‘एकदम निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छन्, न भोलि हुनेछ ।’ यो २५०० वर्षअघिको बुद्घवाणि हो । कुरा थोरै छ, झट्ट हेर्दा साघारण जस्तो लाग्छ, तर संवेदित भएर एकछिन सोच्ने हो भने यो त्यत्तिकै गहिरो र त्यत्तिकै अर्थपूर्ण पनि लाग्छ । आज पनि यो वाणी उत्तिकै हृदयस्पर्शी छ । लाग्छ जीवन र जगत्को अस्तित्व रहेसम्म यो वाणी पनि अमर वाँचिरहन्छ । मानिस भन्ने बित्तिकै राग, द्वेष, मोह र तृष्णाले चारैतिर घेरिएको एउटा प्राणी हो भन्ने बुझ्नुपर्दछ । यो बन्धनबाट मुक्त नहोउञ्जेल मानिस आफैँले आफैँलाई चिन्दैन भने अरूलाई चिन्दछु अथवा बुझ्दछु भन्नु सरासर झुठ हो । शताब्दियौँअगाडिका हाम्रा प्राचीन ग्रन्थहरूले यो कुरा स्पष्ट भनेको छ– ‘राग बराबरको आगो अर्को छैन, द्वेष बराबरको शत्रु अर्को छैन, मोह बराबरको भ्रम अर्को छैन र तृष्णा बराबरको नदी अर्को छैन ।’ काग कराउँदैछ, पिना सुक्दैछ भने झैँ अहिले पनि त्यही छ । फरक मानिसको अनुहारको होला तर स्वभाव उही छ– उस्तै छ । बाहिरी आवरणको परिवर्तन हेरेर मानिसभित्र पनि आयो वा छ भन्नु वास्तवमै एउटा ठूलो भ्रम जस्तो लाग्छ । पहिले नभनेका कुरा सायद अहिले छैन, भन्नेले भन्यो– सुन्नेले सुन्यो, पढ्नेले पढ्यो तर एकै छिन यता फर्केर चिन्तन मनन गर्ने फुर्सद कसलाई कहाँ
हामी शताब्दियौँदेखि यही राग, द्वेष, मोह र तृष्णामा जेलिएर कसैको अन्धाधुन्द प्रशंसा गरिरहेछौँ या कसैको निन्दा । हामी कहिल्यै निराग्रह भएर सोच्न सकेनौँ, र सायद परम्परागत धारणाबाट अलिकति पनि मुक्त हुने साहस आपूmभित्र जन्माउन सकेनौँ । निरन्तर हामीले अरूकै विचार र सडकलाई पछयायौँ र आफ्नो ठान्यौँ । अनि युगयुगदेखि फगत शरणार्थाी मनमा उभिएर बाँच्यौँ । सायद हामीले कहिल्यै सोचेनौँ– जतिसुकै सम्पन्नतामा पनि केही अभाव त बाँचेकै हुन्छ । त्यसरी नै जस्तोसुकै पीडादायी विपन्नतामा पनि केही आशा र विश्वास बाँचेकै हुन्छ । मलाई लाग्छ यो नभइदिएको भए यो दुनियाँको रोचकता र रहस्य उहिल्यै समाप्त भइसक्ने थियो । सम्पन्नता र विपन्नताभन्दा महŒवपूर्ण कुरा त जीवन–जगत्बीचमा जेलिएको अनन्त रोचकता र रहस्य नै हो । प्रत्येकले भोग्ने जीवनका स्वाद उस्तैउस्तै लागे पनि अनुभूतिमा फरक–फरक छ । यो भिन्नता नैं मलाई लाग्छ प्रत्येक चेतनशील जीवनको वाँच्नुको आफ्नो मौलिकता हो भने सँगसँगै यही नै व्यापक, विराट् र विशाल जगत्को तिलस्मी रहस्य पनि हो ।
