उहाँ केही नबोली भित्र आउनुभयो ।
त्यस बेलासम्म उहाँका दुवै हात पिठ्यूँपछाडि थिए । मेरोसामुन्ने आएर उहाँले केही बेर मलाई टकटकी बाँधेर हेर्नुभयो र असहाय भावले टाउको दायाँबायाँ हल्लाउनुभयो अनि बिस्तारै पिठ्यूँपछाडिबाट हात अगाडि ल्याउनुभयो । मैले देखेँ, उहाँको दाहिने हात रित्तो थिएन ।
उहाँको हातमा त्यो पिस्तोल थियो, जुन मैले हजुरबुबाको स्टडीको दराजमा देखेको थिएँ ।
फुपूले पिस्तोलकै सहायाताले मलाई बस्ने इसारा गर्नुभयो । म केही पछाडि हटेर बेडसँगैको कुर्सीमा थचक्क बसेँ । फुपू ढोकाछेउमा भएको कुर्सीमा बस्नुभयो । उहाँको पिस्तोल भएको हात मतिर तेर्सिएको थियो तर उहाँको अनुहारमा कुनै स्पष्ट भाव थिएन ।
‘किन फुपू, के आवश्यकता थियो यो सबको ?’ मैले थरथराउँदै फेरि सोधेँ ।
‘गल्ती भयो मबाट !’ फुपूले बिस्तारै भन्नुभयो– ‘मेरो मुखबाट बेध्यानमै न्यूरोटक्शिन ड्रग्सको कुरा निस्कियो, जुन यतिबेला पटक्कै सान्दर्भिक थिएन ।’
‘तर किन फुपू ? यो सबैको के आवश्यकता थियो ?’ मैले अवसादपूर्ण स्वरमा फेरि दोहोर्याएँ ।
‘मेरो जिन्दगीमा कुनै पनि चीजको आवश्यकता भएको सायद कसैले महसुस नै गरेन…,’ प्रत्युत्तरमा मानौँ उहाँले मसँग होइन, आफैसँग भन्नुभयो– ‘तेरो बाउको र मेरो उमेरमा सायद चालीस मिनेटको पनि अन्तर थिएन तर बा (मेरा हजुरबुवा) को भेदभावले हामीमाझ सयौँ वर्षको दूरी बढाइदियो । प्रद्युम्नले पनि त्यो दूरी कम गर्न कुनै प्रयत्न गरेन । ऊ पनि बुझ्ने भएदेखि नै बालेझैँ आफूलाई त्यस घरको सर्वेसर्वा र मलाई पराईघरको नासो मान्न थालिसकेको थियो ।
हुन पनि त्यस घरमा उसका लागि हरेक चीज अभाइलेबल थिए, इच्छाएको भरमा प्राप्त हुने । प्रद्युम्न घोडा चढ्न सिक्न चाहन्थ्यो भने तुरुन्तै घोडा किनिन्थ्यो । तर त्यही कुरो मेरा लागि हुँदैनथ्यो । किनभने म छोरी थिएँ । कुरा जहाँ र जेको उठोस्, म र प्रद्युम्नको बीचमा भेदभाव अवश्य हुन्थ्यो । यही कारणले बिस्तारैबिस्तारै प्रद्युम्न मेरो लागि भाइभन्दा धेरै प्रतिद्वन्दी बन्दैगयो । मेरो मनमा हरेक क्षण उसलाई जित्ने, ऊभन्दा अगाडि हुने होड चलिरहन्थ्यो । तर बाको विभेदले गर्दा मैले सधैँ हार्नुपर्दथ्यो । म पढाइमा ऊभन्दा तेज थिएँ तर बाको नजरमा त्यसको कुनै मूल्य थिएन । म खेलकुदमा पनि उसलाई जित्दथेँ तर छोरी भएकै कारण म खेलकुदमा भाग लिन सक्दिनथेँ । बिस्तारैबिस्तारै मेरो मनमा बा अनि प्रद्युम्नप्रति घृणा उब्जँदै गयो । जुन त्यति बेला एकदमै तीव्र भयो, जब स्कलरशिप पाएर पनि म विदेश जान पाइनँ । जब कि प्रद्युम्नलाई बाले खर्च भरेर बेलायत पढ्न पठाउनुभयो…।’
फुपूको अनुहार बिस्तारैबिस्तारै विकृत हुँदैगयो । उहाँ मेरो पछाडि कहीँ शून्यमा हेर्दै बडबडाइरहनु भयो– ‘बाको भेदभावले मेरो मनमा उम्रिएको घृणाको बोट विशाल वृक्ष बनिसकेको थियो म जवान हुँदासम्ममा । भाइ र बाप्रतिको मेरो त्यही घृणा–भावले मलाई घरभन्दा टाढा, र मलाई पढाउने टिचरसँग नजिक बनाउँदै गयो । दिनप्रतिदिन म मदन सरसँग नजिक हुँदैगएँ । खुसी होस् या आँसु, दुःख होस् या सुख म उहाँसँगै बाँड्दथे, किनभने घरमा मेरो सुनिदिने कोही थिएन । बाको बिजनेसको व्यस्तताबाट उब्रिएको समय एक्लो छोरोको अघिपछि र उसको फर्माइस पूरा गर्नमै सकिन्थ्यो । मेरा लागि उहाँसँग केवल बन्देज र परहेजबाहेक अरू केही छँदैथिएन । त्यसैले म मदन सरसँग नजिक, अझ नजिक हुँदैगएँ । उहाँमै त्यो खुबी थियो, जसले मभित्र गुम्सिएर विकृत हुँदैगएको घृणालाई बुझ्नुहुन्थ्यो । मेरो पीडा महसुस गरेर मलाई हौसला दिने कोसिस गर्नुहुन्थ्यो । सम्झाइबुझाई गर्नुहुन्थ्यो । म उहाँविना, उहाँभन्दा पर आफ्नो जिन्दगीको कुनै कल्पना गर्न सक्दैसक्दिनँ थिएँ । म बयान गर्न सक्दिनँ, कति कष्टकर थिए ती दिनहरू मेरा लागि ? प्रद्युम्नका ठूलाभन्दा ठूला गल्ती पनि बा देखेको नदेख्यै गर्न सक्नुहुन्थ्यो अनि मबाट अञ्जानमै भएको गल्ती पनि अक्षम्य अपराध बन्न पुग्दथ्यो । यस्तोमा जब बाले मेरो र मदन सरको सम्बन्धको बारेमा थाहा पाउनुभयो, उहाँले मेरो नर्सिङ्को पढाइ नै बन्द गराइदिनुभयो । घरबाट बाहिर निस्कन दुर्लभ गराइदिनुभयो । म कति रोएँ । कति हात जोडेँ । माफी मागेँ तर बाको मन पगाल्न सकिनँ । यहाँसम्म कि प्रद्युम्नलाई बेलायतमा चिट्ठी लेखेर बालाई मनाइदिन बिन्ती गरेँ । तर उसले पनि मेरो लागि केही गरेन ।’
