चाइना मसँग बस्थ्यो । खानपिन आफ्नै साथीहरूसँग गरे पनि सुत्नचाहिँ मेरो कोठामा आउँथ्यो, हाम्रो काममा जाने आउने समय र कामपनि प्रायः एउटै हुन्थ्यो । सँगै जान्थ्यौँ । सँगै आउँथ्यौँ । खाना खाने, खाजा खाने समय पनि एउटै हुन्थ्यो । थाइल्यान्डी ऊ र सिङ दुईजना मात्र थिए । अरू सबै रुसी, अरबी र नेपाली मात्र थियौँ । त्यही भएर उसलाई बालबाइतले जनङ्गे रुम नपुग्दा रोजेर एक नेपालीसँग बस्दै गर पछि हेरौँला । रुम मिलाएर म सार्दिन्छु भनेकोले उसले मलाई रोजेर मसँग बसेको थियो । त्यत्रा नेपालीमा मलाई नै किन रोज्यो ? अरूलाई रोजेर अरूसँगै बसेको भएपनि त हुन्थ्यो । सायद उसले मलाई आफू जस्तै ठान्यो होला । जहाँ गए पनि थाइल्यान्डीले मलाई आफूजस्तै ठाने । आफूजस्तै माने । आफूसँग काममा कसैलाई लानुपर्दा या कुनै नेपालीसँग काममा जानुपर्दा पनि मलाई नै रोजे । मलाई थाइल्यान्डी सारै सोझा र इमानदार लाग्थे । यसो गरौँ भन्दा नाइनास्ती नगर्ने । काममा हातचाहिँ अलि ढिलो गरी चलाउँने । जे भने पनि केही नभन्ने । छिटो भन्दा छिटोपनि होइन । ढिलो भन्दा ढिलोपनि होइन । ठिक्क हिसाबले काम गर्ने । काममा लागिसकेपछि विचलित नभईकन दिएको काम समयभरि दायाँबायाँ नगरी सिध्याउने । बालबाइतसँगै भएपनि नभएपनि एउटै रेसियोमा काम गर्ने । ठग्न नजान्ने । आफ्नै काम सम्झने । यी थाइल्यान्डीका विशेषता हुन् । त्यसैले पनि यिनीहरूले इजरायलीहरूको मन जित्न सकेका हुन्छन् ।
टमाटर र पिलपिलको सिजनमा नेपाली बराबरको सङ्ख्यामा थाइल्यान्डी कामदार थपेथ्यो कम्पनीले । १२/१४ जना नेपाली १२/१४ थाइल्यान्डी गरी २५/३० जना कामदार थियौँ । कामकै सिलसिलामा थाइल्यान्डी र नेपाली साथीहरूबीच मनमुटाव जस्तो भयो । त्यस्तै हो- एउटै खाटमा सुतेपछि खुट्टा लाग्यो होला । भित्रभित्रै थाइल्यान्डी पनि मुरमुरिए । नेपाली पनि मुरमुरिए । कुनै वेला त झगडा होलाजस्तो हुन्थ्यो । कुनै दिन फेरि आफैँ शान्त । गर्दागर्दै धन्न बिस्तारै काम कम हुँदैगयो । कम्पनीले थाइल्यान्डीलाई कम गर्दै अन्त पठाइदियो । बल्ल झगडा हुनबाट बचियो । त्यतिवेला पनि सबैभन्दा बढी तनाव त मलाई भएथ्यो । कोठामा आएपछि हामीबीच कामको बारेमा कुनै कुरा हुँदैनथ्यो । यतिवेला पनि म कहिलेकाहीँ त्यतिवेलाको त्यो हामी थाइल्यान्डी र नेपालीबीचको मनमुटाव सम्झिन्छु । कसो हामीबीच झगडा भएन ! सबै नेपाली र थाइल्यान्डी बेग्लाबेग्लै बस्थे । मसँग भने चाइना बस्थ्यो । तिमी मसँग नबस भन्नपनि मिलेन । उसको नाम पबिट थियो । चाइना त हामी नेपालीले राखिदिएको नाम थियो । चाइनिजजस्तै भएकोले हामीले उसलाई बोलाउँने नाम चाइना राखिदिएका थियौँ । ऊ र सिङ भन्ने अर्को एकजना गरीदुईजना थाइल्यान्डी मात्र रहे हामीसँग काम गर्ने । पहिले पनि यिनै दुई थिए । उनीहरू दुईजनासँग मात्र त्यहाँको भिसा थियो ।
