लघुकथा

काठमाडौं ।
कृषा ताम्राकारको बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ तथा I wish I could Fly प्रकाशित भएको छ । पुस्तकमा पन्छीजस्तै बनेर स्वतन्त्र भई आकाशमा उड्न चाहने एक जिज्ञासु बालकलाई मुख्य पात्र बनाइएको छ । पुस्तकका सबै चित्र लेखक ताम्राकारले नै बनाएकी हुन् ।
आमाबाले खुसी बनाउन खोजे पनि रोइरहने सानो बालक भने चरीजस्तै बन्न चाहन्छ । ‘मलाई चरीजस्तै बनाइदिनु’ भन्दै ऊ अभिभावकसामु गनगन गरिरहन्छ । तर, मान्छे चरीझैं कसरी उड्न सक्छ र ! आकाशमा चरी उडेको देखेर एकदिन ऊ दुई हात फैलाउँदै चिरबिर गर्दै पछ्याउँदै दगुर्दै जान्छ । यत्तिकैमा ऊ बाबाजीले तपस्या गरिरहेको ठाउँमा पुग्छ । चरीजस्तै बन्ने तीव्र हुटहुटीले लखेटेको बालकले आफूलाई चरीजस्तै बनाइदिन बाबाजीसामु आग्रह गर्छ । बाबाजी मन्त्र जप्न थाल्छन् । जब एकछिनपछि आँखा खोल्छन्, उनी आफै छक्क पर्छन् ।
के बाबाजीले उसको इच्छा पूरा गरे होलान् ? बालक आकाशमा स्वच्छन्द उड्ने चरी बन्यो होला त ? कथा आश्चर्यजनक ढंगले अघि बढ्छ । कथालाई लयबद्ध रुपमा प्रस्तुत गरिएकाले लय हाल्दै वाचन गर्न र अभिनय गर्दै पढ्न पनि सकिन्छ । पुस्तकमा समाविष्ट चित्र पनि निकै आकर्षक छन् ।
लेखक कृषा ताम्राकार भन्छिन्, ‘मेरो कथाको अन्त्य पाठकको शुरुवात हो’ त्यसमा मलाई खुसी लाग्छ । ‘म उड्न सकें’ लेखक र चित्रकारको रूपमा उनको पहिलो पुस्तक हो । तर यस भन्दा पहिला ‘यःमरि’ लगायत उनका अरू दुई चित्र पुस्तकहरु प्रकाशित छन् । यस बाहेक, उनले आफ्नो कलात्मक प्रतिभा धेरै चित्र पुस्तकहरूमा दिएकी छिन् । उनी बालबालिकालाई चित्रकला पनि सिकाउँछिन् ।
पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित छन् । यस पुस्तकको नेपाली अनुवाद कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन् भने, सम्पादन चर्चित कवी विप्लव प्रतीकले गरेका हुन् । यो चित्रकथा पाँच वर्षमाथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकमाथि छलफल गर्न तथा सात वर्षमाथिका बालबालिकाले आफै पढ्न उपयुक्त छ । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।