• २०८१ चैत ३ सोमबार

आँसुको जन्मकथा

जनक कार्की

जनक कार्की

जुन आँसुको जुम्ल्याहा थोपाको जन्म भएको छ
यो परिमाणमा सानो पक्कै छ
तर जन्मभित्रको कथा
सगरमाथाभन्दा विशाल छ ।

सपनाको कारखानामा
विद्युतको हजारौँ भोल्टको पीडामा पौडी खेलेर
आकाङ्क्षाको हतियारले ताछिएर लाखौँचोटि
आशाको घनले अनगिन्ती पिटिएर
लुटिसकेपछि धेरैचोटि
ईष्र्याको डकैतीले
लडिसकेपछि कैयौँपल्ट
लोभको खाल्डोमा

सङ्घर्षको तोरनमा झुन्डिएर लामो यात्राको अवतरणमा
गर्भधारण भयो आँसुको
र जन्मियो जुम्ल्याहा आँसु
गन्तव्यको काखमा
लपेटियो विजयी झन्डाको थाङ्नामा

नाङ्गो आँखाले उस्तै देखिए पनि
जुम्ल्याहा आँसुको स्वरूप फरक छन्

मनको माइक्रोसकोपबाट दर्शन गर्यौ भने
एउटा थोपा आँसुभित्र प्राप्तिको हर्षले कीटाणु सलबलाइरहेको छन्
अर्को थोपा आसुँभित्र
प्राप्त गर्न भूमिका खेल्ने
सम्पूर्ण गुमाइएका, दुखाइएका, बिर्सिएका सम्बन्धहरूको कीटाणु
शोक मनाइरहेछ्न् ।
तानेसेन पाल्पा
…………………………………………………………………………
(कार्की विगत दुई दशकदेखि साहित्यमा कलम चलाउँदैै आएका स्रष्टा हुन् । उनको ‘अनुहारको भीड’ (संयुक्त) कविता–सङ्ग्रह प्रकाशित छ ।)
[email protected]