• २०८१ श्रावाण १ मङ्गलबार

फुयालको कवितासङ्ग्रह सार्वजनिक

काठमाडौँको अनामनगरमा आयोजित एक कार्यक्रममा नेपाल स्रष्टा समाजद्वारा कवि तथा गीतकार सागर फुयालको कवितासंग्रह ‘आफैँलाई खोज्न मन छ’ सार्वजनिक गरिएको छ ।

सो कृतिको लोकार्पण साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, शिव पगेनीलगायतले गर्नुभएको हो ।

लोकार्पित कृतिउपर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि फुयाललाई बधाई ज्ञापन गर्दै यो दोस्रो कृतिको लागि शुभकामना दिनुभयो । साथै लोकार्पित कृतिबाट कविता पनि वाचन गर्नुभयो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकारहरु नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, शिव पगेनी, किशोर पहाडी र कवि सागर फुयाललगायतले मन्तव्य राख्नु भएको थियो ।