• २०८१ चैत ७ शुक्रबार

एउटा गीत लेख्नु थियो

गुरुराज घिमिरे

गुरुराज घिमिरे

एउटा गीत लेख्नु थियो कलम भेटिएन
महलम जति लाएपनि घाउ मेटिएन ।

दोबाटोमा भेट हुँदा एउटा साथी प्रिय लाग्यो
आखिरीमा छल भयो भोक तिर्खा सबै भाग्यो

देउरालीमा खोजी गर्दा देउतै भेटिएन
महलम जति लाए पनि घाउ मेटिएन ।

शिखरमा पुग्ने बाटो सजिलो त कहाँ छ र !
मिठो कुरा गर्नेसँग कसैको नि हुन्न भर

गैरी खेत सुक्न लाग्यो कुलो भेटिएन
महलम जति लाएपनि घाउ मेटिएन ।।

सभ्यताको श्रृंखलामा संस्कारको खडेरी छ
उसको लागि मेरो मनमा जुनी बित्ने घडेरी छ

जङ्घारलाई तर्नु थियो साँघु भेटिएन
महलम जति लाएपनि घाउ मेटिएन ।।।


गुरुराज घिमिरे