• २०८१ माघ २७ आइतबार

डा. कृष्णजंग राणाको उर्दू गजलसंग्रह ‘रंग ए गजल’ लोकार्पण

महाकवि मिर्जा गालिबको जन्म जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा महफिल ए काव्य उपासनाका संरक्षक श्रद्धेय डा. कृष्णजंग राणाको नवसिर्जना उर्दू गजलसंग्रह ‘रंग ए गजल’को विमोचन सम्पन्न भयो । महफिल ए काव्य उपासना र उर्दू एकेडेमीको तत्वावधानमा आयोजित यो काव्यानुष्ठान ललितपुरको ठाडो ढुंगास्थित श्रद्धेय डा. राणाको निवासमा दिव्य उद्यानस्थित भव्य सभागारमा सम्पन्न भएको हो ।

सुप्रसिद्ध लेखक एवम् पूर्वराजदूत श्री मधुवन पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विमोचित कृति ‘रंग ए गजल’को परिचर्चाका साथै महाकवि गालिबका व्यक्तित्व कृतित्वका एवम् उहाँका गजलको प्रस्तुति गरियो । नामूद गजलकार डा. राणा, करुण थापा, रवि प्राञ्जल, शान्ति शर्मा, डा. लक्ष्मी जोशी, मनमोहन थपलियालगायतका स्रष्टा एवम् गायकहरुको गजल प्रस्तुति रहेको थियो ।

विमोचित कृतिका सम्पादक र अनुवादक यशस्वी शायर इम्तियाज वफा एवम् उर्दू शायर डा. साकिव हारुनीले कृतिमाथि प्रकाश पार्नुभयो । यस कृतिमाथि पाकिस्तानको एक विश्वविद्यालयमा शोधकार्य सम्पन्न हुँदै रहेको खुशखबरी पाकिस्तानी शायर खालिद मोहसिनले सुनाउनुभयो । साथै, उर्दू एकेडेमीले डा. राणालाई सम्मानपत्र प्रस्तुत गरेको थियो ।