एक कलमजीवी
शब्दले सौन्दर्य पोत्दै
वासन्ती रहर फुलाउन चाहन्छ
एक झप्को जून निदाउन चाहन्छ
एक मुस्कान घाम मुस्कुराउन चाहन्छ ।।
विडम्बनामा !
अनगिन्ति श्रमिकका सपना चबाएर
कयौँ नारीका सिउँदो पुछ्दै
टुहुरा अनुहारको चमक खोस्दै
खोला किनारमा माछामार्ने
बूढो माझीको काँध टेकेर
देश चर्न हिंडेका साँढेहरू
गाउँ जोत्न फेरि फर्किएर कहिलै नआएकाहरूको
खबर लेख्न चाहन्छ
खबर सोध्न चाहन्छ,
अनि
बगावतमा उत्रिएर
कलमी स्वाभिमान
वाद, दर्शन तातो घाममा सुकाएर
अक्षरमा यथार्थको बिस्कुन पोख्दै
विश्वासको घट्टामा
पिस्न चाहन्छ
बेथितीका अनेकन् पिरामिडहरू ।।
✍️२०८०-१२-७
लक्ष्मीप्रसाद फुयाल
मोरङ, पथरी, शनिश्चरे