समाचार
काठमाडौं ।
साहित्यकार तथा साहित्यक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति एकसाथ सार्वजनिक गरिएको छ । शनिबार (जेठ २) काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईलगायत साहित्यकारले ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ लोकार्पण गरे ।
कार्यक्रममा प्रा. डा. भट्टराईले पन्तको साहित्य लेखन आफ्नै शैलीको रहेको बताए । कृतिकारका कतिपय कृति आफूले पनि पढेको उनले उल्लेख गरे ।
साहित्यकार प्रमोद प्रधानले ‘शिखर शिखरको सौन्दर्य’माथि समीक्षात्मक मन्तव्य राखे । यात्रा साहित्यमा विशेष रुचि राख्ने पन्तका नियात्रामा सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विषयवस्तुको अभिलेखीकरण भएको उनले बताए । अर्का समीक्षक प्रा. डा. रामप्रसाद ज्ञवालीले ‘शिवलोकको आलोक’माथि चर्चा गर्दै पन्तले महत्त्वपूर्ण कृतिहरू पाठकलाई दिएको बताए।
यी दुई नियात्राकृति पन्तका २४औँ र २५औँ नियात्रासंग्रह हुन् । यीसहित विभिन्न विधाका उनका ४८ पुस्तक प्रकाशित छन् । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कृतिकार पन्तसहित साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज मैनाली, मोहन चापागाईं र प्रा. डा. भागवत ढकालले आफ्नो धारणा राखे ।