फुपू एकैछिन रोकिनुभयो, लामो सास तान्नुभयो र भन्नुभयो– ‘घरमा काम गर्नेको सहायताले मदन सर र मेरो चिट्ठीद्वारा कुराकानी हुनेगर्दथ्यो । उहाँ मलाई सबै कुरा छोडेर आफ्नो साथमा आउन आग्रह गरिरहनुहुन्थ्यो । मलाई नपाए ज्यान दिने कुरा दोहर्याइ रहनुहुन्थ्यो । तर म बाको राजीखुसीले नै उहाँको हुन चाहन्थेँ…।’ फुपू यसपटक निक्कैबेर चुप लाग्नुभयो । उहाँका आँखामा आँसु त थिएन तर स्वरमा गहिरो पीडा थियो । मैले एकटकले उहाँको अनुहारमा हेरिरहेँ ।
‘मैले लगभग एक वर्ष बाको नजरबन्दमै बसेर काटेँ । बाले मेरो बिहे गर्नका लाीग केटा खोजेर ठीक्क पारेको थाहा पाएपछि सहिनसक्नु भएर मैले बासँग झगडा गरेँ । बाले रिसले आँखा देख्नुभएन । उहाँले मलाई बाहिरको बाटो देखाइदिनुभयो । भन्नुभयो– ‘घर–सम्पत्ति, मान–सम्मान चाहिन्छ भने मैले खोजेको केटासँग बिहे गर, होइन भने लगाएको एकसरो लुगामा मेरो घर छोडेर जा, रोजाइ तेरो…।’ फुपूले दाह्रा किट्नुभयो– ‘कत्रो घमण्ड थियो उहाँलाई आफ्नो सम्पत्तिको ? कत्रो विभेद यौटै कोख चिरेर जन्मिएका छोरा र छोरीमा ? के हुन्थ्यो उहाँको त्यो छोरो नै नरहे ? यो धन–सम्पत्ति नै नरहे ? म सोचिरहन्थेँ । छटपटाइरहन्थेँ ।
‘कति सजिलै उहाँले मलाई बाहिरको बाटो देखाउन सक्नुभयो ? यो सोचेर आज पनि रिसले पराकाष्ठा नाघ्छ मेरो । आज पनि घृणा जाग्छ तेरो बाउ र मेरो बाप्रति ।’ उहाँले केही बेर रोकिएर मलाई हेर्नुभयो ।
बाहिर मानौँ आकाश रित्तिने गरी बर्षिरहेको थियो । यस्तो लाग्थ्यो– फुपूको यस रूपसँग प्रकृति पनि तर्सिएको थियो । म भगवानसँग प्रार्थना गरिरहेँ– उहाँको ध्यान कुरामै अल्झिरहोस् ।
‘त्यसपछि मैले बासँग केही भनिनँ । उहाँसामु रोइकराइ गरिनँ । तर मदन सरलाई झुटो आश्वासन दिइरहेँ ।’ फुपूले बोल्न सुरू गर्नुभयो– ‘मेरो बिहे हुनुभन्दा केही दिनअघि बा बिजनेसको कामले कतै निस्कनुभयो । मैले सुटुक्क मदन सरलाई घरमै बोलाएँ…।’ उहाँको स्वर स्वप्निल भयो– ‘पूरा दुई दिन मैले मदन सरलाई घरमै लुकाएर राखेँ । चुपचाप, एकएक सेकेन्ड एकअर्काका भावना साटेर, एकअर्काको अँगालोमा बितायौँ हामीले । दुई दिनपछि झुटो आश्वासन र भरोसाको भारी बोकाएर मैले मदन सरलाई फिर्ता पठाएँ । अनि… अनि एकदिन मदन सरलाई पत्तै नदिई, बाको जिद्दीमा, बाले खोजेको केटाको साथमा थुप्रै दाइजो, सान, सम्मान अनि अथाह पीडा, अनगिन्ती आँसु अनि बा र प्रद्युम्नप्रति असीमित क्षोभ र घृणा लिएर म यस घरबाट बिदा भएँ ।’ फुपूले अनायस आँखामा भरिनआएको आँसु पुछ्नुभयो । उहाँको अनुहारको गहिरो पीडाभावले मलाई त्यस स्थितिमा पनि उहाँप्रति सहानुभूति अनुभूत गराइरहेको थियो ।
‘त्यसपछि पनि स्थिति सामान्य भएको भए म सबै बिर्सिदिन्थेँ सायद…।’ उहाँले भन्नुभयो– ‘तर मेरो जिन्दगीमा सामान्य घटना हुन लेखेकै थिएन । बिहे भएको राती मैले इमानदारीपूर्वक मेरो कथित लोग्नेलाई आफ्नो र मदन सरको सम्बन्धको बारेमा बताउन कोसिस गरेँ । तर उसले मलाई उछिनेर निर्लज्ज स्वरमा मेरो मजाक उडाउँदै भन्यो– ‘मलाई थाहा छ । तर… तर मलाई त्यो सबसँग केही लिनु–दिनु छैन किनभने मैले तँसँग होइन, तेरो बाउको सम्पत्तिसँग बिहे गरेको हुँ ! मैले त कुवेरमानको ढुकुटी, मान–सम्मान र पहुँचसँग पो बिहे गरेको हुँ ।’ उसको निर्लज्जताले मेरो सारा शरीरको रगत उम्लियो । मैले त्यही बेला त्यो घर छोडेर निस्कने अठोट गरेर उठेँ तर उसले मलाई निस्कन दिएन ।’ फुपूको आँखामा घृणाको राँको बल्यो ।
मैले घडी हेरेँ । प्रभो ! फुपूको कुरा सकिनुपहिल्यै वासु र कमल आइपुगून् । म लगातार प्रार्थना गरिरहेको थिएँ ! तर के, वासुले मेरो कुरा बुझ्न त बुझ्यो ? ‘थापाथली’ को मेरो तात्पर्य हाम्रो यो अभिशप्त घर भन्ने उसले नबुझेको भए त भगवानै मालिक थिए मेरो !
