काठमाडौं ।
शिवप्रसाद जैशीद्वारा लिखित कथासङ्ग्रह ‘घटको रैबार’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तथा प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले कथाकार शिवप्रसाद जैशीद्वारा लिखित कथासङ्ग्रह ‘घटको रैबार’को एक समारोहबीच लोकार्पण गर्नुभएको थियो ।
प्रमुख अतिथि श्रेष्ठले आफूले पढेका हजारौं कथाहरूमध्ये यो कथासङ्ग्रह भिन्न मौलिक खालको रहेको र कथा लेखनमा आफ्नै शिल्प र नवीनता रहेको बताउनुभयो । उहाँले यस कथासङ्ग्रहमा सुदूरपश्चिमस्थित अछाम जिल्लाको परम्परा, भाषा, संस्कृति र परिवेशलाई सुन्दर ढङ्गले अभिव्यक्त गरेकाले कथामा नवीन रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री, नेकपा एमालेका उपमहासचिव तथा कवि प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा कवि शङ्कर कोइराला, अछाम जिल्लाका सांसद एवम् पूर्वमन्त्री शेरबहादुर कुँवर, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्य तथा स्रष्टा नरनाथ लुइँटेल, कवि तथा साझा प्रकाशनका पूर्व अध्यक्ष प्रल्हाद पोखरेल, गजलकार पूर्ण रावल र प्रकाशकको तर्फबाट भुँडीपुराणका प्रबन्धक केशव पराजुलीले लेखकको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कथाकार जैशीले आफ्ना बाल्यकालदेखिका विभिन्न भोगाइ, अनुभव र अनुभूतिबाट कथा लेख्न प्रेरणा मिलेको बताउनुभएको थियो । आफूले भोगेका र देखेका अनेकौं परिवेशले नै कथासिर्जना गर्न उत्प्रेरित गरेको कथाकार जैशीको भनाइ रहेको थियो । उक्त ‘घटको रैबार’ कथाकृति लोकार्पण समारोहको अध्यक्षता नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङ्दीछिरिङ शेर्पाले गर्नुभएको थियो । नेपाल टेलिकमका अधिकृत तोयानाथ भट्टराईले उद्घोषण गर्नुभएको थियो ।
उक्त कार्यक्रम नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, भुँडीपुराण प्रकाशन प्रालि र नेपाल कमर्श क्याम्पस भूतपूर्व एल्मुनाइ एसोसियसनको आयोजनामा भएको थियो ।