जाडोको रात
झ्यालको कापाबाट छिर्न खोज्ने चिसो बतास
एक्कासि मन तर्सिंदा
उध्रेको सिरक छटपटाउन थाल्छ ।
रङ उडेको तन्ना
एक्लै हाँस्छ रूघो निस्किन खोजेको
कोच्चिएर एउटै डल्लो परेको मैलो डसना ।
मन पर्नु पर्दोरहेछ
चुहिने रात बानी परिसकेको
रसाएको भित्ता काई लागिसकेको
जिब्रोले भिजाएको ओठ
फुट्न खोज्छ छियाछिया परेर ।
बैँस त चढ्छ पत्तै पाइँदैन
टेक्न खोज्ने खुट्टा सलबलाउँछ मात्र
सम्झेको सपना बिर्सन खोज्दा
एकसुरमा लम्केको बूढो साँढे
कौसीबाट मिल्काइएको एक बाल्टिन पानी
निथ्रुक्क भएको आँखा ।
(लोहनी स्थापित साहित्यकार हुन् ।)
[email protected]