मैले बारम्बार घडी हेरिरहेको देखेर फुपूले भन्नुभयो– ‘सुनेर जा बाबु ! नत्र माथि पुग्दासम्म खुल्दुल भैरहला तँलाई । सायद त्यही खुल्दुलीकै कारणले गर्दा नै मेरो यतिका कोसिसपछि पनि तँ माथि पुग्ननसकेको पो होस् कि ?’ फुपूको ओठमा हिंस्रक मुस्कान उदायो । उहाँको अनुहार यति विकृत देखियो– उहाँको उद्देश्य जानेदेखि पहिलोपटक मलाई फुपूदेखि डर लाग्यो । हे परमात्मा ! मेरो कुरा वासुको कानसम्म पुर्याइदेऊ ! म डरले कहालिँदै भगवान भाकिरहेँ ।
‘बाले मेरा लागि खोजेको त्यो खानदानी केटा बगरेभन्दा कम थिएन । ‘जुठै सही, पुरै सही अब हकवाला म भएपछि चाखेर त हेर्नैपर्यो’ भन्नेजस्ता दुर्वाच्य वक्तै ममाथि जाइलाग्यो । मेरो शरीरलाई चाहेजसरी भोगिरह्यो तर मैले केही गर्न सकिनँ । मेरो मनमा भने घृणाको आगो दन्किरह्यो । म बालाई, तेरो बाउलाई सरापिरहेँ । उनीहरूको समेत त्यो लोग्ने भन्ने नरपिसाचको त्यसै बेला मृत्युको कामना गरिरहेँ । तर मेरा त्यसअघिका अरूअरू कामनाझैँ त्यो कामना पनि पूरा भएन ।
भोलिपल्ट पनि उसले मेरो शरीरसँग खेल्दै कुनै खुसीको खबर सुनाएझैँ गरी मदन सरले आत्महत्या गरेको खबर सुनायो ।’
उहाँले असहाय भावले टाउको हल्लाउनुभयो । मलाई लाग्यो उहाँका आँखाबाट आगोको ज्वाला निस्किरहेको छ । तर यसपटक जब उहाँ बोल्नुभयो, उहाँको स्वरमा अनौठो वेदना थियो– ‘मलाई कुनै आश्चर्य लागेन । न त आँखामा आँसु नै आयो । त्यसबेला यस्तो लाग्यो– मानौँ मैले त मदन सरलाई मृत्युदण्ड दिएर उनको मृत्यु स्वीकारेर नै डोली चढेथेँ । म हलचल नगरी लासझैँ लडिरहेँ, अनि ऊ मदन सरको मृत्युको, उनको झुन्डिएर मर्नुको मजाक उडाउँदै मेरो शरीरसँग मनमानी गरिरह्यो । कति ठूलो सजाय दिएर गएथे मदन सरले मलाई, मेरो लाचारीको ? जुन बेला कुनै अधम पुरुष, उनले माया गरेको, पुजेको, चुमेको शरीरसँग खेलबाड गरिरहेको थियो, त्यही बेला चुनेका थिए उनले घाँटीमा पासो लगाएर आफूलाई सिध्याउन ।’
‘फू…फुपू…।’ मेरो शरीर, स्वर मात्र काँपेन, शरीरका सबै रौँ ठाडा भए । एकै क्षण मैले आफ्नो डर पनि बिर्सिएँ । कति बीभत्स सत्य ! जसलाई सुनेर मेरो आत्मासम्म काँप्यो, त्यसलाई भोगेर आएकी फुपूको हालतको कल्पना मैले गर्न सकिनँ ।
‘कसरी बिर्सन्थेँ म ती सबै अन्याय, अत्याचार, जुन बाले ममाथि गर्नुभएको थियो ? केले बिर्साउन सक्दथ्यो मलाई त्यो बीभत्स घटना ? आँखाअगाडि नघटे पनि त्यो दृश्य मेरा आँखाबाट कहिल्यै मेटिन सकेन । मैले मदनको सरको मृत्युको जिम्मेवार पनि बालाई नै मानेँ ।
‘छ महिना बासँग, मेरो लोग्ने भनाउँदोसँग, प्रद्युम्नसँग अनि आफैसँग घृणा गर्दै बित्यो । माया, दया, चाहना र इच्छा भन्ने कुनै कुरा मभित्र कहीँ बँचेका थिएनन् । केवल घृणा र प्रतिशोधबाहेक अब मभित्र केही बाँकी थिएनन् ।
मेरोवरिपरिका हरेक अनुहार, हरेक सम्बन्धसँग असीमित घृणा गर्थें म । अनि यी घृणाका सबै पात्र–पात्रालाई सजाय दिनु अब मैले आफ्नो जीवनको एक मात्र अभीष्ट ठानेकी थिएँ ।
‘यसैबीच प्रधुम्नले आफ्नो जातभन्दा बाहिर गएर एउटी राणाकी छोरीलाई मन परायो । बाले उसको मनपराइ, उसको इच्छालाई आफ्नो स्वीकृतिको मोहर लगाएर मभित्र दन्किरहेको घृणाको ज्वालालाई पराकाष्ठामा पुर्याइदिनुभयो । मैले आफ्नो पेटमा भएको बच्चाको कसम खाएर प्रतिज्ञा गरेँ– म यो घरका कसैलाई खुसी हुन दिने छैन, कसैलाई सुख र चैनसँग बाँच्न दिने छैन । जब मेरो सुख र खुसीको कसैले पर्वाह गरेनन् भने म किन अरूलाई खुसी र सुखी हुने मौका दिऊँ ?
‘मेरो लोग्ने म गर्भवती हुनुसँग पनि खुसी थिएन । ऊ मसँग बारम्बार सोध्दथ्यो– ‘के यो बच्चा मेरै हो ?’ म उसलाई जवाफ दिँदादिँदा, सफाइ पेस गर्दागर्दा यति आजित भएँ– एकदिन मैले उसलाई सधैँका लागि चुप लगाउने अठोट गरेँ । जसलाई बच्चाको अस्तित्वमाथि नै शङ्का थियो, त्यस मान्छेलाई के हक थियो ‘बाउ’ कहलाउने, अनि त्यो बच्चा ‘मेरो’ हो भनेर गर्वित हुने ?
‘त्यस दिन ऊ कतै बाहिर हिँड्न ठीक्क परेको थाहा पाएर मैले उसको घोडालाई यति धेरै भाङ पिँधेर चनासँग मोलेर खुवाएँ, घोडा लगभग बहुलायो । त्यस्तो घोडा चढेर हिँडेको मान्छे सकुशल घर फर्कने त प्रश्नै थिएन । साँझ क्षतविक्षत हालतमा उसको शरीर घर फर्कियो र सीधै श्मशानमा गएर विश्राम पायो ।’
‘फुपू….!’ मैले आतङ्कित भावले उहाँलाई हेरेँ तर उहाँ बोलिरहनु भयो– ‘मदन सरको मृत्युमा त नझरेको आँसु, उसको मृत्युमा झर्ने त प्रश्नै थिएन ।
‘विवाह भएको नौ महिनामै पतिको मृत्यु हुनुको जिम्मेवार मलाई मानेर उदयका बाबुआमा र दाजुहरूले मलाई काठमाडौँ ल्याएर बालाई बुझाएर फर्के । मेरो उदय र उसको घरसँगको सम्बन्धमा यसरी पूर्णविराम लाग्यो– फेरि कसैले फर्केर मेरो खोजखबर गरेन । म फेरि बाकै जिम्मेवारी र बोझ बन्न पुगेँ ।
‘म यस घरमा फिर्ता आएको दुई–तीन महिनापछि प्रद्युम्न पनि बेलायतबाट फर्कियो । मैले सुदर्शनलाई जन्म दिएँ ।
‘बा अब त्यति धेरै बोल्नु हुन्नथ्यो । प्रद्युम्न पनि मेरोअगाडि पर्न हिच्किचाउँथ्यो । एकाध महिना यस्तो लाग्यो– मेरो दुःखमा उनीहरू पनि दुःखी छन् । उनीहरूलाई दुःखी देखेर मलाई अनौठो शान्ति अनुभूत हुनेगर्दथ्यो । यस्तो लाग्थ्यो– म भित्र दन्किरहेको घृणाको आगोमा कसैले पानी छम्केर मत्थर बनाइदिएको छ । केही शीतलता अनुभूत गर्थें म । तर फेरि प्रद्युम्नको विवाहको उत्साहले उनीहरूलाई त्यस उदासीबाट बाहिर निकाल्यो ।
‘उनीहरू बडो धुमधामसँग बिहेको तयारीमा लागे । म फेरि उनीहरूको प्रायोरिटी लिस्टको अन्त्यमा थन्किएँ । मेरा लागि यो यत्रो विशाल दरबार जत्रो घरको परिधि समेटिएर मन्दिर, भान्सा र यही एउटा कोठामा सीमित हुनपुग्यो । आउने–जानेहरू म विधुवालाई त्यो शुभकार्यभन्दा टाढै राख्ने सल्लाह दिन्थे । अनि बाजस्तो प्रभावशाली र हकी व्यक्ति, प्रद्युम्नजस्तो बेलायतबाट पढेर आएको मान्छे ती सल्लाहहरूप्रति सहमति जनाउँथे, जसले गर्दा मेरो सेलाएको रगतलाई फेरि उमाल्थ्यो । मभित्र घृणा र प्रतिशोधको आगो फेरि दन्कन्थ्यो । तर त्यतिबेला मैले गर्नसक्ने केही थिएन !
