कविता

सोझा अटाए
फटाहा अटाए
चोर अटाए
पुलिस अटाए
जागिरे अटाए
बेरोजगार अटाए
तर अहं म अटाइन् ।
भुइँमा गुडाउने अटाए
आकाशमा उडाउने अटाए
दिनभरी पसिना पुछिरहने
रातभरि त्यही पसिनाको मोल लुटिरहने
सडक र गल्लीहरूमा मागि हिड्ने
रोजगारीको लाममा लागि हिड्ने अटाए
तर अहं म अटाइन् ।
कोहि दिउँसै रातपार्ने बन्द कोठामा अटाए
कोहि रात नै दिन बनाउने कोठामा अटाए
दिनभर गिट्टी कुटिरहने
आन्द्राको भोक भुल्याउन इट्टा बोकिरहने
रात परेपछी हायतमा ब्रान्डि धोकिरहने अटाए
बाग्मती किनारमा बालुवा चाल्नेहरूपनि अटाए
इलेक्ट्रीक ग्यासका सट्टा स्टोभ बाल्नेहरूपनि अटाए
तर अहं म अटाइन ।
धुलाम्मे सडकहरूमा मकै पोलि हिड्नेहरू अटाए
स्वार्थ फरफराकका निमित्त झुटो बोलि हिड्नेहरू अटाए
ठेला गाडीमा चटपटे,पानीपुरी, मोमो, स्याभाले, प्याजी
खै के के बेच्नेहरू पनि अटाए
दिनभर पसिना बगाएर
रातभर पिर खेप्नेहरूपनि अटाए
कमिसनको भरोसामा
आफ्नै देश बेच्नेहरूपनि अटाए
तर अहं म अटाइन् ।
यो बेमतलबी शहरमा
भाइ नचिन्ने दाजुहरू अटाए
दाजु बिर्सने भाइहरू अटाए
चेलीबन्धकी राखेर बारमा छिर्नेहरू
आमाको मृगौला बेचेर क्याबिनमा बिट राख्नेहरू
बाको टोपी च्यातेर स्वाभिमानको सिंगान पुच्छ्नेहरू
माइतिको आँखामा पट्टी बाधि दिएर
रात बिरात उन्मत्त सडकमा रमाइ हिड्ने चेलिहरूपनि अटाए
तर अहं म अटाइन ।
कोहि विवशताले नाङ्गिएर पनि अटाए
कोहि रहरले उन्मत्त नाङ्गिएर पनि अटाए
यति ठूलो शहरमा देशका, विदेशका अटाए
विवशताले वार हरले अटाए
तर अहं म अटाइन् ।
आफ्नै छोरिको अस्तित्व लुट्नेहरू अटाए
नाबालिक बच्चिहरू निमोठ्नेहरू अटाए
प्रशासनकै धज्जी उडाउनेहरू
कानुनकै हत्या गर्नेहरू
तिनै हत्याराहरूको संरक्षकहरू अटाए
दिउँसै भन्सार फोर्नेहरू अटाए
यत्रो बिघ्न शहरमा
घुसखोरी, दलाल र ठेकेदारहरू अटाए
दस घामको दुःख खेप्दै दुई छाक टार्ने कामदारहरू
लाटा सोझा मजदुरहरू अटाए
तर अहं म अटाइन् ।
यो ठुलो शहरको
ठुला ठुला, अनगिन्ती घरहरूमा
नेता अटाए, सभासद अटाए
मन्त्री, प्रधानमन्त्री, रास्ट्रपति, देशी, विदेशी अटाए
सबका सब अटाएकै छन
तर अहं म अटाइन् ।
यति ठुलो शहरभित्र
म बिना कामको बिजि मान्छे
सिरानी बनाएर सर्टिफिकेटहरू
बिना कामको मुसाफिर मलाई
म अट्ने एउटै घर नहोस
यति धेरै अनगिन्ती घरहरू बीच
मेरो लागि एउटै कोठा खाली नहोस
कि, कतै म माटो बिनाको धर्ती पो भएँ कि
कि म पानी बिनाको खोलाभएँ
अथवा म मान्छे जस्तै बुख्याचा भएँ
वा म देश भएर पनि
अनागरिक पो भए
यो शहरभित्र सबै सबै अटाए
तर अहं म अटाइन ।।
असल चरित्र, साँझा बस्ती, खोटाङ
sajha.bastee@gmail.com