समाचार

धनगढी, आषाढ २९ र सुदूरपश्चिमाञ्चल साहित्य समाज र कैलाली जनपुस्तकालयको संयुक्त आयोजनमा धनगढीमा २०९ औं भानुजयन्ती मनाइयो । धनगढी चौराहदेखि शुरू भएको प्रभातफेरीमा र्यालीका सहभागीहरूले कैलाली जनपुस्तकालयको प्रांगणमा रहेको भानुको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाकक्षमा भानुजयन्ती समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र राज्यमन्त्री टेक बहादुर रैकाले डडेल्धुरा बगरकोट निबासी जयराज पन्तको “मनुस्मृति सार रे श्रीमद्भागवद् महात्म्य यसैमीहितकी कुरडी”नामक कृति र तीन जना गायकहरू हेमन्ता भट्टराई, बालगायकहरू सुप्रिम मल्ल, प्रियङ्का शर्माको तीज गीत एलबम संयुक्त रूपमा लोकार्पण गरे ।
भानु जयन्तीकै अवसरमा साहित्य समाजले आयोजना गरेको “आदिकवि भानुभक्त र नेपाली भाषाको वर्तमान अवस्था” शीर्षकको निबन्ध प्रतियोगितामा थ्रीस्टार बोर्डिङ स्कुलका सञ्चित भट्ट प्रथम, प्रविनचन्द धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय द्वितीय, टिनु जोशी पञ्चोदय माध्यमिक विद्यालय तृतीय, मृदुल जोशी ऐश्वर्य विद्या निकेतन सान्त्वना, रोशन खड्का शरदा माध्यमिक विद्यालय सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विजेता प्रतितोगीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।
कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टी एन जोशीले स्वागत मन्तव्य गरेका थिए । साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई संचालन समाजका महासचिव गणेश नेपाली गरेका थिए । कविहरू धर्मराज जोशी, सिर्जन श्री, प्रतिभा राना र जेम्स एकेडेमी स्कुलका विद्यार्थीहरूले कविता वाचन गरेका थिए । चित्रकला पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा विगतको परम्पराकै निरन्तरताको रूपमा सुदूर पश्चिमाञ्चल साहित्य समाजमा विभिन्न सात्यानुरागी, साहित्य प्रेमीहरूले आफ्नो र आफ्ना प्रियजनका नाममा स्थापना गरेका अक्षयकोषबाट दिइने १३ वटा पुरस्कारका लागि सिफारिस भएका स्रष्टाहरूको नाम सिफारिस गरी घोषणा गरेको छ ।
१,११,१११ राशिको बद्री-कृष्णा वाङ्गमय पुरस्कार नेपालगञ्ज, बाँकेका सनत रेग्मीलाई प्रदान गरिने भएको छ । त्यस्तै एक लाख रूपैयाँ राशिको प्रभास राज्यलक्ष्मी कृति पुरस्कार ‘अग्नि’ महाकाव्यका लागि डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । यसैगरी २५ २५ हजार रूपैयाँ राशिको श्रीलोचन साहित्य पुरस्कार भारतको असमका साहित्यसेवी डा. जगन्नाथ उपाध्याय र भारतको सिक्किमकी मीना सुब्बालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
२५ हजार रूपैयाँ राशिको जयराज पन्त लोक साहित्य पुरस्कार कैलालीका डा. बद्री शर्मा बिनाडी, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार कैलालीका मिहिलाल उपाध्याय र तिलकबहादुर सिंहलाई प्रदान गरिने भएको छ । देवकान्त पन्त लोक साहित्य पुरस्कार ९२५ हजार काठमाण्डौंकी दिव्यश्वरी जोशीलाई प्रदान गरिने भएको छ ।
यसैगरी झापाकी सुमन घिमिरे र नेपालगञ्जकी कल्पना खरेललाई १२ हजार ५०० राशिको गणेश स्मृति हेमन्ती साहित्य पुरस्कार प्रदान गरिने भएको छ । यस्तै १५ हजार राशिको विष्णुदास यज्ञ साहित्य पुरस्कार पाल्पाका डा. शंकर गैरेलाई प्रदान गरिने भएको छ ।
२५ हजार रूपैयाँ राशिको सकराम-ईनिता-भीम साहित्य पुरस्कार सिक्किमकी अप्सरा दहाल र काठमाडौँकी गीता रेग्मीलाई प्रदान गरिने भएको छ । बाजुराकी रेखा जोशी तथा डडेल्धुराका उमेश मायालुलाई जनही २५ हजार रूपैयाँको जसुदा संगीत पुरस्कार प्रदान गरिने भएको छ भने जसुदा शिक्षा पुरस्कार स्व. तर्कराज जोशीलाई प्रदान गरिने भएको छ । यस्तै जसुदा समाजसेवा पुरस्कार काठमाडौँकी अनुराधा कोइरालालाई प्रदान गरिने भएको छ । यस्तै जसुदा साहित्य पुरस्कार चितवनकी शान्ति शर्मा र हेटौँडाकी शान्ति प्रियवन्दनालाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कार विश्व नेपाली नारी साहित्य महोत्सवको उद्घाटन हुने दिन फागुन ५ गते अर्पण गरिने जारी विज्ञप्तिमा जनाइएको छ ।