• २०८२ असार २९ आइतबार

नगेन्द्रराज नेम्बाङको ‘स्वस्थ जिन्दगीको सान’ कृति लोकार्पण

काठमाडौं ।

लेखक तथा मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङ ‘नेम्बाङ मामा’को ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक कृति सार्वजनिक भएको छ । विकाशानन्द फाउन्डेसन मनोक्रान्ति विश्व परिवार काठमाडौं र मनोक्रान्ति टिम युकेको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा मनोक्रान्ति प्रशिक्षण कार्यक्रममा सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् बैरागी काइला, मनोक्रान्ति द्रष्टा तथा दार्शनिक डा. योगी विकाशानन्द, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, लेखकका पिता कुबेरसिंह नेम्बाङ र लेखक नेम्बाङले लोकार्पण गरेका हुन् । दुई दशकदेखि मनोक्रान्ति अभियानमा संलग्न नेम्बाङको यो पहिलो कृति हो । नेम्बाङको यस कृतिभित्र योग, ध्यान र साधनाबाट मानवीय स्वास्थ्य विषयलाई लिएर विभिन्न १ सय ४० वटा शीर्षकका लेख समेटिएका छन् ।

बैरागी काइलाले मनोक्रान्ति मौलिक दर्शन भएको बताए। योगी विकाशानन्दले सैनिक जीवनमा बन्दुक समातेका व्यक्तिले कलमका माध्यमबाट मनोक्रान्ति साहित्य सिर्जना गर्नु नौलो भएको बताए । लेखक नेम्बाङले पुस्तक बिक्रीबाट प्राप्त रकमलाई नेपालमा अपांगता व्यहोरिरहेका नागरिकको सेवामा समर्पण गर्ने घोषणा गरेका थिए। पुस्तक ३ सय १२ पानाको रहेको छ भने तीन सय रुपैयाँ बिक्री मूल्य रहेको छ । पुस्तक विमोचन समारोहलगत्तै डा।योगी विकाशानन्दले मनोक्रान्ति प्रशिक्षण सञ्चालन गरेका थिए ।