• २०८१ भाद्र २७ बिहीबार

आत्मा शान्ति

रवीन्द्रनाथ पोखरेल

रवीन्द्रनाथ पोखरेल

मेरा किस्मती बाजे बराजु
या त मानवता र आध्यात्ममा
विश्वास राख्ने दूरदर्शी योद्धाको
कला, दर्शन, सिद्धान्त विचार र ज्ञान
जे मानौँ सार निर्देश यही दिए कि
यदि
साधु सन्त योगी महात्मा हौ त
तिमीले सातपुस्ता जोर्नु निस्सार छ
किनकि !
भोलि नै तिम्रो अवसान हुँदैछ भने
के अर्थ तिमी निसन्तान निष्ठुरी
नपुंसक लाई कमाउनु र थुपार्नुको ?

ऊ तिमीले मागि खाने ती तिम्रा
झोलीका देवता हुन्
हो ! दैनिकी बनाऊ र पाउमा झुक
किन ! अर्धमासका बर्षहरूमा मात्रै
गोरखनाथ जगाई आर्तनादको
भिक्षादान मागेर पेटभरि
रमिता देखाउने गर्छौ लाज छोप्ने गर !

यद्यपि तिमी ठूऽऽलो हुनु छ
तिमीले आमा बचाउनु छ सोच्छौ
पवित्र आत्माले भने
बिहान साँझ निर्धाको झुप्रोले
धुँवाको मुस्लो धुरीले फ्याँक्नु पर्छ
इतिहास हेर भूपतिन्द्र मल्लको चलन
टाढा उत्तर दक्षिण तिर्थयात्रा किन गर्नु ?
सम्वृद्धीको खानी त
जोगाई दिएकै छन्
बारम्बार उनिहरूले भनेकै छन्
सुन्दैनौ मात्र तिमी कर्णकान्त बहिराले
या परचक्रीको बैशाखी टेकेर बाँच्ने तिमीले !
इतिहास लेख्ने वीरता पढत
देखाएर छोडेका छन् नासो बुझाएर
सिकाएरै गएका हुन् कत्ति छिटो भुल्छौ !
या लाज देखाएर पचाइ दिन्छौ सजिलै
पुर्खाले त ठूलो त्याग गरे कि
रगत पसिना बगाए !
ज्यान फाले देशको निम्ति

हो ! तिमी ठूऽऽलो हुन राष्ट्र चाहिन्छ
तिमी सत्ताभोग गर्न तिनै निर्धा र
नाङ्गा भोका बेसहाराहरू बाँच्नु पर्छ !
सुख शान्तिको भोक खाएर
नदेखाउनु कहिल्यै छिमेकीलाई
तिम्रो सत्ता अनिकालको लाज
यो राष्ट्र र जनता बन्धकमा राखेर

गर्छौ सक्छौ भने भने
कृषि क्रान्ति गर
औधोगिक क्रान्ति गर
सामाजिक क्रान्ति गर
धार्मिक र सांस्कृतिक क्रान्ति गर
छुवाछूत र दलित विरूद्धको क्रान्ति गर
अन्धविश्वास विरूद्धको क्रान्ति गर
भ्रष्टाचार विरूद्धको क्रान्ति गर

गर शुरू आफैँबाट आँट गर
छाउपडी, झुमा, कुमारी, दाइजो प्रथा र
महिला हिंसा विरूद्धको क्रान्ति गर
सामन्त बिरूद्ध र जिम्वाली जमिन्दारी
प्रथाको क्रान्ति गर
गर तिमी जनचेतना र
आधुनिकताको क्रान्ति
आधुनिकताको नाममा
विकृति विरूद्धको क्रान्ति गर
शोषक र शोषण विरूद्धको क्रान्ति गर
हो ! रचनात्मक क्रान्ति गर
अहिंसा र शान्तिको क्रान्ति गर
दर्शन र विचारको क्रान्ति गर
देशमा अमन चयन र
सुशासनको क्रान्ति गर
जनताले फेरि पनि साथ दिनेछ

अहँ ! नसोच कदापि कि
अब हिजो छद्मभेषी झुठ र
हत्याको क्रान्ति गर्ने अधिकार
तिमी कसैलाई छैन
यो विश्वव्यापी मानव अधिकार
प्रत्याभूति गर्ने अहिंसाको दुनियाँ हो
राष्ट्र र जनताको जनताको
आध्यात्मिक र मानवीय
धर्मको युग हो
समग्रमा जगत कल्याण युग हो

अब जनतालाई हिजोको
अग्नि ज्वाला र हत्याको
क्रान्तिमा होम्ने प्रपञ्च कसैले
नगरे हुन्छ सावधान हुनु पहिल्यै !

