अन्तरवार्ता

केही दिनअघि मेरो फेसबुकले उसको ‘मेमोरी’ मा मैले खिचेको एउटा पुरानो तस्बिर देखाइदियो । तस्बिरमा दुई दिग्गजहरू प्रसन्न मुद्रामा देखिन्थे । मैले कोरोना भाइरसको नजरबन्दीमा तीमध्येका एक दिग्गजको ल्यान्डलाइनमा फोन गरेँ । उनको नम्बर बदलिएको रहेछ । टेलिकमले स्वतः मलाई बदलिएको नम्बर टिपाइदियो । मैले फेरि नयाँ नम्बरमा फोन गरेँ तर उठेन । अनि दोहो¥याएर फाने गर्न जाँगर चलेन । मेसेन्जरमा ‘स्टे सेफ’ पढ्दापढ्दा आफैँ दिक्क भइसेकको थिएँ । यसले झन् उनीजस्ता सेलिब्रेटी कति दिक्किए होलान् भनेर फेरि फोन गरिनँ । म ल्यापटप बन्द गरेर घाम ताप्न कौसीमा उक्लिएँ । एकैछिन भएको छैन घामले चिटचिट पोल्न थाल्यो । तातोमा कोराना भाइरस मर्छ भन्ने थरीथरीका भविष्यवाणीहरू पढेको थिएँ । काम नभएको बेला तल झर्न मन लागेन । ‘आ होस् है, एकछिन बरू तातो खपेरै भए पनि बसिरहन्छु र अझै कोरोना भाइरस मार्छु’ भनेर छतमै बसिरहेँँ । कोठामा बस्दाबस्दा निसास्सिएको मानसिकतालाई अलमल्याउनु पनि थियो ।
तर कति बस्ने यो तातो घाममा ! छतबाट वरिपरिका घरहरूतिर हेरेँ, सबका झ्यालढोका बन्द, सुनसान छन् । हावाको गति झ्यालमा ठोक्किँदा चुइँकिएको आवाजले पनि एक किसिमको अत्यासबोध गराउँथ्यो । कतै कुनै अनुहार देखिँदैनथे मानौँ, अहिले मानव बस्तीबाट लोप भएको छ ।
म फेरि तल कोठामा झरेँ र त्यही फोटामा दृष्टि बिच्छ्याएँ । मेरो स्मृति एक दशकअघिको नेपालयको ‘आर’ शालामा पुगेर ठोक्क्यिो । अम्बर गुरुङको एकल गायनका लागि सुसज्जित मञ्चमा आयोजनाका हर्ताकर्ता सङ्गीतकार आभास मञ्चको भुइँमा बसेर हार्मोनियम फिट्दै थिए । उनका छेउछाउमा अरू वाद्यवादकहरू पनि आ–आफ्ना बाजागाजामा साँद लगाउँदै थिए । नेपाली र विदेशी श्रोताहरूले ‘आर’ शालामा थामिनसक्नु घुँइचो लागेके थियो । नगागोस् पनि किन ? गाउने व्यक्ति चानचुने थिएनन् । कुनै समय आकाश र धर्तीको मिलन हुँदैन भनेर आफ्नी प्रेमिकासँग बह पोख्ने आकाशजत्तिकै विशाल प्रतिभा थिए– अम्बर गुरुङ ।
अनि तस्बिका यी दुई हस्ती दर्शकदीर्घाको पछिल्लो पङ्क्तिमा अलग्ग बसेर मञ्चतिर नियाल्दै थिए । मैले त्यही बेला आफ्नो मोबाइल फोनमा यी दुई आदरणीय अनुहारहरूलाई सुटुक्क प्रतिलिपि गरेँ ।
त्यसयता मैले यी दुवैलाई बिर्सिसकेको थिएँ । यो फेसबुकको ‘मेमोरी’ ले नसम्झाएको भए हम्मेसी सम्झिन्नँ पनि थिएँ सायद ।
