• २०७९ चैत १२ आइतबार

अन्योल

शान्तिराम ढकाल

शान्तिराम ढकाल

एक हुल जङ्गली अर्नाहरू भारतबाट नेपालतर्फ दौडदै मेची नदी तर्दै थिए । त्यसको पछिपछि जङ्गली बँदेलहरू दौडिरहेका थिए । बाटोमा एउटा मुसोले कान ठाडा पारेर सबै गतिविधि नियालिरहेको थियो ।
बँदेलको छेउमा पुगेर मुसोले प्रश्न गर्यो- ‘ए दाइ ! भैँसीहरू पनि अन्धाधुनध कुदेर मेची तरेर नेपाल पस्दैछन् अनि त्यसरी नै जङ्गली सुँगुर, बँदेलहरू पनि हुलका हुल त्यतै भाग्दैछन्,
के हुन लाग्या हो ? आँधीबेहरी कि भुँइचालो आउन लाग्या हो ? किन कुदेको भन्नु त ? हाम्रो पनि ज्यान हो नि हौ …!’
बँदेलले भन्यो- ‘खोई किन कुदेका हुन् ? तर सबै भैँसीहरू कुदेको देखेर हाम्रो समूह पनि पछि लागेको हो । अरू थाहा छैन हुलमुलमा जिउ जोगाउन हिँडेको हो भाइ ! होस गर है ! ज्यान जोगियो भने पछि कुरा गरौँला ।’यति भनेर ऊ पुनः दौडियो ।
बिचरा मुसो अलमलमा पर्यो के गर्ने कसो गर्ने सिजन- अन्नबाली थन्काउने बेला भएको छ । बिहे पनि भरखरै गरेको छ । के को आपत हो बुझ्नुपर्यो भनेर अलिक अगाडि बढेपछि दौडिएर थकाइ मार्न बसेको एउटा अर्नालाई भेट्यो र सोध्यो, छेउमै एउटा थकित बँदेल पनि थकाइ मारेर बसिरहेको रहेछ।
‘हे अङ्कल किन यसरी हुलका हुल दौडिएर खोला तरेको हो ? के आपत् आइलागेर भागेको भन्नूस् न हौ ! ज्यान त हाम्रो पनि त जोगाउनु पर्यो नि । हैन अङ्कल ?’
थकित अर्नाले मुसोलाई अर्ति दिँदै भन्यो- ‘हेर् कान्छा हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु भन्छन् नि त्यसैले जिउ जोगाउन दौडिएको नि । सबै अघि गइसके ।’
फेरि मुसेकान्छाले सोध्यो- ‘के आपत् आइलाग्यो त ? त्यो भन्नूस् न हौ !’
अर्नाले भन्यो–‘यस जङ्गलका सारा रुख, झारपात, फलफूलका बिरुवाहरू हात्तीहरूले रातभरि खाएर ढालेर सबै सोत्तर पारेछन्र अदालतमा मुद्धा परेको छ अनि भागेको नि ! कतै मान्छेले पक्रिए भने हाम्रो जिन्दगी डुब्छ भनेर हामी पनि भागेका हौँ ।’
अनि मुसेले फेरि सोध्यो- ‘हात्तीले बिगार गरेकोमा अर्नालाई चैँ किन दोष नि ?’
राताराता आँखा पार्दै कड्किएर भैँसीले रिसाउँदै भन्यो- ‘बुद्धु मुसे यिनीहरूले पक्रेर जेल हाले भने हामी अर्नालाई भैँसीको जात हो कि हात्तीको हो भनेर छुट्ट्याउन २०औँ वर्ष लाग्छ । प्रमाणित भएर पछि निस्कँदा ४० वर्ष बित्ला भन्ने डर, घरबार कहिले गर्नु  ? त्यही भएर भागेको नि …!’
बँदेलले पनि सुनिरहेको थियो । ‘म पनि त हात्तीजस्तै देखिन्छु नि !’ भनेर जङ्गलतिर कुलेलम ठोक्यो ।
मुसोले पनि भरखरै बिहे गरेकी श्रीमतीलाई बोलाएर हामीलाई पनि त हात्तीजस्तै छ भनेर पक्रिए भने ४० त तेसै बित्ने रहेछ कान्छी ! बाहिर निस्की जङ्गलतिर भाग्नुपर्छ’ भन्दै अर्नाको पछिपछि दौड लगायो ।
उता हातीहरू बगैँचामा उपद्रो मचाइरहेका थिए । पुलिसहरू मेचीधारमा अर्नाको पछि साङ्ग्ली बोकेर दौडँदै थिए ।
मुसे कान्छो सपरिवार ज्यान जोगिएकोमा दङ्ग भएर दौडँदै थियो ।


(हाल अमेरिकानिवासी ढकाल चर्चित साहित्यकार हुन् ।)
[email protected]