समाचार

विपरीत लिङ्गीको सामीप्य खोज्नु कुनै नौलो कुरा भएन, त्यो पनि उमेरमा । दीपक यसैको पर्याय बनेर सरुतिर नजिकिरहेछ । ऊ वास्तवमै के चाहन्छ, सामीप्य वा स्पर्श अझ त्यसभन्दा पनि परको कुरा सरुले बुझेकी छैन ।
सरुलाई दीपक मन नपर्ने होइन । ऊ पनि उमेरदार छे, उमेरअनुसारको चाहना उसभित्र थिएन कसरी भन्नू ? जबजब एकान्तमा दीपकसँग सरुको भेट हुन्छ ऊ सरुको हरेक अङ्गप्रत्यङ्गलाई मनले मात्र होइन, तनले पनि स्पर्श गर्न खोज्छ । सरु हल्का प्रतिवाद गर्छे किनभने दीपक पढेलेखेको मान्छे ‘धेरै पाकेको भात र धेरै पढेको मान्छेले बिगार गर्दैन ।’ सरुले सुन्दै आएकी छे । के थाहा सरुलाई संसार आफूजस्तो हँुदैन । दीपक उसले सोचेकोजस्तो छैन । तर दीपक आफ्नो मनलाई अनियन्त्रित गर्दै सरुको प्रतिवाद बुझ्ने कोसिस गर्दैन । दीपक पढेर संसार बुझेको मान्छे, सरु भने सानो परिवेशलाई नै संसार ठानेर बसेकी मान्छे ।
दीपक ठान्छ– सरु प्रयोग गरिसकिएकी मान्छे, धेरैजसो दीपकको व्यवहारले प्रमाणित गरिसकेको छ । सरु हिजोको आफ्नो थर विस्थापित भएर आजको घरमा एक्लै उभिएकी नारी हो । त्यसैले एकपटक स्वाद चाखेकी सरुलाई रहर र चाहनाले गाँजेको छ भन्ने मात्र दीपकको एकोहोरो बुझाइ छ । किनभने समयसमयमा दीपकले सरुसँग प्रश्न गर्ने गरेका छ– ‘किन तिमीलाई शारीरिक भोकले सताउँदैन ?’ अनि फेरि भन्ने गर्छ– ‘सरु, तिम्रा हरेक चाहनाको पूर्ति म गरिदिन्छु, तिमी हुन्छ मात्रै भन त !’
थाहा छैन सरुलाई दीपकमा उसले के खोजेकी छ ? दोमन र दोसाँधमा उभिएकी सरु दीपकको कुनै पनि कुरालाई नकार्न सक्दिन । नकारात्मक मन हावी छ उसमा । उसप्रति यति धेरै आकर्षित किन भएको छ ? सायद उसको श्रीमान्को अनुपस्थितिको अन्तराल धेरै भएकाले होला । मन नमिलेर दुवैले आ–आफ्नो बाटो रोजेका थिए सरुका जोडीले । सरुलाई पनि कोही (जो उसलाई आफ्नैै लागोस्) सँग आफ्ना हरेक वेदना साट्न मन लागेको छ । मन र मुटु भएकी सरुमा पनि एकान्तको दीपकसँगको सामीप्यले चाहनाका टुसा पलाएका छन् । कसैकी श्रीमती भएर क्षणिक जीवनभोगाइका अनुभवलाई उसले सँगालेकी छ ।
जीवनको यात्रामा अनेक भेटिएका छन् । कोही सापेक्ष छन्, कोही निरपेक्ष । सरुको आफ्नै बुझाइ छ । क्षणिक स्वार्थभन्दा केही नभेटेकी सरु दीपकमाथि फरक दृष्टि राख्न पुगेकी छ । सरुको मनको सुुषुप्त चाहलाई ब्यूँझाइदिएको छ दीपकले । दीपकसँगको भेटपछि सरु उसैको कल्पनामा तरङ्गित हुनेगर्छे ।
पराई मानिसलाई विश्वास गरिहाल्ने बानीमा सरुले परिवर्तन ल्याउन सकेकी छैन । दीपकभित्र आफूलाई बुझ्ने क्षमता छ भनी भ्रम बाँचेकी सरुले दीपकप्रति विश्वासको साङ्लो बाँधेकी छ । सायद यसैलाई भाग्य भनिन्छ र त भोग्नुपर्छ लेखिएको कुरो ।
विपनामा पूरा हुननसकेको कुरा कहिलेकाहीँ सपनाले सन्तुष्ट पारिदिन्छ भनेझैँ सरु आजकल प्रायशः सपनामा दीपकलाई देख्न थालेकी छे । सामीप्य खोज्ने दीपकलाई आफ्नै मान्छेको छवि सम्झेर सरुले आफैँलाई दीपकप्रति समर्पित गरेकी छे । सपनीमा जसले गर्दा एउटा विश्वास दीपकप्रति हरदिन प्रगाढ बन्दैथियो ।