अरूहरूलाई कम्पनीले अन्तै पठाइदियो । लगभग दुई वर्षजति सँगै बस्यो चाइना मसँग । पछि कम्पनीले कोठाको व्यवस्था गरिदिँदा पनि मलाई यहीँ ठीक छ भनेर सर्न मानेन । हामी दुई सँगै बसेकोले पनि त्यहाँ थाइल्यान्डी र नेपालीबीच ठूलो मनमुटाव हुन पाएन । हाम्रो मेलमिलापले पनि थाइल्यान्डी र नेपालीबीच सद्भाव भर्न त्यहाँ निकै ठूलो सहयोग ग¥यो । झगडा नगरौँ भनेपनि खाएको तालमा झगडा हुन्थेन भन्न सकिन्नथ्यो । काम सकेपछि बेलुका त सबै जम्ने नै हो भोड्कामा । कति थाइल्यान्डी त भोड्काको बोतल काममा जाँदा पनि गोजीमा बोकेर जाने हुन्छन् ।
थाइल्यान्डीले अर्काको सम्मान गर्न जानेका हुन्छन् । सम्मान चाहने मान्छेले अर्काको सम्मान गर्न पनि जान्नुपर्छ । चाइना मसँग तीदुई वर्षसँगै बस्यो । उसले भोड्काको बोतल कहाँ राख्थ्यो,मैले कहिल्यै देखिनँ । किनभने उसलाई थाहा थियो,म भोड्का खादिनँ भन्ने कुरा । ऊ कहिल्यै मसँग रिसाएन पनि न म नै ऊसँग कुनै दिन रिसाएँ । त्यसरी बस्यौँ हामी मागेनमा । थाइल्यान्डीले अर्काको सम्मान गर्न जानेका हुन्छन् । सम्मान चाहने मान्छेले अर्काको सम्मान गर्न पनि जान्नुपर्छ । चाइना मसँग त्यत्रो दुई वर्षसँगै बस्यो । उसले भोड्काको बोतल कहाँ राख्थ्यो,मैले कहिल्यै देखिनँ । किनभने उसलाई थाहा थियो ,म भोड्का खादिनँ भन्ने कुरा । ऊ कहिल्यै मसँग रिसाएन पनि न म नै ऊसँग कुनै दिन रिसाएँ । त्यसरी बस्यौँ हामी मागेनमा । हामी छुटेको आज १३ वर्ष भएछ । अहिले पनि म उसलाई उत्तिकै मिस गरिरहेको छु ।
यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण हो । कहिलेकाहीँ सामान्य घटनाले पनि जीवनमा निक्कै ठूलो महत्व राख्दारहेछन् । र ती जीवनभरि भुल्नै नसक्ने गरी अवस्मरणीय क्षणका रूपमा दरिन पुग्दा रहेछन् । यो त्यस्तै घटना बन्यो मेरो जीवनमा । अरूहरूले यसलाई कसरी लिए ? मलाई भने आश्चर्यचकित मात्र बनाएन यो घटनाले । कत्ति दिनसम्म त आतङ्कित समेत बनायो । सम्झँदा पनि रगत उम्लेर आउने ।
एउटा समस्या त्यहाँ के भइदियो भने हामी धेरैले त्यहाँ घरगाउँले र जन्ती नै एकअर्कालाई नचिन्ने । घरगाउँलेले त प्रायः जन्तीलाई नचिन्ने कुरा भएन । जन्तीलाई नचिन्नु मूल समस्या भइदियो । फेरि अर्काको ठाउँमा गएर उग्र हुनुपनि त भएन । केहीसँग झगडा भएपनि हामी धेरैजसो चुपचाप बस्यौँ । हाम्रा केही साथीले कुटाइ खाएपनि राम्रै भयो । हामीले सह्यौँ । सहेकै कारण झगडाले त्योभन्दा ठूलो रूप लिन पाएन ।
०
कुरा आजभन्दा २५ वर्षपहिलेको हो । २०५२÷०५३ सालतिरको कुरा । बडीबाको छोरा (दाइ)को बिहेमा हामी मङ्गलबारे जन्ती गएका थियौँ । उर्लाबारीनजिकको मङ्गलबारे ठाउँको नाम थियो । गाउँमा भएपनि हामी निक्कै ठाँटिएर बजारको शैलीमा जन्ती आएका थियौँ । ठूलो थियो बिहे । उसवेलाको कुरा । दुइटा बस र दुइटा ट्रकमा अटिनअटी थियौँ जन्ती । दाइका साथी बिर्तामोडका केटाहरू पनि थिए । मङ्गलबारे चोकबाट केही पश्चिम गएर उत्तरतिर जङ्गलको बाटो भएर जानुपर्ने । अलिकति उत्तर गएपछि जङ्गल कटेपछिको पहिलो, दोस्रो घर नै जस्तो लाग्छ बिहे घर ।
