गजल

म
मान्छेका लागि रुन्छु
त्योभन्दा बढी
लोप हुँदैगरेको
एउटा पुतलीका निम्ति
आँसु बगाउँछु ।
म
माटोका निम्ति कल्पन्छु
त्योभन्दा बढी
हेर्दाहेर्दा हराइरहेको
एउटा वनस्पति–प्रजातिका लागि
कहालिन्छु ।
म
नदी र घट्दो जलस्तर निम्ति
विह्वल हुनेगर्छु
त्योभन्दा बढी
नदीबगरले गुमाउँदै गइरहेको
बालुवाका निम्ति
विलाप गर्छु ।
म
ब्रह्माण्डको गीत गुनगुनाउँछु
त्योभन्दा बढी
ओजन तहमा फराकिँदै गइरहेको
भ्वाङको भयले
भक्कानिन्छु ।
०००
अब
विह्वल बनेर
विलाप गरेर
आँसु बगाएर
काम बन्दैन, प्रस्ट छ
प्रस्टै छ
अब
आश गरेर बस्नुभन्दा अरूको
फगत आफ्नै भरोसामा
आफ्ना दुई हात
दुई खुट्टाका भरमा फगत
आफैँ ओर्लनु छ रणसङ्ग्राममा
र
जित्नु नै छ यो महायुद्ध
तिम्रो निम्ति मैले
ओ पृथिवी !
०
—————————————————————-
(श्रेष्ठ स्थापित कवि, आख्यानकार एवम् नाटककार हुन् ।)