‘तेरी आमा तारा बडो धुमधामसँग यस घरमा भित्रिई ।
‘हुन त मलाई ऊसँग कुनै गुनासो थिएन । बिचरी मलाई असाध्यै मान्थी । सायद अनाश्रित विधुवा मानेर केही बढ्तै सहानुभूति राख्दथी ममाथि । तर बा र प्रद्युम्नको खुसीले धपक्क बलेको अनुहार देखेर मेरो मन कुँडिइरहन्थ्यो । अमिलो भैरहन्थ्यो । म प्रयत्न गरिरहन्थेँ– कसै गरी म उनीहरूको अनुहारबाट त्यो खुसी पुछेर विवशताको कालो रङ पोतिदिऊँ ।
‘म चाहन्थेँ प्रधुम्नले नगरे पनि बाले सुदर्शनलाई आफ्नो कलेजोमा टाँसेर राखे हुन्थ्यो । आफ्ना गल्तीको प्रायश्चित्तस्वरूप उसलाई र प्रद्युम्नलाई आफ्नो सम्पत्तिमा बराबरको भाग लगाएर दिए हुन्थ्यो । त्यसैले पनि म अत्यधिक माया गर्दागर्दै पनि बा, प्रद्युम्न र ताराको अगाडि सुदर्शनलाई सधैँ गाली गर्ने, सराप्ने र पिट्ने गर्दथेँ ता कि सुदर्शन बाको नजिक हुनसकोस् । तारा र पद्युम्नको सहानुभूति जितोस् । अर्को, मलाई यो भ्रम पनि थियो– म जसलाई माया गर्छु, मन पराउँछु त्यो मबाट टाढा हुन्छ । यही भ्रमले गर्दा मैले सुदर्शनलाई आफूबाट टाढा धकेलिरहेँ । तर अहँ, मैले जेसुकै गरे पनि बाले मेरो कुनै इच्छा पूरा हुन दिनुभएन । त्यसमाथि प्रकृतिले पनि मलाई कहिल्यै साथ दिएन ।
‘प्रद्युम्न र ताराको विवाहको एक वर्षमै तँ जन्मिइस् । कुवेरमान प्रधानको वंश चलाउने वारिस जन्माएवापत ताराको मान यस्तरी बढ्यो– उसको मर्जीविना यस घरमा पात पनि हल्लन छोड्यो । बा घर र ढुकुटी तारालाई सुम्पेर रिटायर्ड हुनुभयो । प्रद्युम्न छोरोको बाबु भएर यस्तो गर्वित भयो– उसको टाउको दुई इन्च अझै उचालियो । किन ? के मैले छोरा पाइनँ ? फेरि किन प्रद्युम्नको छोराको आगमनले मेरो छोरा उपेक्षित हुनपुग्यो ? किन उसबाट त्यो काख खोसियो, जसमा उसको पनि त्यत्तिकै हक थियो, जति तेरो थियो ? बा हरघडी तँलाई च्यापेर ‘तारा’, ‘तारा’ भजिरहनुहुन्थ्यो । प्रद्युम्नको त कुरै छोडौँ ! ऊ त ताराको सम्मोहनमा यस्तरी चुर्लुम्म डुबेको थियो– तारा र तेरोपछाडि उसको लागि यो सृष्टि समाप्त भएको थियो मानौँ । यस्तोमा म र मेरो छोराप्रति चासो राख्ने को ? पहिलेझैँ मैले सुदर्शनलाई गाली गर्दा, पिट्दा बा र प्रद्युम्न उसको बचाउ गर्न आउँदैनथे । न मलाई सम्झाउँथे । हद भए बा सुदर्शनलाई त्यहाँबाट लैजान धनबहादुरलाई अह्राउनुहुन्थ्यो, बस…!’ फुपू एकैछिन अडिनुभयो । म जडवत् उहाँलाई नै हेरिरहेँ ।
विचित्र भावले मलाई हेर्दै उहाँले बिस्तारै भन्न सुरु गर्नुभयो– ‘स्थिति यस्तो हुँदैगयो– मेरो सहनशक्तिले सीमा नाघ्यो । असमान व्यवहार झेलेर, प्रद्युम्न र आफूबीचको फरकको विष पिउँदै, दुःखैदुःख ओछ्याएर, ओढेर बाँचिरहेकी मैले उनीहरूको खुसी झेल्न असमर्थ पाएँ आफूलाई । तर यो खुसी उनीहरूबाट खोस्ने कुनै साधन र माध्यम थिएन मसँग । म पागलजस्तै आफैँसँग सवाल–जवाफ गरिरहन्थेँ । यस परिवारलाई तहसनहस गर्ने उपाय खोजिरहन्थेँ । यस्तोमा अचानकै एकदिन मेरो दिमागमा एउटा नाम झङ्कृत भयो– तारा । आखिर तारा नै त खुसीको केन्द्र थिई यस घरमा ? यदि ऊ नै नरहे…?’