चेतनासँगै चिन्ता छ, कल्पनासँगै भावुकता छ । बुद्घिसँग तर्क र शानसँगै वैराग्य बाँचेको छ । प्रत्येक मानिस देख्नमा जति सहज र साधारणरूपमा देखिन्छ, क्रमशः ऊ भित्र पस्दै जाने हो भने बल्ल थाहा हुन्छ– त्यो साधारण र सहज देखिने मान्छे कति असहज र असाधरण अवस्थामा बाँचेको छ । आदिमदेखि अहिलेसम्म मानिस असङ्ख्य आफ्नै इच्छाहरूको दास भएर उभिएको छ । साँच्चि नै मान्छे आफ्ना महŒवाकाङ्क्षाहरूका तरङ्गमा झुन्डिएर बाँच्नुको नाउँमा कति ठूलो विवशता छटपटाइरहेछ । यो छटपटी, यो विवशता–सृष्टिका अरू प्राणीहरूमा छैन, मानिसमा मात्र किन ? यो प्रश्न सत्ययुगदेखि अहिले कलियुगसम्म निरुत्तर नै छ । यो प्रश्नको उत्तर अन्त छैन, हामी भित्रै छ, तर के कहिल्यै हामीले निसङ्कोच आफ्नो आत्मलाई सोध्यौँ
जीवन चाहे भौतिक सम्पन्नताले परिपूर्ण होस् अथवा आध्यात्मिक सम्पन्नताले भरिपूर्ण– तैपनि जीवनमा केही न केही विपन्नता त बाँकी नै हुन्छ । जीवनको पूर्णता भन्नु नै सायद अपूर्णतामाथि उभिएर निरन्तर प्रयत्न गर्नु हो र पूर्णता प्राप्तितिर लम्कनु हो । स्वच्छ विचार, स्वस्थ चिन्तन र पवित्र भावना एवं विवेकका साथसाथै आफ्नो ध्येयसम्म पुग्ने अटुट साहसबिना मानिस असाधारण व्यक्तित्वको धनी हुन सक्तैन । मानिसमा निरन्तर कर्मको आग्रह हुनुपर्छ– फल स्वतः प्राप्त हुन्छ । फलको आग्रहमा गरिने यावत कर्म निःस्वार्थ हुँदैनन् । ‘कर्म गर तर फलको आशा नगर’ यो गीतावाणी अहिलेको होइन । कर्मले नै मानिसलाई कर्मठ बनाउँछ । कर्मठ व्यक्ति कहिल्यै अरूको दासता स्वीकारेर बाँच्दैन । मानव लक्ष्य या उद्देश्यको कुनै निश्चित उचाइ र सिमाना छैन । राम, कृष्ण, वुद्घ, इशु आदि महापुरुषहरू पहिले त मानिस नै हुन् । उनीहरूको सत्कर्म र सत्विवेकले तिनीहरूलाई समयले साधारण मानवबाट महामानव बनाउँदै ईश्वरीय व्यक्तिŒवमा अवतरण गरायो । कुनै पनि कामलाई पूजाका रूपमा लिनुपर्छ र लक्ष्य छुँदा ईश्वर छुँदैछु भन्ने भावनामा तन्मय हुनुपर्छ, र सायद जीवनको सार्थकता टडकारो होला ।
अहिले एउटा बालक या बालिकालाई सोध्नुहोस्– ‘नानी तिमी पछि के बन्छौं ?’ उसको सहज उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, वकिल, पाइलट आदिआदि । तर म राम्रो मान्छे बन्छु, एउटा पूर्ण मान्छे बन्छु, एउटा असल मान्छे बन्छु– उसले कहिल्यै भन्दैन । मान्छे बिग्रिएर, भित्रभित्रै भत्किएर, चर्किएर अथवा समष्टिमा अनास्था र अन्धविश्वासभित्र उभिएर जे बने पनि के हुन्छ ? मानिसको मन साँच्चिकै मानिसकै नबनेसम्म के हुन्छ ? सबैभन्दा पहिले त मानिस मानिस नै बन्नुपर्छ । त्यसपछि जे बने पनि हुन्छ– काङ्ग्रेस, कम्युनिस्ट, हिन्दू, मुस्लिम, क्रिश्चियन, डाक्टर, र्इिन्जनियर, वकिल, पत्रकार, साहित्यकार, कलाकार आदि जे बने पनि हुन्छ ।