अब यस तस्बिरमध्येका एक जना जीवित छैनन् र जसको गीत सुन्न त्यस दिन यी दुवैजना टाउको जोडेर बसेका थिए, मैले तिनको तस्बिर पनि खिचेको थिएँ । ती पनि अब छैनन् । कस्तो संयोग ! संयोग भनूँ कि विडम्बना या विस्मात ! तस्बिर हेर्दाहेर्दै मन फेरि एकपटक कहालियो । अम्बर गुरुङसँग गरेका सङ्गतका लामा न लामा रिलहरू स्मृतिमा घुम्न थाले । उनी छैनन् भन्ने सोच्दा पूरा पौने तीन घन्टा रमाइलो र सुखान्त दृश्य–संवादमा रुमल्लिँदै, सकिन लाग्दा नायकको मृत्युले वियोगान्त भएको कुनै फिल्मको दृश्यजस्तो लाग्यो गुरुङसँगको स्मृति मलाई ।
यहाँ म जुन तस्बिरको कुरा गर्दैछु, यस तस्बिरको यो जोडी बिरलै भेटिने व्यक्तिहरूमा पर्छ । ठूलो संयोग–वियोग नपरी यी अनुहारलाई भेट्न असम्भव छ । त्यसैले मलाई सधैँ यी दुर्लभ व्यक्ति लाग्थे । तर तस्बिरको अर्को किनारमा बस्ने व्यक्तिलाई त अब भेट्न सकिँदैन पनि । किनभने उनी आफ्नो तस्बिरमा धेरै अघि माल्यार्पण गराएर गइसके ।
यीमध्ये एकजना जो विदा भएर गइसके ती भीमविराग हुन् । मेरो जीवनमा एकपटक मात्र भेटिएका उनी जीवनको अन्तिम गाडी छुट्नेछुट्ने बेलामा भेटिएका र चिनजान भएका यात्री थिए । तस्बिर हेर्दा मलाई तिनको सम्झनाले बिझाएजस्तो हुनथाल्यो । अनि चाहिँ मेरा संयम र धैर्यका सारा छेकबारहरू भत्किए ।
यो तस्बिर हेरिसकेपछि मैले तस्बिरमा भएको अर्को व्यक्तिसँग कुरा गर्न अबचाहिँ मेरो मोबाइबाट उनको नाम लेखिएको मोबाइल नम्बरमाथि डराइडराई बूढीऔँलाले थिचेँ । किनभने कतै टेलिकमकी सुन्दर यौवना (अहिले बूढी भइसकिन् कि !) ले ‘माफ गर्नुहोला ! तपाईंले डायल गरेको नम्बर अहिले उपलब्ध हुनसकेन, कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला !’ भनेर साइड लगाइदिने हुन् कि भन्ने संशय मनमा पनि त्यत्तिकै प्रवल थियो ।
सौभाग्य यसपटक फोन उठ्यो । ‘को बोल्नु भएको ?’ फोनमा भारी आवाज ध्वनित भयो । ‘मुखिया दाइ म रमण घिमिरे ।’ मैले फोन राखिहाल्ने हुन् कि भनेर हतारहतार आफ्नो नाम भनिहालेँ– ‘स्टे सेफ’ हुन । उनले भने– ‘आृेहो भाइ ! तपाईंको फोन सुनेर सारै खुसी लाग्यो । हामी त घरभित्रै नजरबन्द छौँ । यता त केही त सब्जी पाइँदैन ।’ उनले एकै सासमा भने । मलाई उनले मीठो वचनले आह्वान गरेको रमाइलो लाग्यो । तर अभावको कुरा सुनेर फेरि कताकता बेमज्जा पनि लाग्यो । उनी थिए प्रसिद्ध नाटककार–रङ्गकर्मी मनबहादुर मुखिया ।