‘फू…फुपू…!’ म थररर कापेँ ।
‘अनि…अनि एकदिन प्रद्युम्न घरमा नभएको बेला, राती खानासाना खाएपछि, तँलाई लिएर बा आफ्नो कोठामा पसिसकेपछि म सुटुक्क प्रद्युम्नको सुत्ने कोठामा उक्लिएँ । जरुरी कुरा गर्ने बहानामा उसलाई कौसीमा लगेँ अनि..अनि…।’ अचानक उहाँको अनुहारमा परम् सन्तुष्टिको भाव फैलियो । उहाँले मेरा आँखामा हेरेर क्रूर स्वरमा भन्नुभयो– ‘मैले आरामसँग उसलाई तीनतला माथिबाट तल धकेलिदिएँ ।’
‘हे परमात्मा !’ म कहालिँदै उठेँ । तर फुपूले पिस्तोलको नालको इसाराले मलाई हलचल नगर्न इसारा गर्नुभयो ।
‘कसरी ? कसरी सक्नुभयो तपाईंले यौटी निरअपराध आमालाई त्यसरी उसको काखको सन्तानसँग अलग गर्न ? मेरी आमाले त तपाईंको केही बिगार्नुभएको थिएन ? हे भगवान ! क..कसरी सक्नुभयो तपाईंले एउटी निर्दोषको त्यसरी हत्या गर्न ?’ मैले आँसु पुछ्दै भनेँ ।
‘यहाँ…!’ उहाँले दाहिने हातमा भएको पिस्तोलको नालले आफ्नो मुटुनजिक छोएर दाह्रा किट्दै भन्नुभयो– ‘घृणाको, प्रतिशोधको आगो दन्केको हुनुपर्छ अनि… अनि बल्ल थाहा हुन्छ मान्छेले केसम्म गर्छ र गर्नसक्छ भनेर ? आमाको गर्भबाट त म यस्तो जन्मिएकी थिइनँ नि ? तर बाको पक्षपात र भाइको बेवास्ता, अहङ्कारले मलाई यो प्रतिशोध लिन विवश गरायो । आखिर किन मैले त्यो सब पाउन सकिनँ, जुन प्रद्युम्नले सहजै पायो ? छोरी भएर जन्मनुमा मेरो अपराध थियो र ? यो त प्रकृति र विधिको विधान थियो भने सजाय मलाई किन ? किन उसको गलत पनि सही अनि मेरो सही पनि गलत ? किन बाको नजरमा मेरो दुःख हलुका, प्रद्युम्नको दुख गरूङ्गो ? किन छुट्टाछुट्टै असर मेरो र प्रद्युम्नको दुःखाइमा ? किन भेदभाव मेरो छोरा र उसको छोरामा ? मैले पनि त ताराले झैँ नौ महिना कोखमा राखेर, कोख चिरेर जन्म दिएकी थिएँ सुदर्शनलाई ? तर पनि किन उसले बाको उति नै स्नेह र उति नै काख पाउन सकेन जति तैंले पाएको थिइस् ? किन ? यस्ता सयौँ हैन, हजारौँ, लाखौँ ‘किन’ अनुत्तरित थिए मसँग र आज पनि छन् । त्यसैले तेरो एउटा ‘किन ?’ को उत्तर दिन म आवश्यक ठान्दिनँ । म त बस्, बाको, प्रद्युम्नको अनुहारको खुसी पुछ्न चाहन्थेँ र त्यो ताराको मृत्युपछि यस्तरी पुछियो– उनीहरूको अनुहारमा त्यसको नामनिसान बाँकी रहेन । प्रद्युम्न त मानौँ पागल नै भयो । उनीहरूको पीडा, छटपटाहट र व्याकुलता देखेर मलाई यस्तो लाग्यो, मानौँ मेरो मदन सरको आत्माले शान्ति पायो ।
‘एकपटक फेरि यस घरको शासन व्यवस्था मेरो हातमा आयो । यसलाई फेरि अरू कसैको हातमा जान नदिन दृढप्रतिज्ञ थिएँ म ।’ फुपू एकछिन अडिनुभयो, चुपचाप आँसु बगाइरहेको मलाई हेर्नुभयो अनि फेरि तिरस्कारपूर्ण स्वरमा भन्नुभयो– ‘तर मेरो कतिकै कोसिसपछि पनि सुदर्शनले तेरो ठाउँ लिन सकेन । ताराको मृत्युपछि त झन् बा र प्रद्युम्न दुवैको सम्पूर्ण ध्यान तैँमाथि केन्द्रित भयो । दुवै पागलझैँ तेरै अघिपछि लागिरहन्थे । उनीहरूको तँप्रतिको आसक्ति देखेर मलाई तँप्रति पनि घृणा उब्जन थाल्यो । मैले कैयौँपटक तँलाई चोट पुर्याउने कोसिस पनि गरेँ तर बा र प्रद्युम्नले तँलाई कहिल्यै एक्लै छोडेनन् । कहिलेकाहीँ झुक्किएर तँ एक्लै भैहालिस् भने पनि धनबहादुर या सुदर्शन तँसँगै हुन्थे, नत्र…।’ उहाँ विचित्रभावले मुस्कुराउनुभयो । म अवाक्, उहाँको अनुहार हेरेर यही सोचिरहेँ– सधैँ आमासमान मानेर सम्मान गरिएकी, माया गरिएकी, एक्ली अवला आइमाई मानेर दया गरिएकी, सुरक्षा दिइएकी अनि आफ्नै बाबुकी दिदी, परिवारको आदरणीय सदस्य मानेर श्रद्धाका साथ खुट्टामै ढोग्ने गरिएकी स्त्री यति हृदयहीन अनि हिंस्रक कसरी हुनसक्छे ?
स्त्रीलाई बुझ्न कति कठिन ! मैले जीवनमा पाँचवटी स्त्रीको नजिक हुने मौका पाएँ । यी पाँचै जनाका स्वभाव र स्वरूप फरक थिए । फुपू, सुप्रिया, श्रेया, बिन्ती र सुभद्रा । स्वास्नीमान्छे सुप्रिया हुनसक्छे मैले मानेँ, श्रेया हुनसक्छे ठीकै छ, बिन्ती अनि सुभद्रा पनि हुने रहेछन्, मैले भोगेर जानेँ । तर फुपू ? फुपूजस्ता स्वास्नीमानिस पनि हुन्छन् र यो संसारमा ? यो मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो । कुनै किताबजस्तै पाना, दरपाना, लाइन, बाइलाइन अनि अक्षर–अक्षर पढेर कण्ठस्त गरे पनि स्त्रीलाई बुझ्नसक्ने महापुरुष सायद यस संसारमा जन्मेकै छैनन् । मलाई यस्तो भान भइरहेको थियो– स्त्रीविना आफूलाई अपूरो मान्ने पुरुषलाई नै सायद यो थाहा छैन कि उसलाई पूर्णता, सम्पूर्णताको अनुभूति गराउने यौटी स्त्रीभित्र कतिवटी स्त्रीको स्वरूप लुकेको हुन्छ ! कोमल, कठोर, नम्र, दुष्ट, मनमोहिनी, घृणित, आदरणीय, शालीन, चरित्रहीन अनि फुपूजस्ता हत्यारा पनि ? के स्त्रीलाई बुझ्न, जान्न एउटा मात्रै जीवन काफी छ र ? मलाई लागेन । किन यति फरक थिए यिनीहरू ? स्वास्नीमानिसबीचको यो फरक कसको देन थियो आखिर ? परमात्माले नै उनीहरूलाई फरकफरक बनाएका थिए या मेरा हजुरबुवाजस्ता बुवाजस्ता, मजस्ता, सुदीपजस्ता, रमेशजस्ता पुरूषहरू यो फरकको जिम्मेवार थियौँ ? यदि हामीजस्ता कुनै पुरूष यस समाजका महिलाहरूलाई फुपूजस्तै फरक बनाउन जिम्मेवार छौँ भने, उनीहरूले पाउने सजायमा हामीहरू पनि बराबरको भागीदार भएनौं र ?
‘तेरो भाग्य बलियो रहेछ…।’ फुपू भन्दै हुनुहुन्थ्यो– ‘नत्र तँ पनि उहिल्यै बा, तारा र प्रद्युम्नसँगै हुन पुगिसक्थिस् ।’
‘म किन फुपू ? मैले त सधैँ तपाईंलाई आमासरह नै मानेँ…।’
‘जुन घृणा, जुन प्रतिशोध तेरो हजुरबाउ, मेरो बाउले मेरो छातीमा रोपेर गए त्यसलाई संसारको कुनै शक्तिले मेटाउन सकेन भने तेरो के कुरा ? जब मैले प्रद्युम्न र बालाई त छोडिनँ भने तेरो के कुरा…?’
‘फु….फुपू…!’
