समाचार

दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आज आयोजित एक कार्यक्रममा शङ्कर आख्यान पुरस्कारबाट आख्यानकार नारायण ढकाल, कुमार सरस्वती पुरस्कारबाट प्रा.डा.दयाराम श्रेष्ठ तथा चूडामणि व्याकरण कोश पुरस्कारबाट शरच्चन्द्र वस्ती पुरस्कृत तथा सम्मानित भएका छन् ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व तथा वरिष्ठ लेखक तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तीनै जना स्रष्टाहरूलाई प्रमुख अतिथि रोचक घिमिरेले भादगाउँले टोपी र फूलको माला लगाइदिएर नगद थैली र सम्मानपत्र समेत समर्पण गरेका हुन् । शङ्कर आख्यान पुरस्कार तथा कुमार सरस्वती पुरस्कारको राशि रू २५०००/– रहेको छ भने चूडामणि व्याकरण कोश पुरस्कारको राशि रू ५११११/– को रहेको छ ।
प्रमुख अतिथिको मन्तव्यमा घिमिरेले उमेरका हिसाबले आफ्ना अनुजहरूलाई सम्मानित गर्न पाउँदा अत्यन्त खुसी लागेको र गर्वको महसुस गरेको बताए भने आख्यानकार नारायण ढकालको ’शोकमग्न यात्री’ यात्रा संस्मरणबाट आफू ज्यादै प्रभावित भएकोले ’रचना’ पत्रिकामा सो संस्मरणबारे सम्पादकीय नै लेखेको उल्लेख गरे । त्यसैगरी शरच्चन्द्र वस्ती भाषा,साहित्य र व्याकरणमा ज्यादै सचेत रहेकोले भाषा साहित्यलाई जीवन्त राख्ने कुरामा नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा व्याकरणशास्त्रका अग्रज चूडामणि गौतमको नाउँको पुरस्कार पाउन योग्य भएको बताए ।
प्रा. डा. दयाराम श्रेष्ठ लेखनमा ज्यादै इमान्दार,लगनशील अनि गहिरो र गम्भीर अनुसन्धान, खोज र अन्वेषणपछि मात्र लेख्ने एक विशिष्ट गुण भएको समालोचक भएको प्रष्ट्याउँदै यस्ता दिग्गज स्रष्टाहरूलाई सम्मान गर्न पाउनु आफ्नो अहोभाग्य भएको कुरा घिमिरेले बताए । साथै, प्रमुख अतिथि घिमिरेले चूडामणि व्याकरण कोश पुरस्कारको नाउँमा भाषा समेत थप गरी चूडामणि भाषा व्याकरण कोश पुरस्कार राख्न सुझाव दिएका थिए । पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू नारायण ढकाल, दयाराम श्रेष्ठ तथा शरच्चन्द्र वस्तीले आ–आफ्नो लेखन यात्रा, संलग्नता र अनुभव एवम् अनुभूतिका बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।
पुरस्कारका संस्थापकहरूका तर्फबाट भाषा एवम् व्याकरणविद् चूडामणि गौतम तथा शङ्कर कोइरालाका सुपुत्र सुनील कोइरालाले पनि पुरस्कार स्थापनाका बारेमा आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तका विदेशमा रहेका छोरा विज्ञान पन्त तथा उषा पन्तले प्रतिष्ठानका लागि केही रकम आफ्नो तर्फबाट उपलब्ध गराएर अर्को कुनै एउटा पुरस्कारको व्यवस्था गर्न लागेको जानकारी गराएका थिए ।
कार्यक्रमको समापन गर्ने क्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले प्रतिष्ठानको गतिविधि,कार्यक्रम र भावी योजना बारे प्रकाश पार्दै आज पुरस्कृत स्रष्टाहरूको सम्मानबाट प्रतिष्ठान स्वयम् सम्मानित भएको महसुस गरेको र प्रतिष्ठानले सदैव यसैगरी माया पाइराख्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा. भागवत ढकालले सम्मानित व्यक्तित्वहरूको छोटो परिचय,जीवनी र लेखन यात्रा बारे बोलेका थिए भने प्रतिष्ठानका सदस्य लेखप्रसाद निरौलाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा व्याकरणविद् चूडामणि गौतमद्वारा लिखित ’बाफरे जिन्दगानी’ र ’शुद्ध नेपाली लेख्ने यसरी’ नामक दुई पुस्तक, त्यसैगरी रामप्रसाद पन्तद्वारा लिखित ’मौनविद्रोह’ कथा सङ्ग्रह र ’मिसावट’ लघुकथा सङ्ग्रह तथा ’दायित्व मासिक’ को पूर्णाङ्क १४४ को पनि विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन तथा धन्यवाद ज्ञापन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए ।