• २०८१ माघ २७ आइतबार

दशैँ

दिव्य गिरी

दिव्य गिरी

‘आमा ! आमा ! हाम्रो घरमा खसि कहिले ल्याउने ?’ जमुनाले घाँसको भारि पिँडीको डिलमा बिसाउनै लाग्दा चन्दुले सोध्यो । ‘तेरो बाबाले पैसा पठाएकै छैनन् । बाबाले पैसा पठाएपछि खसि किन्ने है ।’ जमुनाले निधारको पसिना पटुकाको फेरले पुछ्दै भनी ।

दशैँ नजिक आइसकेको थियो । गाउँ घरमा खसि र बोका किनेर धमाधाम ल्याउँदै थिए। त्यही देखेर चन्दुले पनि आमासँग खसि कहिले ल्याउने भनेर सोधेको थियो । साँझ पसिकेको थियो । जमुना र उसको सात वर्षको छोरो चन्दुले खाना खाइसकेका थिए । जमुनाले चुल्होको धन्दा सक्दा झन्डै आठ बजिसकेको थियो । जमुनाको मोबाइलमा घन्टी बज्यो ।

‘हेलो, जमुना भाउजू हो ?’ उताबाट अपरिचित व्यक्तिले सोध्यो ।
‘हो, बोल्दै छु । तपाईं को बोलेको ?’ जमुनाले सोधी ।
‘मलेसियाबाट म ध्रुब बोलेको जयदेवको साथी । हामी एउटै कम्पनीमा काम गर्दछौँ ।’ जमुनाको प्रश्नको जवाफ दिँदै ध्रुबले भन्यो ।
‘ए ! यो त उहाँकै मोबाइल हो । किन उहाँ आफैँले फोन गर्न मिलेन ?’ जमुनाले सोधी । ‘भाउजू, कुरा के भने नि, जयदेव दाजु आज कारखानामा काम गर्दागर्दै मेसिनको फिताले तानेर सख्त घाइते हुनुभयो । अस्पतालमा उपचार हुँदैछ ।’

यो खबर सुनेर जमुना वेहोस भएर मझेरीमै ढली ।
‘आमा ! आमा ! के भयो ? उठन उठ ।’ आमाको पाखुरा तानेर चन्दु रुन थाल्यो । चन्दुको रोदन वरपर घरघरमा कराइरहेका बोका र खसिको म्याँ म्याँ आवाजभित्र हराइरहेको थियो ।


दिव्य गिरी
महालक्ष्मी न.पा. ५, टीकाथली, ललितपुर ।