किनकि ! अब सबभन्दा पहिले त
कमान्डर मारिने छ होशियार !
रोल्पा, रूकुम, झापा, मोरङका क्रान्ति
निहत्था गरिब, गुरू चेला मजदुर
हलिया, गोठाला, कमैया वा
गरिब किसान माथि अब
गोली बारूद बम बन्दुकले !
काटमारको क्रान्ति गर्नु छैन्
तिम्रा सपनाका सात पुस्तेसम्म
अपराधको डामले पोल्नेछ
तिमी कुरूक्षेत्रमा ढुकुढुकी छँदै
जल्ने छौ ख्याल गर पहिल्यै

हो ! पूर्वजले जे गर्नु गरे सबै गरे
देश र जनताको अस्तित्व जोगाए
जति गर्नु र मर्नु त उनकै पालामा
दुश्मनसँग भोक तिर्खा, निद्रा बिर्सेर
लडे मरे, बाचे कोही अपाङ्ग भै
तिम्रै लागि भनी त्यागे
निलडाम हेर्ने गर त
नालापानीको रणभूमि
जिउँदै छ अझै पनि
नेपालको इतिहास र
पहिचान जोगाएर गए
सलाम छ वीर पुर्खा प्रति

उनको पालाको दुःख
तिमीले गर्नु छैन
मात्रै स्वाभिमानी पुर्खाका सन्तान
भनी छाति च्यातेर देखाउने
हिम्मत र साहस गर
छिमेकी दुष्टप्रति
किन ! राष्ट्रसँग नुन साट्ने
भरिया बन्छौ ?
हो ! आजै देखि नाङ्गो
लाज छोप्ने गर

तिम्रो धर्म भनेको गरिबको
प्राण रक्षाको निम्ति मात्रै
दाना पानी चाहाराको मुहान !
देखाई देउ पसिना पोख्ने
ठाउँ र बास देउ हुन्छ !
उनको लाज त जसो तसो
छोप्छन् नै सीप र कलाका
पारखी छन्
यदि तिमी भित्र मानवताको
धर्म यदि छ भने मात्रै पनि पर्दैन
पशुपति, गुम्बा, मस्जिद चर्च धाउन !
त्यो पनि पर्दैन कि ! पश्चिमा
होली वाइनको मात धोक्न !
भैंसी पुजा र देवी भाक्न पनि !
आध्यात्मले कहिल्यै भन्दैन कि
भौतिकता र प्रकृतिमा
विश्वास राख्छ धर्म त्यहीँ
भेटिन्छ ईश्वर साथमा !

निहत्था प्राणीको मौलोमा
पासा किन थाप्नु ?
सत्ता र स्वार्थको मोहको
भाकल गरेर
हो ! नगरी देऊ कुकर्म तिमी
मौकामा चौका दाउ परेपछि
कठै ! ति निर्धामा उपेक्षा, घृणा र
तिरस्कार !

किनकि !
जनता सँधै तिम्रा आशाका
मुना पालुवा हुन
तिम्रो सान र सिंगो देशको धरोहर मान
मुठ्ठी भित्र माटोको अङ्गरक्षक सम्झ
यो देशका मालिक भनेकै जनता हो !
अब नेता हुनुछ भने
आफूलाई दास मान
तिम्रो महानता, त्याग, धर्म,
जनताको निस्वार्थ सेवा गर्नु मै छ

मान
सीमा साँधका पहरेदार
तिम्रा तृष्णाका देव
त्यसैले त तिम्रा ईश्वर हुन
हो ! नित्य ढोग गर तिमीले
सम्झ त कठै ! उनको भोकमा
तिमी प्रतिको अगाध समर्पण र
श्रद्धा सद्भावको भाव

हो ! यो देश शिरमा राखेर
जनताको शपथ खाऊ
यो छाती तिम्रा हृदयका
ढुकढुकी हुन्
जब जनताको भावनाले
सुख सम्वृद्धीको अनुभूति गर्ने छ
तब न यो देश बुद्धको शान्तिमा
रमाउने छ कालान्तर
युग युगान्तर सम्म !
जनताले त्यही शान्ति
पर्खिरहेको छ
तिम्रा बाजे बराजुको
भौतिकता छैन
यद्यपि !
जब यो देश र जनताले
शान्तिको सास फेर्ने छन्
तब उनको आत्माले
शान्ति पाउने छ !!!!!


रवीन्द्रनाथ पोखरेल, देबचुली न.पा., नवलपरासी
[email protected]