‘सपनाको सबै कुरा भनिदिऊँ कि क्या हो !’ अन्तरमनको द्वन्द्वमा जेलिएकी थिई सरु । कुन मनको कुरा सुनूँ– दोधारमा थिई । एउटा मन स्वार्थी दीपकको वकालत गथ्र्यो भने अर्को मन उसैको पूर्वजन्मको कोही हो भनी झस्काइरहन्थ्यो । माया हो कि आकर्षण खुट्याउन गाह्रो थियो । दीपकबाहेक अरूप्रतिको आकर्षण नगण्य थियो सरुभित्र । सपनाको कुरा दीपकलाई भन्नुपर्छ, सरुले निर्णय गरेकी थिई ।
‘दीपक एउटा कुरा भनूँ है !’ सरुलाई सबै कुरा पोख्नुछ दीपकसँग ।
‘त्यत्ति पनि सोध्नुपर्छ, भन न !’ दीपक सहज उत्तर दिन्छ । अनि सरुले सपनादेखि आफ्नो मनले ठानेको र आफूले पनि चाहेको कुरा दीपकलाई भन्दै जान्छे, दीपक नाजवाफ भएर सुन्दै रहन्छ ।
सरु आग्रह गर्छे– ‘भन दीपक, मैले चाहेको कुरा तिमी पु¥याउँछौ ?’ दीपक गम्भीर हुँदै भन्छ– ‘हेर सरु म तिम्रा हरेक इच्छा पूरा गर्छु तर मेरो नाम तिमीलाई दिन सक्दिनँ, भौतिक, शारीरिक हरेक इच्छा पूरा गर्नसक्छु तर मेरो नाम जोडिएको जीवन तिमीलाई दिन सक्दिनँ ।’ नसोचेको कुरा सुनेपछि सरुलाई दीपकले घात गरेझैँ लाग्छ ।
उसका नयन आँसुले टलपल देखिन्छन्– ‘किन ?’ रुन्चे स्वरमा प्रश्न गर्छे । उसलाई आफूले टेकेको जमिन भासिएजस्तो लाग्छ । आखिर जीवन अन्धकारमा रुमल्लिने अस्तित्व रहेछ जस्तो लाग्छ ।
‘एउटी नारी पहिलोबाट अन्तिमसम्म एउटैको हुन चाहन्छे, मैले त आफूलाई सपनीमै भए पनि तिमीलाई समर्पण गरिसकँे । हुन त म पहिले नै कसैकी श्रीमती हुँ तर तिमीले नै बिथोलेका हौ ।’ सरु अविरल आँसु बगाँउदै भन्छे– ‘अब मैले कसैकी श्रीमती हुनु र नहुनुको अन्तर पाउन सकेकी छैन, मेरो र तिम्रोको कुरा नमिलेपछि हाम्रो संसार अलग छ ।’ सरु स्पष्ट पार्दै थिई दीपकलाई थाहा भएकै कुरा भए पनि ।
‘तिमी पुरुष एउटाबाट सुरु गरेर त्यसलाई एउटैमा सीमित गर्न चाहन्छौ, अन्तिम बनाउन चाहँदैनौ । परिवर्तित स्वादको चुस्की लिन पल्किन्छौ, खेल्नु र खेलाउनुमा नै आनन्दित हुन खोज्छौ । आखिर किन गिजोल्यौ त मलाई ?’ सरु प्रश्न गर्छे ।
‘म सामाजिक बन्धनमा बाँधिएको छु ।’ दीपक जवाफ दिन सुरु गर्छ ।
‘तिमीलाई मसँग नजिकिँदा थाहा थिएन त ?’ सरु प्रश्न गर्छे ।
‘त्यसो होइन परिवारले स्वीकार नगर्ने कुरा, म गर्न सक्दिनँ । बरु म कुनै अर्को दीपक तिम्रा लागि उभ्याइदिने कोसिस गर्छु ।’ दीपक पन्छिने मेलो ल्याउँछ । सरु निरुत्तर बन्छे । दीपक सान्त्वना दिने कुरा गर्छ– ‘तिम्रा हरेक इच्छा म पूरा गरिदिन्छु, तिमी सम्झ मात्रै, म उपस्थित भैदिन्छु, तिम्रो मन बहलाउन म कोसिस गर्छु ।’
‘सबभन्दा कायर मान्छे भनेकै पढलेखेकोका हुँदारहेछन्, जो खोक्रो इज्जतको खोल ओढेर बस्दा रहेछन् ।’ सरुले बुझेकी कुरो । सरुलाई लाग्छ– ‘आजसम्मको सामीप्य मन बहलाउने पो रहेछ । समाज र परिवारले नचाहेको कुरा पूरा गर्न सक्दिनँ भनेर पन्छिने तर मनले चाहेको कुरा प्रतिकार गर्दागर्दै पनि पूरा गर्न तम्सने, कत्ति निष्ठुरी ?’ योभन्दा बढी निष्ठुरताको प्रदर्शन के नै होला र ? मान्छे चिन्न पनि त घटना घट्नै पर्छ नि आखिर । देखाउने इज्जत र प्रयोग गरिने अभीष्टको परिभाषा कसरी बनाउँछ मान्छे ? यहीँबाट आफू बनेर बाँच्न सिकी सरुले सायद…।
……………………………………………………………………………
(खनाल एक दशकदेखि सिर्जना क्षेत्रमा कलम चलाउँदै आएकी स्रष्टा हुन्)
[email protected]