त्यो एउटा अनौठो संयोग थियो । तस्बिरको बायाँतिर सेतो सर्टमा थोरै ढल्केर मुखरित मुद्रामा देखिने मुखिया कुनै समय नेपाली नाटक–रङ्गमञ्च र उनको बायाँतिर हात बाँधेर मन्द मुस्कुराइरहेका भीमविराग नेपाली गीतसङ्ग्तिका महाविद्यालय थिए ।
शारीरिक अपाङ्ताले गर्दा भीमविराग घरबाट ननिस्केको सायद युगौँ भइसकेको थियो । र मुखिया पनि यस लेखकको कृति ‘एक दर्जन एक’ को अन्तरक्रियात्मक कार्यक्रम, २०६१ पछि सायद पहिलोपटक कुनै कार्यक्रममा झुल्किएका थिए । त्यसैले यी दुवै दुर्लभ मानिस थिए ।
माथि भनिसकेँ यो सामान्य कार्यक्रम थिएन र त्यस कार्यक्रममा आउने दर्शक–श्रोताहरू पनि साधारण थिएनन् । यो नेपाली सङ्गीतमा नेपाल र प्रवासलाई बाँघ्ने महान् कलाकार अम्बर गुरुङको एकल गायनको आयोजना थियो । आज गुरुङको निधनयता त यो अपूर्व नै हुनपुगेको छ ।
सहकार्यका रूपमा यी मुखिया र विराग कहिल्यै अम्बर गुरुङसँग जोडिएनन् । मुखियाले गीत पनि लेखेका छन् । ‘अनि देउराली रुन्छ’ र अरू नाटकहरू प्रयोग भएका उनका गीत आज पनि लोकप्रिय छन् । कर्म योञ्जनको सङ्गीतमा कुमार सुब्बाले गाएका ‘हे फूल चुँडेर लाने हो’ या ‘देउरालीका ठिटी हो’ आज पनि सुनिरहूँजस्तो लाग्छन् । पछि उनको एउटा गीत शान्ति ठटालको सङ्गीतमा नारायणगोपालले पनि गाएका छन् । तर अम्बर गुरुङसँग उनको सम्बन्ध आदरको मात्र रह्यो सायद । भलै दुवै आ–आफ्ना क्षेत्रका आकाश नै थिए । मुखियाले ‘अनि देउराली रुन्छ’ नाटक नेपाली रङ्गमञ्चलाई नदिएको भए त्यो बेला दार्जिलिङका रङ्गमञ्च र नाट्यशालाहरू सायद ‘लकडाउन’ हुन्थे ।
शारीरिक रूपमा हिँडडुल गर्न असमर्थ भीम विराग अनि नेपाल प्रज्ञा–प्रतिष्ठान र घरबीचको दूरीबीच मात्र यात्रा गर्ने अम्बर गुरुङको यसअघि कथंकदाचित आसपमा भेट भएको भए, त्यो भेट अद्वितीय थियो । किनभने त्यस बेला हेटौडा बस्ने अपाङ्ग भीमविराग र कार्यालय र घरबाहेक अन्यत्र पातलै भेटिने अम्बर गुरुङको मिलन सम्भव थिएन ।
र, आफैँ लेख्ने र सङ्गीत गर्ने विरागका ‘झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी’ र ‘आजभोलि हरेक साँझ रक्सिन थालेछ’ जस्ता गीत नगाएका भए नारायणगोपालको गायकीमा केही अपुरोपन त अवश्यै रहन्थ्यो । उनले यी गीत नगाएका भए, हामीलाई थाह हुँदैनथ्यो । तर गाइसकेपछि यी गीतहरू नगाएका भए उनको गायनयात्रामा थोरै भए पनि अपूर्णता आउने रहेछ भनेर अहिले लख काट्न पटक्कै मुस्किल हुँदैन ।
यी दुई हस्तीहरू त्यस साँझ एउटै बेच्नमा बसेर गफिँदै थिए । मुखिया केही भन्दै थिए र विराग सुन्दै थिए ।