‘… केही वर्षमै उनीहरू फेरि सम्हालिए…,’ उहाँले तिरस्कारपूर्ण भावमा फेरि भन्न सुरु गर्नुभयो– ‘प्रद्युम्नले सारा ध्यान व्यापारमा लगायो अनि बाले तँमा । म चाहन्थेँ उनीहरू सधैँ दुःखी रहून्, लाचार रहून्, छटपटाइरहून् अनि मेरो अधीनमा रहून् । तर होइन, उनीहरू त हरेक चोट र पीडाबाट उत्रिए । तेरा स–साना उपलब्धिमा खुसी खोजेर सन्तुष्टि अनुभूत गर्न थाले । जुन म कदापि चाहन्नथेँ । यहाँसम्म कि बाले सारा हिसाब–किताब फेरि आफैँ राख्न सुरु गर्नुभयो ।
‘तँ ठूलो हुँदैगइस् अनि म लाचार भएर टुलुटुलु हेरिरहेँ । फेरि एक दिन तैँले सुप्रियासँग विवाह गर्ने निर्णय गरिस्, जसको कसैले विरोधसम्म गरेन । त्यो मेरो सहनशक्तिको पराकाष्ठा थियो । के उनीहरूको विरोध, आपत्ति केवल मेरा लागि मात्र थियो ? यो घरमा उही हक र उस्तै भाग्य लिएर प्रद्युम्नसँगै जन्मेकी मलाई बाले र भाइले कहिल्यै खुसी, सुखी र सन्तुष्ट हुन दिएनन् भने म उनीहरूलाई खुसी, सुखी हुन किन दिऊँ ? त्यसपछि मैले प्रद्युम्नलाई खानामा ड्रग मिसाएर खान दिएँ…।’
‘फुपू…!’ मैले अर्तनाद गरेँ ।
‘मेरो दुःख पनि तेरोभन्दा सानो थिएन बाबु !’ फुपूले अवसादपूर्ण स्वरमा भन्नुभयो– ‘यौटै घरमा जब दोस्रो दर्जाको व्यवहार सहेर बाँच्नपर्छ– तब माया, ममता, लगाव र आफ्नोपनजस्ता भावना हिउँ बनेर जमिदिन्छ । रगत रातो रहँदैन । चिसो, सेतो रगत नशानशामा यसरी दौडन्छ– कुनै कोल्टे चैन लिन दिँदैन । र यो बेचैनीको निदानका लागि मैले उनीहरूलाई सिध्याउनै थियो, जो यसका कारक थिए । नत्र मेरो मोहन सरको आत्माले कसरी विश्राम पाउँथ्यो ? मेरो हरघडी छटपटाइरहने मनले कसरी चैन पाउँथ्यो ?’
‘कसरी थाहा थियो तपाईंलाई यस्तो अनयुजल ड्रग्सको बारेमा ? यति असाधारण ड्रग्ससम्म तपाईंको पहुँच कसरी भयो ? कहाँबाट… ओह !’ म बोल्दाबोल्दै चुप लागेर आँसु पुच्छन थालेँ ।
फुपूको अनुहारमा यौटा क्रूर मुस्कान उदायो । उहाँले भन्नुभयो– ‘दिमागÞ भएको मान्छे होस् र पनि तैँले मेरो प्लान जान्न सकिनस्…।’
‘आमासरह मानेको मान्छेको यो रूप पनि हुन्छ– सोच्नै सकिनँ ।’ मैले अफसोचपूर्ण स्वरमा भनेँ–‘मेरा निर्दोष आमा–बुबाको हत्या गरेर…।’
‘हजुरबुबालाई बिर्सिस् ।’ फुपूले यसरी भन्नुभयो मानौँ त्यो उहाँको कुनै उपलब्धि थियो– ‘ड्रग्सको बारेमा रिसर्च गरेर जाने पनि त्यो ड्रग्ससम्म पहुँच बनाउनु मेरा लागि सम्भव थिएन । यहाँनेर डाक्टर महत मेरा लागि बडो काम आए । उनको मद्दतले मैले यो विशेष ड्रग प्राप्त गर्न सफल भएँ ।
‘साधारणतया यस ड्रगको प्रभावबाट मरेको व्यक्ति हृदयघातबाट मरेको पुष्टि हुन्थ्यो ।’
‘बस गर्नूस्…!’ म चिच्याएँ– ‘कुनै पशुले पनि गर्ननसक्ने कुरा, तपाईंले कसरी त्यति सजिलैसँग गर्न सक्नुभयो ?’
‘न रहला बाँस, न बज्ला बाँसुरी..’ यही मेरो प्रतिशोध थियो । मेरा बाउका लागि मैले तोकेको सजाय ।’ उहाँले दाह्रा किट्नुभयो । त्यसबेला उहाँको अनुहार यति क्रूर र हिंस्रक देखिन्थ्यो– मलाई उहाँसँग आँखा जुधाउनसमेत डर लाग्यो ।
‘प्रद्युम्नको मृत्यु मेरो बाउका लागि श्मशानतिर उठेको लगभग अन्तिम कदम नै सावित भयो । उहाँले हाँस्न त के मुस्कुराउनसमेत बिर्सिनुभयो । योे त्यही बेला थियो, जब उहाँले यो घर, केही जग्गा र अलिअलि सेयरहरू मेरो नाउँमा गरिदिनुभयो । मलाई जायजेथाले भन्दा बाको लाचारी र पीडाले बढी सन्तुष्टि दियो । त्यसबेला सम्भवतः उहाँले पनि महसुस गर्नुभयो– असहाय हुनु, वियोगमा डुब्नु र एक्लो हुनुको मतलब के हुन्छ ?
