कविता

अल्झिएको छु म
भावनाको भुमरीमा
असम्भव छ निस्कन
नसताओ मलाई इसाराहरू
आइपुगेको छु म
धेरै टाढासम्म
असम्भव छ फर्कन
नलोभ्याओ मलाई कल्पनाहरू
हेर मनको सँघारमा
लाजका पहराहरू
नसुनाऊ तिमी शृङ्गारिक गीत
फर्केर जाओ वासनाहरू
पवित्र प्रेमको यो सहरलाई
अझै कति उपहार दिन्छौ
धेरै भयो
अब त, चुँडालेर बन्धन
टाढा जाओ पीडाहरू
सजाएर आशाको नाउ
उभिएको छु म
सुख्खा नदीको किनारमा
गीतका नवीन भाव भरेर
गुनगुनाओ कोमल अधरहरू
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)