मैले उनीहरूको यो तस्बिर खिच्दा उनीहरूलाई थाहा भएन । ‘सुटुक्क’ कहिलेकाहीँ कति रोमाञ्चक र अनुभूतिपूर्ण हुन्छ । लाएको वर्षौंसम्म पनि लागिरहने– छाडेर गएकी प्रेमिकको मायाको नसाजस्तो । आज यो तस्बिर हेर्दा मलाई यस्तै मात लागेको छ ।
गुरुङ, मुखिया र विराग घटना र दुर्घटनाले यस उचाइमा अवस्थित भएका हुन् । हुन त सबै स्रष्टाहरूको शिखर–आरोहणको पछाडि घटना–दुर्घटनाले भूमिका खेलेको हुन्छ । तर यी तीनैजनाको कथा अलि भिन्न र रोचक छ । गुरुङ र विरागको अझ विशेष छ ।
‘नौ लाख तारा’ उदाएपछि गुरुङको लोकप्रियता बिहानीको झुल्केघाममा कञ्चनजङ्घाको टुप्पोमा टल्किने लालिमाजस्तो जसले जहाँबाट पनि देख्ने सुन्दर भएको. थियो । तर तेजिङ नोर्गेलाई सगरमाथाको चुचुरोमा उक्लिनुभन्दा त्यहाँ उभिइरहन गाह्रो भएजस्तो गुरुङलाई ‘नौ लाख तारा’ को लोकप्रियतापछि परिवारको गर्जो टार्न कठिन भयो । उनी शिखरमा उभिइरहन नसक्ने भए । र सङ्गीतबाट विरक्त भई हार्मोनियम थन्क्याएर तरकारी खेती गर्ने मनसुबाले कालेबुङ झरे । यदि उनले थन्क्याएको हार्मोनियमको त्यो पङ्खा प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेले नचाइदिएका भए सायद अम्बर सङ्गीतका अम्बर नभई अरू नै केही हुन्थे ।
गोर्खा दुःख निवारक सङ्घ (जीडीएनएस) का काशीनाथ शर्माले नझकझक्याएका भए मुखिया पनि एउटा राम्रो शिक्षक हुन्थे होलान्, सायद तर ‘अनि देउराली रुन्छ’ का युगपरुष रङ्गकर्मी हुने थिएनन् कि !
र, वीरगञ्ज, त्रिजुद्ध हाइस्कुलका नामी फुटबलर भीमबहादुर महर्जनलाई छिर्के लगाएर उनको बायाँ खुट्टा नभाँचिदिएका भए तिनी आजका नेपाली आधुनिक सङ्गीतका विख्यात सर्जक भीमविराग हुने थिएनन् कि !
यसरी घटना, दुर्घटना र संयोगले बाटो मोडिदिएका यी साधकहरू त्यस साँझ सँगै थिए । फरक गुरुङ मञ्चमा अलग्गजस्ता देखिन्थे भने यी दुई, टाउको जोडेर गुरुङलाई सुनिरहेथे ।
वास्तवमा त्यो त्यस्तो खासै विलक्षण गायनको कार्यक्रम पनि थिएन । उमेरको उत्तराद्र्धमा हिँडिरहेका गुरुङ आफूले २६÷२७ को जल्दोबल्दो उमेरमा जोश र जाँगरका साथ गाएको ‘नौ लाख तारा उदाए’ गाउन सकिरहेका थिएनन् । बीचबीचमा गीतका पङ्क्तिहरू पनि भुल्थे र उनका चेला आभासले उनको स्वरमा स्वर मिलाएर उठाइदिन्थे । यो करिब एक दशकअघिको कुरा हो ।
तर त्यस साँझ अम्बर गुरुङको स्वर सुन्ने बहानामा भएको मुखिया र विरागको भेट अनुपम थियो । यी दुई महान् हस्तीहरू अर्को महान् हस्तीलाई साथ दिन त्यहाँ भेटिएका थिए ।