‘त्यसपछिका मेरा केही दिन चैनसँग बिते । तर फेरि अचानक मैले थाहा पाएँ– बाले यो घर मेरो नाउँबाट तेरो नाउँमा सार्दै हुनुहुन्छ । सेयर र अरू जग्गा त सार्ने प्रोसेस सुरू गरिसक्नुभएको रहेछ ! कुन्नि किन उहाँले अचानक आफ्नो निर्णय फेर्ने मन बनाउनुभयो ? सायद उहाँलाई मेरो कुनै व्यवहार वा कुरामाथि शङ्का लाग्यो या डाक्टर महतसँगको मेरो घनिष्ट सम्बन्धको बारेमा उहाँले थाहा पाउनुभयो, कारण जेसुकै भए पनि एकपटक फेरि मलाई र मेरो छोरालाई सबै कुराबाट वञ्चित गर्न तयार हुनुभयो उहाँ । तर म किन त्यसो हुनदिन्थेँ ? मैले आफ्नो टाउकोमाथि झुन्डिएको यो खतरालाई सधैँका लागि हटाउने निधो गरेँ ।’ मैले त्रसित भावले उहाँको अनुहारमा हेरेँ । उहाँले दाँत बाँधेर भन्नुभयो– ‘उहाँले भोलिपल्ट कवीन्द्रराज कँडेल र कमललाई घरमा बोलाउनुभएको रहेछ त्यस सम्बन्धमा कुरा गर्न । त्यसैले त्यो रात, जब तँ र सुप्रिया बाहिर गएका थियौ, म बाको कोठामा गएँ अनि….अनि सबिस्तार मैले आफ्ना सारा घृणा र आक्रोश उहाँसमक्ष यसरी खन्याएँ–उहाँले सहन गर्न सक्नुभएन । आफ्ना अति प्रिय छोरा र बुहारीको मृत्युको जिम्मेवार मलाई पाएर उहाँको अनुहारमा असीम वेदना र पीडा यस्तरी पोतियो– मेरो मन तृप्त भयो । यही त्यो अनुहार थियो, जहाँ अहङ्कारसिवाय केही थिएन, जुनबेला उहाँले मलाई लगाएको एकसरो लुगामा घर छोड्ने आदेश दिनुभएको थियो । यही त्यो अनुहार थियो, जहाँ मेरो मदन सरको मृत्युमा अलिकति सहानुभूति अनि दया पलाएन । यतिखेर त्यस अनुहारमा पीडा, दुःख, अविश्वास र लाचारीबाहेक अरू केही थिएन । उहाँ छटपटाउँदै उठ्न खोज्नुभयो तर सक्नुभएन । बोल्न खोज्नुभयो तर पीडा र क्रोधका कारण उहाँको गलाबाट राम्ररी आवाज पनि निस्कन सकेन । ‘कुलङ्घार, वंश विनाशिनी’ यिनै शब्द थिए उहाँको मुखबाट बडो सकसका साथ निस्केका, जुन अन्तिम सावित भए । छाती थामेर आँसु बगाइरहेका, छटपटाइरहेका, उठेर खुट्टा टेक्न असमर्थ बाको टाउकोसम्म सिरक ओढाएर, कोठाको बत्ती निभाएर, ढोका ढप्काएर म आफ्नो कोठामा आएँ ।
‘भोलिपल्ट बिहान धनबहादुरले चिया लिएर जाँदा बा शरीर यहीँ छोडेर परलोक पुगिसक्नुभएको थियो– मेरो मदन सरको सामु, उसैका कारण पाएको सजाय भोगेर…।’ उहाँले चुप लागेर मतिर हेर्नुभयो तर मैले टाउको उठाइनँ । चुपचाप आँसु पुछिरहेँ । मसँग कुनै शब्द नै थिएन बोल्नका लागि । अझ म त उहाँको बीभत्स अनुहारमा हेर्न नै डराइरहेथेँ । थाहा छैन यस्तो कठोरता र यति धेरै घृणा कहाँ लुकेको थियो उहाँको त्यो सौम्य देखिने व्यक्तित्वभित्र ? त्यो कोमलता, स्नेह र आशिष पनि अभिनय हुनसक्छ र ? तर सायद स्वास्नीमानिसको विशेषता नै यही हो कि उनीहरू जे हुन्छन्, त्यो देखिँदैनन् अनि जे देखिन्छन,् त्यो हुँदैनन् ।
‘डाक्टरले आएर ‘ब्रेन ह्यामरेज’ ले बाको मृत्यु भएको घोषणा गर्यो ।’ उहाँ भनिरहनुभएको थियो– ‘तर मलाईजति कसलाई थाहा थियो–बाले मसँग गर्नुभएको विभेद र फरक व्यवहारका बारेमा मैले सुनाएको सत्य सहन गर्न सक्नुभएन भन्ने ।’
‘कस्तो सत्य फुपू ?’ म नबोली रहन सकिनँ–‘तपाईंले हजुरबुवालाई जे सुनाउनुभयो त्यो नै उहाँको मृत्युको कारण बन्यो । कुन बाबुमा त्यो मुटु हुन्छ कि उसले आफ्नो सन्तानलाई हत्यारा, ज्यानमाराको रूपमा देख्न सकोस् ? त्यो पनि आफ्नै भाइको र भाइकी पत्नीको हत्या ? फुपू तपाईंले हजुरबुबालाई सत्य होइन, मृत्युदण्डको घोषणा सुनाउनुभएथ्यो अनि…!’
‘मलाई कुनै अपसोच छैन ।’ उहाँले मेरो कुरालाई पूरै बेवास्ता गर्दै ढुक्कसँग भन्नुभयो– ‘म कुनै जन्मजात ज्यान मार्ने उद्देश्य लिएर आएको थिइनँ । बाकै व्यवहारले मलाई यस्तो बनायो । प्रद्युम्नमा जस्तै बाले ममा पनि अमृत भर्नुभएको भए म त्यही फिर्ता गर्थें तर उहाँले त विषबाहेक अरू केही उम्रनै दिनुभएन मभित्र । पक्षपातको विष, भेदभावको विष ! यौटै गर्भबाट एकै समयमा जन्मेका सन्तानका बीचमा फरक, अनि त्यही सबै त फिर्ता गरेँ मैले उहाँलाई ? ब्याजसहित । यसमा मेरो के दोष ? मैले जे गरेँ त्यसमा मलाई कुनै पश्चात्ताप छैन । अपसोच त यसमा छ– तँ यतिखेर यहाँ मेरो घिल्तिर छस् । साक्षात् । साँच्चै नै बलियो भाग्य लिएर आएको रहिछस्, जब्बर रहिछस् । तेरो बाउलाई दिएको भन्दा बढी डोज ड्रग मैले तँलाई ख्वाएथेँ, तर तँ अपाहिज मात्र भइस् । अनि तँलाई अझै ख्वाउनका लागि मसँग ड्रग्स थिएन । उपलब्ध गराउने डाक्टर पाहुना लाग्न अर्को दुनियाँमा पुगिसकेको थियो । अरू कुनै उपायले तँलाई मार्ने मेरो प्लान यसकारण पनि तुहियो– तेरो रेखदेखका लागि घरमा नर्स आई ।’
मैले आश्चर्यपूर्वक उहाँतिर हेरेँ । उहाँ मन्दमन्द मुस्कुराउनुभयो । अनि मलाई हेर्दै भन्नुभयो– ‘सुप्रिया त तेरो कुनै पर्वाह गर्दिनथी तर नर्स ? ऊ साह्रै असल थिई । तँलाई एकछिन एक्लै छोड्दिन थिई । उसको उपस्थितिले मलाई बारम्बार ताराको झल्को दिन्थ्यो । ऊ तेरो यसरी ख्याल राख्थी, जसरी कुनै आमाले राख्छन्, निष्ठावान पत्नीले राख्छन् । त्यसमाथि रहेसहेको कसर धनबहादुरले पूरा गरिदिन्थ्यो । त्यसैले तँलाई माथि पठाउने प्रोग्राम स्थगित गर्नुपर्यो मैले ।’
‘त…तर किन फुपू ? त्यतिका समय चुप बस्नुभएको तपाईंलाई अचानक मलाई जलाएर मार्न कुन कुराले उक्सायो ? के गल्ती भयो मबाट ? के कारणले…!’
