• २०८१ पौष २९ सोमबार

१२ वर्षीया दियाको अंग्रेजी बालकथासंग्रह प्रकाशित

लण्डन- इंग्ल्यान्ड स्लाओकी दिया सापकोटाको अङ्ग्रेजी बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’प्रकाशन भएको छ ।
स्लाओस्थित अप्टनकोर्ट ग्रामर स्कुलमा अध्ययनरत १२ वर्षीया सापकोटाको यो पहिलो प्रकाशित पुस्तक हो । गोविन्द सापकोटा र क्रिजल सापकोटाकी सुपुत्री दियाले सातवर्षको उमेरदेखि नै कथा लेख्न थालेकी हुन् र यो उनको पहिलो प्रकाशित पुस्तक हो ।

यस संग्रहमा पृथ्वी र पर्यावरण लगायत विषयमा ९ थान बालकथा समेटिएका छन् । हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ । पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्छन् । वातावरण मैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन् ।

तारा सापकोटाले यस संग्रहका कथाहरूका लागि चित्र बनाएकी छिन् । यो पुस्तक बालबालिकाका लागि ऊर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ । प्रकाशक कलम प्रकाशनका अनुसार यो कथा संग्रह चाँडै नै eBay मा पनि उपलब्ध हुने छ ।