• २०८१ मंसिर २९ शनिवार

जनकवि केशरी लोकसंस्कृति पुरस्कार ग्वंगः र कार्कीलाई

काठमाडौँ ।

जनकविकेशरी धर्मराज- सावित्री थापा प्रतिष्ठानले संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःलाई ‘धर्मराज- सावित्री लोकसंस्कृति- साहित्य’ पुरस्कार प्रदान गरेको छ । शारीरिक अस्वस्थताका कारण ग्वंगःलाई भक्तपुरस्थित निवासमा प्रतिष्ठानका पदाधिकारीले सम्मान तथा पुरस्कार समर्पण गरेका हुन् । पुरस्कार राशि पचास हजार रुपैयाँ रहेको छ ।

यसैगरी लोकगायकद्वय बमबहादुर कार्की र शिवा आले कार्कीलाई संयुक्तरूपमा ‘धर्मराज–सावित्री लोकगीत पुरस्कार’ प्रदान गरिएको छ । गायक–गायिका दम्पत्तीलाई सोमबार राजधानीमा आयोजित जनकविकेशरी धर्मराज थापाको जन्म शताब्दी शुभारम्भ समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशि जनही पच्चीस हजार रुपैयाँ रहेको छ ।

इतिहासविद् चित्तरञ्जन नेपाली र प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले उक्त पुरस्कार प्रदान गरेका हुन् । कास्की पोखराको बाटुलेचौरमा १९८० साउन १ गते जन्मेका थापाको २०७१ असोज २८ गते निधन भएको थियो । जनकविकेशरी थापाले नेपाली लोकगीत सङ्गीतको श्रीवृद्धि, लोकगीत गायन, लोकसाहित्यको खोज–अनुसन्धान र प्रकाशनमा अतुलनीय योगदान पु¥याएका छन् । जन्मशताब्दीको एक वर्षभित्र साहित्यका गतिविधि तथा उनका सिर्जनाको प्रचार–प्रसार र खोज गर्ने अध्यक्ष थापाले जनाएका छन् ।

प्राध्यापक अभि सुवेदीले जनकविकेशरी धर्मराज थापाको बहुआयामिक व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए । प्रतिष्ठानका सचिव लक्ष्मण वियोगीले देशका सातवटै प्रदेशमा साहित्यिक तथा लोकसंस्कृतिसम्बन्धी कार्यक्रम गरिने र जनकविकेशरी थापाको योगदानको परिचर्चा, प्रचार–प्रसार र प्रवद्र्धनमा समन्वय गर्ने जनाए । पुरस्कृत व्यक्तित्व संस्कृतिविद् ग्वंगःको परिचय तथा योगदानबारे साहित्यकार जितेन्द्र रसिकले प्रकाश पारेका थिए भने गायनतर्फ पुरस्कृत कलाकारद्वय कार्की र आलेको योगदानबारे लोकगायक प्रेमराजा महतले चर्चा गरेका थिए ।