‘कारण थियो ।’ फुपू यति बिस्तारै बडबडाउनुभयो, मैले मुस्किलले सुन्नसकेँ ।
‘सुदर्शन ! सुदर्शनलाई थाहा छैन कसरी ममाथि शङ्का लाग्यो, उसले मेरो चियो गर्नथाल्यो । तँप्रति सुरक्षात्मक हुनथाल्यो । ऊ यो घरमा आफ्नो उपस्थितिलाई हक मान्थेन, तिमीहरूको उपकार मान्दथ्यो । अनि त्यस उपकारको बदला ऊ तँलाई सुरक्षा दिएर चुकाउन चाहन्थ्यो । म सुदर्शनसँग सधैँ डराउँथे– कतै उसले तँसँग केही यस्तो नभनिदेओस्, जसको कारण तँलाई मप्रति कुनै शङ्का उत्पन्न होस् । त्यसैले म उसलाई सधैँ दबाएर, धम्काएर राख्ने गर्दथेँ । मलाई थाहा थिएन उसलाई के र कति कुरा थाहा थियो ? म ऊसँग यसबारेमा केही सोध्न पनि सक्थिनँ । त्यही कारणले मैले त्यो सधैँको डरलाई निर्मूल पार्ने निर्णय गरेँ । त्यसमाथि तँलाई माया गरेको, तेरो ख्याल गरेको अभिनय गर्दागर्दै थाकिसकेकी थिएँ म । जसलाई घृणा गरिन्छ उसैलाई माया गरेको, उसको चिन्ता गरेको अभिनय गर्नु पनि एक प्रकारको सजाय नै हो । म यो सजायबाट मुक्त हुन चाहन्थेँ । तर तँ…तँ त अमर बेलभन्दा पनि जब्बर निस्किस् । न त्यति कडा डोज ड्रगले मरिस्, न आगोले । तर पनि केही छैन अब म यो गोली यस्तो ठाउँमा दाग्छु– तँ सोझै तेरा आमा–बाबुकहाँ पुग्नेछस् ।’
मेरो ओठ–तालु सुक्यो । मलाई विश्वास थियो उहाँ जे बोलिरहनुभएको थियो त्यो गर्न कत्ति हिचकिचाउनु हुनेथिएन । त के यही मेरो जीवनको अन्तिम घडी थियो त ? मेरा नौनाडी गले ।
‘तपाईं त्यसो गर्न सक्नुहुन्न…!’ मैले कुरा अझै लम्ब्याइरहने उद्देश्यले भनेँ– ‘गोलीको आवाज ? त्यो बाहिर जाँदैन र ? अनि मेरो लास, त्यसलाई के गर्नुहुन्छ ?’
उहाँ यसरी मुस्कुराउनुभयो मानौँ म जति मूर्ख यो दुनियाँमा अर्को कोही छैन ।
‘ई, यो पिस्तोलको असाधारण लामो टुप्पो देख्याछस् ?’ उहाँले पिस्तोल मतिर तेस्र्याउँदै भन्नुभयो– ‘यसलाई साइलेन्सर भन्छन् । यसबाट गोली चल्दा ठूलो आवाज आउँदैन अनि अलिकति आइहाले पनि यत्रो ठूलो महल, अनि महल छिचोलेर यत्रो ठूलो कम्पाउन्डमा यो आवाज कहाँ हराउँछ कहाँ ! त्यसमाथि आज त मलाई प्रकृतिले पनि साथ दिइरहेकी छिन् । यो गड्याङगुडुङ र अविरल वर्षातमा यौटा ‘पिट्ट’ आवाज कसको कानसम्म पुग्छ ? रह्यो कुरा तेरो लासको, त्यो कुन ठूलो कुरा भयो र ? ई, यो प्लास्टिक देखेको छस् कार्पेटमाथि ओछ्याइएको ? यो यहाँ त्यतिकै विनाउदेश्य राखेकी होइन । हो, यही प्लास्टिकमा तँलाई गुटमुट्याएर, टेपैटेपले बेरेर राणाजीहरूको यस महलको कुनै अन्डरग्राउन्ड कुवा, कुनै गुप्त ढुकुटीमा घँचेटिदिएँ भने सय वर्षसम्म कसैले खोजेर पनि भेट्नेछैन ।’
मृत्युको कल्पना मानिसले धेरैपटक गर्छन् जीवनमा तर मेरो मृत्यु यति भयानक होला भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । मेरो शरीरको छिद्रछिद्रहरूबाट पसिना निस्किए । मैले थरथराएको हातले निधारको पसिना पुछ्दै फेरि भनेँ– ‘ग…गन्ध, लासको गन्ध त तपाईं लुकाउन सक्नुहुन्न, त्यसलाई के गर्नुहुन्छ ?’
‘यत्रो ठूलो महलमा कसले नोटिस गर्छ त्यो गन्ध ? तर पनि म सहरका हरेक पसलबाट प्रत्येक दिन दुई–चार पोका नुन ल्याएर तेरो लासमाथि खान्याएर पुरिदिन्छु अनि केको गन्ध ?’ उहाँले निर्धक्कसँग भन्नुभयो– ‘प्रत्यूष राजा, कुराकानी धेरै भयो, मैले तेरो कुरा लम्ब्याएर समय बरो गर्ने ट्रिक पनि बुझेको हुँ तर रिस्क लिएरै भए पनि मैले तेरा सारा जिज्ञासाहरू शान्त गरिदिएँ । अब मलाई शान्तिसँग मेरो काम गर्न दे ! तँ नचलमलाईकन बसिस् भने तँलाई नै सजिलो हुन्छ । नत्र थाहा छैन मैले कति गोली खर्चिनुपर्ने हुन्छ तँमाथि ।’ उहाँले पिस्तोल मतिर तेस्र्याउनुभयो ।
‘फु…फुपू, एउटा अन्तिम प्रश्न…?’ मैले आतुरतापूर्वक हात उठाउँदै भनेँ ।
‘के ? त्यो पनि सोधिहाल छिटो ।’ फुपूले दुवै हातले दह्रोसँग पिस्तोल समातेर मतिर ताक्दै भन्नुभयो ।
‘आगो…घरमा आगो कसरी लगाउनुभयो ? तपाईं त भक्तपुर होममा जानुभएको थियो ?’ मैले आफ्नोअगाडि उभिएको साक्षात मृत्युलाई केही पल अरू टार्ने उद्देश्यले सोधेँ ।
‘मलाई थाहा छ तँ मलाई अझै अल्मल्याइरहन चाहन्छस् तर मेरो विश्वास गर, तँलाई बचाउन यो असिना–पानी र हावा–हुन्डरीमा यहाँ कोही पनि आउनेवाला छैन । आए पनि गेटमा ताल्चा देखेर फर्केर जानेछ । त्यसैले त्यो आस छोड् !’ फुपूले भन्नुभयो । मैले हताश भावले फेरि घडी हेरेँ । के कमल र वासु आएर पनि फर्किसकेका होलान त ? सोचेरै मेरो मनले हाहाकार गर्यो । फुपूले मेरो अनुहारमा आँखा गाडेर भन्नुभयो– ‘तेरो गल्ती यत्ति हो प्रत्यूष, तँ यो परिवारमा जन्मिस् । तेरो अन्त्यपछि पनि मेरो हातमा खासै केही आउनेवाला छैन तर तेरो अन्त्य नभएसम्म मेरो प्रतिशोध पूरा हुँदैन ! मेरो बाको वंश नाश नभएसम्म मेरो मनले चैन पाउनेछैन ।’ उहाँ अडिनुभयो एक्कै छिन । म के गरौँ ? झम्टौँ फुपूमाथि र उहाँले समातेको पेस्तोल खोसौँ उहाँको हातबाट ? तर म उठ्नासाथ उहाँले गोली चलाइदिनुभयो भने ?
क्रमशः
………………………………………………………………………………………………………………
(विगत डेढ दशकदेखि उपन्यास र कथा विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँचवटा कृतिहरू प्रकाशित छन् । उनको आख्यान–श्रृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ ।)