन्थ्यो हेरेर !

चंचलपन निर्दोष मन निस्फिक्री हिडिन्थ्यो
चट्पटे चना गुलियो मिठाई बरफ किनिन्थ्यो
स्कुल जाने बेलामा साथी घरआई बोलाको
सम्झना ताजा खेत र बारी धनसुना खोलाको !

घरकै छेऊ स्कुल थियो भएन केहि गाह्रो
प्रार्थना घन्टी बजेको सुन्दा लाग्दथ्यो हतारो
स्कुलको बेग्लै रमाइलो कुरा कति हो कति छन्
सबैका थिए आ–आफ्ना फेरि राखेका उपनाम

अचम्म लिला गरिन्थ्यो कहिले साथिभाई कुटेर
टुप्पीमा समाई मुक्काले हान्थ्यौं सबजना जुटेर
कट्टी गर्दै बोलचाल बन्द साथी ती तोडिन्थे
कान्छी औंला छोएर फेरि सम्बन्ध जोडिन्थे ।।

बर्सौ पछी पुराना साथी फेस बुकमा भेटियो
बाल्यकालका स्मरण गर्दै तिर्सना मेटियो
तीता मिठा अनुभूतिहरुको कहाँ छ र अभाव
भुल चुक सबैले लिने र दिने न राखौ बैरभाव ।।

 


अप्सरा आचार्य
इमाडोल, ललितपुर ।