कविता

जहाँसम्म लाग्छ
म हिंडेको नै हुनेछु ।
किनाराहरुमा
खोलाका किनाराहरुमा
बाटोका किनाराहरुमा
सम्झनाका किनाराहरुमा ।
जहाँसम्म हिंडेको हुनेछु
एउटा आकार
एउटा लय
नापेर केही ज्यामितिगत दुरिहरु
म निरन्तर निरन्तरताहरुमा हिंडेको हुनेछु !
स्पर्शहरुमा
भावहरुमा
समयका विविध अवस्थाहरुमा
अवस्थाहरुका विविध समयहरुमा
प्रिय र अप्रिय व्यतीत घटनाहरुमा
म हिंडेको नै हुनेछु !
जहाँ जहाँसम्म पुगेको हुनेछु
निर्जन टाकुराहरुमा
उच्चाट मरुस्थलहरुमा
हिउँका कठिन चुलीहरुमा
हरिया पर्वतहरुको यात्रामा
म हिंडेको हुनेछु
एउटा मान्छे हिंडेको पद्चाप माटोलाई सुनाउँदै !
म भएको हुनेछु
आउने दिनहरुमा
जाने दिनहरुमा !
म गएपछि
आकाशले रुनु पर्दैन
धर्तीले दुख्नु पर्दैन !
मेरो रिक्तता
कसैले भर्नु पर्दैन !
म मान्छेको भीडलाई
मान्छेकै भीडमा छाडेर जानेछु
मेरो एक्लोपन मसँगै लिएर जानेछु १
म धेरै हलुका भुवाको आयातन जत्तिकै
फूलको तौल जत्तिकै
एउटा पहेँलो पातमा चढेर जानेछु १
म गइसकेपछि
फर्कन्छु
फर्कन्न
थाहा छैन !
तर
हिंड्दा हिंड्दै
निस्सारताको अर्थहिन यात्राबाट थाकेर एकदिन
अवश्य
तिमीले पनि यहि बाटो आउँनुपर्नेछ ।
कृपया
तिमी आउँदा
म बाँचेको कुनैपनि एउटा क्षण
मलाई उपहार ल्याइदिनू १
किनकी
अस्तित्वको विघटित ऐनामा
म आफ्नो जीवन
पुनः एकपटक हेर्न चाहन्छु ।
मौन आवाज