कविता
काठमाडौँ ।
नेपालका सामाजिक आन्दोलनमा योगदान पु¥याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक संघर्षले बुनेका साझा सपना लोकार्पण भएको छ । पुस्तकमा विभेदविरुद्ध आवाज उठाएका, समुदायलाई संगठित गरेका तथा अधिकार, सम्मान र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाका व्यक्तिगत यात्रामार्फत नेपालका विभिन्न सामाजिक आन्दोलनको इतिहास र त्यसमा महिलाको भूमिकालाई अभिलेख गरिएको छ ।
पुस्तकमा बादी समुदायको अधिकारका लागि भूमि, अधिकार र सम्मानको संघर्ष गरेकी उमादेवी बादीको कथा समेटिएको छ। त्यस्तै, एसिड आक्रमणबाट बाँचेर न्याय, सम्मान र सामाजिक परिवर्तनका लागि निरन्तर संघर्ष गरिरहेकी मुस्कान खातुनको संघर्षलाई पनि पुस्तकले समेटेको छ ।पुस्तकमा विस्तारै सार्वजनिक स्मृतिबाट हराउँदै गएको सिनो बहिष्कार आन्दोलनका कथाहरू पनि समावेश छन्। उक्त आन्दोलनमा सक्रिय महरीदेवी, भोला देवी र चन्देश्वरी सदाका अनुभवमार्फत जातीय विभेदविरुद्ध महिलाले गरेको संघर्ष, साहस र संगठनको इतिहासलाई प्रस्तुत गरिएको छ ।
पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाका संघर्ष र आन्दोलनलाई लेखन तथा अभिलेखीकरणमार्फत सार्वजनिक स्मृतिमा स्थापित गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताइन् । “यो पुस्तकको विमोचन महिला अधिकार आन्दोलनका लागि अर्को एउटा कोशेढुंगा हो। यी कथाहरू अहिले यसरी लिपिबद्ध भएको देख्दा निकै राम्रो लागेको छ,” डंगोलले भनिन्, “हामीले सम्झनुपर्छ, नलेखेसम्म त्यो लेखिँदैन। महिलाका संघर्ष र आवाजमाथि पटक–पटक प्रश्न उठाइने समाजमा आफ्नै कथा र आख्यान स्थापित गर्ने एउटा बलियो माध्यम यस्ता लेखन र दस्तावेजीकरण हुन् ।”
पुस्तकले आज सामान्यजस्तै लाग्ने कतिपय अधिकार र सामाजिक परिवर्तन लामो संघर्षको परिणाम भएको देखाउन खोजेको छ । विभेद, बहिष्करण र हिंसाका बीच पनि संगठित हुँदै प्रतिरोध गरेका महिलाका संघर्षले नेपाली समाजको वर्तमान स्वरूप निर्माणमा भूमिका खेलेको पुस्तकमा उल्लेख छ ।
पुस्तक सार्वजनिकपछि “महिला नेतृत्व र सामाजिक आन्दोलनहरूः चिन्तन र अभ्यास” शीर्षकमा प्यानल छलफल गरिएको थियो। छलफलमा नेपालमा महिला नेतृत्वमा भएका सामाजिक आन्दोलनका अनुभव, त्यसबाट प्राप्त सिकाइ र ती आन्दोलनको वर्तमान सान्दर्भिकताबारे चर्चा भएको थियो ।
महिला, शान्ति तथा सुरक्षा विज्ञ हेमलता राईले सहजीकरण गरेको छलफलमा अपाङ्गता अधिकार अभियन्ता मुना शाक्य, संघीय संसद् सदस्य पार्वती वि.क., लेखक, अनुसन्धानकर्ता तथा डिजिटल अधिकार अभियन्ता रिता बरामु र त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना सिवाकोटी सहभागी थिए ।
छलफलमा पुस्तकमा समेटिएका व्यक्तिगत संघर्षका कथालाई महिलाको नेतृत्व, सामाजिक न्याय, प्रतिनिधित्व, सम्मान र सामूहिक अभियानका बृहत्तर सवालसँग जोडेर हेरिएको थियो । विगतका सामाजिक आन्दोलनका अनुभवबाट वर्तमानमा समानता र समावेशिताका लागि भइरहेका संघर्षले के सिक्न सक्छन् भन्ने विषयमा पनि छलफल भएको थियो ।
संघर्षले बुनेका साझा सपनाले महिलाका संघर्ष र सामाजिक आन्दोलनका यस्ता कथालाई अभिलेखमार्फत सार्वजनिक स्मृतिमा सुरक्षित राख्ने प्रयास गरेको छ । भ्वाइसेस् अफ वुमन मीडियाद्वारा प्रकाशित यस पुस्तकले इतिहासमा योगदान गरेका तर क्रमशः ओझेलमा पर्दै गएका महिलाका नाम, अनुभव र आवाजलाई सामाजिक आन्दोलनको व्यापक इतिहासभित्र स्थापित गर्ने प्रयास गरेको छ ।