बेहुलीको घर पुगियो । पुग्नेबित्तिकै एकछिनमा हामीलाई खानपिनको व्यवस्था हुनलाग्यो । कोही खाना खान लागे । कोही लाइनमा लागियो । कोही साउन्डबक्समा गीत थर्काएर नाच्दै थिए । हामी लाइनमा बसेका मात्र थियौँ । गाँस मुखमा पर्न पाएकै थिएन । हाम्रा टाउका माथि हँसिया,खुकुरी र लाठीमुङ्ग्री पो बर्सिन थाले, अकस्मात बिजुली चम्काइको गतिमा । जन्ती त कोही देखिँदैनथे । सबै घरगाउँले मात्र । आइमाई,केटाकेटी, बूढाबूढी सबैका हातमा लाठीमुङ्ग्री मात्र थिए । सबै चिलबिल भइयो । खाना खान भनेर बसेको हाम्रो लाइन कता गयो, गयो ! नाच्ने, गाउनेको ग्रुपबाट को काँ पुगे ! खालि बेहुलासँग छेउमा ओत लागदुईचारजना जन्ती उभिएका थिए । कोही भागेर जङ्गलतिर पसेछन् । कोही घर भित्र छिरेर लुकेछन् । भरे बुझ्दा नाच्ने ग्रुपबाट सामान्य विवाद उत्पन्न भएका कारण झगडा भएको रहेछ । त्यो पनि सामान्यभन्दा सामान्य कुरालाई लिएर । एकदुई घरगाउँले बूढापाका र टाठाबाठाले सुझाए । हामीले बिर्तामोडबाट आएका केटालाई एकछिन भए पनि उनीहरूका नजरबाट लुकाउनुपर्ने भयो । झगडा शान्त हुन्छ भने त्यति किन नगर्ने भनेर हामीले बिर्तामोडबाट आएकासहित अरू दुईचारजना केटालाई एउटा गाडीमा हालेर फर्काइदियौँ । उनीहरू खानै नखाई फर्किए । त्यसपछि केही हदसम्म शान्त त भयो तर दिनभरि कसैको अनुहार उज्यालो भएन । कोही कसैसँग अलि ठूलो स्वरले बोलेन पनि । घरगाउँलेले जेजे भन्छन् सोहीसोही होमा हो मिलायौँ । नत्र विवाद भइहाल्ने । को के कति घाइते भए । त्यो पनि थाहा भएन । धेरैजसो भागेर दिउँसै घर आएछन् ।
त्यसैउसै बेलुकीपख बिहे सकियो । राती बेहुली लिएर घर आइपुगियो । बेहुली ल्याएपछि त दिउँसो चिलबिल भएर फर्केका जन्ती पनि भेला भए । भोज भयो । यसरी त्यो दिन नाच्दा नाच्नेले घरगाउँलेको खुट्टा टेकेको निहुँमा त्यत्रो झगडा भयो । कत्तिले कुटाइ खाए । बिहे पनि बिहेजस्तो भएन । खल्लोखल्लोपनमा बिहे पनि सकियो ।
पछि मैले त्यतैतिरका एक मित्रलाई त्यस दिनको घटना सुनाउँदै झन्डैले सिध्याएका भनेर बताएँ । उसले हाँँस्दै भन्यो– ‘ए त्यहाँ त त्यस्तै हो । केही भन्नै हुँदैन । सबै एक भएर ढुङ्गामुढा,खुँडाखुकुरीसँग खनिन्छन् ।’ यतिवेला पनि म कहिलेकाहीँ कसैको जन्ती जाँदा त्यस दिनको घटना सम्झन्छु । धन्न बचिएछ त्यो दिन । एउटा ढुङ्गाले लागेको भए कन्पारो खुस्किन के बेर । कस्ता मुर्ख रहेछन् ! यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण हो ।
(खत्री चर्चित साहित्यकार हुन् ।)
[email protected]