• २०८१ पौष २९ सोमबार

परिचित

एल्विन प्याङ्ग

एल्विन प्याङ्ग

जब कुनै मानिस
जसलाई म चिन्दिनँ
मलाई आएर भन्छ- ‘हामी धेरै वर्षअघि भेटिएका थियौँ
म छटपटिन्छु, कहिले कहाँ ?’
– बर्नाडिने एवरिस्टो

म तिमीलाई अघिल्लो जन्मदेखि नै चिन्छु
सायद त्योभन्दा पनि पहिलेदेखि नै
१६३४ मा काठमाडौँको
त्यो वसन्त सम्झिन्छौ ?
हामी ९०३ इशापूर्व ‘याङ्तजे’मा सँगै तैरिएका थियौं
(त्यत्तिवेला त्यो नदीको नाम अर्कै थियो)
हामी त्यो डाँडामाथि चढेका थियौँ
जुन आज तिब्बतमा पर्छ ।
हामीले एड्रियाटिक सागरलाई
डायनोसर बनेर तर्साएका थियौँ
म धनी थिएँ र तिमी सार्है गरिब
ऊनको लिलामीमा
हामीबीच डाक बढाबढ भएको थियो
म तिमीले बुनेका राडी बेच्ने गर्थें
तिम्रो ‘टेक्नो भाइरस’ले मलाई लङ्गडो बनाएको थियो
जब रोमनहरू आए, तिमी गाउँदै थियौ
(त्यसवेला मैले अनुभूत गरेँ कि
मैले तिम्रो गीत पहिले नै सुनिसकेको छु । )

अनुवाद: राजेन्द्र शलभ