अरू पनि श्रोताहरू थिए । खचाखच हलमा अरू पनि नामका अनेकौँ शिरोमणिहरू थिए । सङ्गीत, साहित्य, समाजसेवा, राजनीति र विभिन्न विभागीय अधिकारकर्मीहरू पनि थिए त्यहाँ । तर मुखिया र विरागको तुलना कसैसँग हुनसक्तैनथ्यो ।
विडम्बना ! धेरैको ध्यान उनीहरूतिर गएको थिएन । ‘फलेको वृक्षको हाँगो झुके’ सरि यी दुवै एकदमै साधारण दर्शकजस्तो अपरिचित भएर पछिल्लो रहरमा चुपचाप बसिरहेका थिए । सायद कसैले अगाडि जाऊँ पनि भनेन् होला ।
दार्जिलिङबाट २०२६ सालमा राजा महेन्द्रले बोलाएर नेपाल प्रज्ञा–प्रतिष्ठानमा जागिर खान आएका गुरुङभन्दा ठ्याक्कै एक दशकपछि २०३६ सालमा दार्जिलिङबाटै जीविकाको खोजीमा मुखिया र वीरगञ्जबाट बसाइँ सरेर लामो समय हेटौडामा बिताएपछि रोगव्याधी र पत्नीवियोगले शिथिल भई जीवनको आखिरी दिनतिर काठमाडौँ छोरीकहाँ बस्न आएका विराग । यो अनौठो संयोग थियो, त्यस दिन एकैसाथ ‘आर’ शालामा भेटिनु ।
अम्बर र विराग अब पार्थिवरूपले इतिहास भइसके । झन्डै तीन दशकदेखि रङ्गमञ्चतिर नचिहाई बसेका मुखिया जीवित छँदै नेपाली रङ्गमञ्चको इतिहास भएका छन् ।
अब यो तस्बिर पनि आधा भएको छ । तस्बिरको अर्को छेउमा कालो हाफ ज्याकेट लगाएका, हात बाँधेर हलका मुस्कुराइरहेका भीम विराग पनि अब तस्बिरमा मात्र भेटिन्छन् ।
कोरोनाको कहालीमा त्यस दिन मैले फोनमा मुखियालाई सोधेँ– ‘यसअघि तपाई र भमिविरागको भेटघाट भएको थियो ?’ उनले भने– ‘उहाँको पलेटीमै कार्यक्रम हुँदा इन्टरभरलमा झुलुक्क भेट भएको थियो । नमस्कार आदान–प्रदानबाहेक खासै अरू कुरा भएनन् ।’
तर यस फोटोमा चाहिँ उनीहरूबीच लामै कुराकानी भयो होला भन्ने लाग्छ । तर देखिएजस्तो उनीहरूबीच खासै कुराकानी भएनछ । दुवै अप्लभाषी, शब्दहरू सुनारेले सुन तौलेजस्तो एमदमै तौलेर बोल्ने । । त्यसमाथि विरागलाई अलि बढी नै खोकी लागिरहेको थियो । उनले मुखियालाई खालि यति नै भनेछन्– ‘मलाई हिजोआज खोकीले बढ्दै च्यापिरहेछ ।’
‘हामी पुगेको केही समयपछि नै अम्बर गुरुङको कार्यक्रम सुरु भयो । गीत सुन्न गएका हामीमा भलाकुसारीबाहेक थप कुराकानी गर्ने अवस्था र अवसर पनि भएन’ मुखियाले फोनमा भने– ‘दोस्रो भने पनि आखिरी भने पनि यो नै हाम्रो अन्तिम भेट हुनपुग्यो ।’
र, त्योभन्दा पनि अझ महŒवपूर्ण र ऐतिहासिक कुरा त्यो भेट नै यी तीनै जनाको जीवनको अन्तिम भेट हुनपुग्यो ।