समाचार
काठमाडौँ ।
नेपालभाषा तथा साहित्य क्षेत्रमा निरन्तर समर्पित भई योगदान पु¥याउँदै आएकी प्राज्ञ कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजले अभिनन्दन गरेको छ । भक्तपुर साहित्यिक समाजले आइतबार २०८३ भदौ २१ गते सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनकै निवास सीतापाइलामा अभिनन्दन गरेको हो । भक्तपुर साहित्यिक समाजका विशिष्ट सदस्यसमेत रहेकी सायमीले समाजको उन्नयनका लागि निरन्तर मार्गनिर्देशन गर्दै आएको भन्दै समाजले अभिनन्दनपत्रमार्फत बधाई तथा शुभकामना व्यक्त गरेको छ। हाल नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा लोकसाहित्य र नारी लेखन विभागकी विभागीय प्रमुखको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेकी सायमीलाई प्रतिष्ठानले लिएको मूल उद्देश्य प्राप्तिमा सफलता मिलोस् भन्ने कामनासमेत गरिएको छ ।
भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीको नेतृत्वमा गएको टोलीले सायमीलाई सगुनसहित सल ओढाएर अभिनन्दन गरेको थियो। टोलीमा समाजका सल्लाहकार काशीराम विरस, कोषाध्यक्ष गुहेश्वरी शाक्य तथा कार्यसमिति सदस्यहरू सुलोचना सैंजु, सूर्यलक्ष्मी भोमी र वसन्त नकर्मी सहभागी थिए । कार्यक्रममा अध्यक्ष मुनंकर्मी र सल्लाहकार विरसले सायमीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सदस्य वसन्त नकर्मीले कार्यक्रम सञ्चालन गर्दै अभिनन्दनपत्र वाचन गरेर सुनाएका थिए ।
अभिनन्दन ग्रहण गर्दै कवि सायमीले साहित्यिक क्षेत्रको विकासमा भक्तपुर साहित्यिक समाजले गर्दै आएका गतिविधि प्रशंसनीय रहेको बताइन्। उनले समाजले साहित्यको विकास र प्रवद्र्धनका क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिन शुभकामना दिइन् । सायमीले नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्व विविध भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा स्तरोन्नतिका लागि विशेष योजनाका साथ अघि बढिरहेको जानकारी दिइन्। देशका विविध भाषा, साहित्य, कला तथा संस्कृतिको विकास र प्रवद्र्धनलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको समुन्नत विकासका लागि वर्तमान टिम क्रियाशील रहेको उनको भनाइ थियो ।
