• २०८३ श्रावण १७, आईतवार

केशव निमेषकोे कवितासंग्रह ‘मृत्युगञ्जको मौनता’को बाँकेमा गृह विमोचन

बाँके ।

कवि केशव निमेषको पहिलो कविता संग्रह ‘मृत्युगञ्जको मौनता’को बाँकेको कोहलपुरमा गृह विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कवि निमेषका मातापिता तथा धर्मपत्नीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार सागर गैरेले अतिथिहरूको स्वागत गर्दै विमोचित कृति र कृतिकारबारे जानकारी दिएका थिए । प्रतिष्ठानका सचिवसमेत रहेका कवि निमेषको कविता संग्रहमाथि साहित्यकार डा. अमर गिरी र कवि निभा शाहले समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण कवि हेमप्रकाश मञ्जिलले गरेका थिए ।

साहित्यकार डा. गिरीले ‘मृत्युगञ्जको मौनता’ नेपाली कवितामा गहकिलो हस्तक्षेप गर्न सक्ने परिपक्व कृति भएको बताए । उनका अनुसार संग्रहका कवितामा विविधता, माटोप्रतिको जिम्मेवारी र गहिरो संवेदना रहेको छ, जसले पाठकलाई छोने क्षमता राख्छ । कवि निभा शाहले उक्त कविता संग्रहले युवा भावनाको प्रतिनिधित्व गरेको बताउँदै त्यसमा राजनीतिक तथा सामाजिक सन्देश प्रभावकारी रूपमा अभिव्यक्त भएको उल्लेख गरिन् ।

उनका अनुसार कविताहरूमा प्रश्न, जिज्ञासा, आक्रोश र भुइँमान्छेका आवाज मुखरित भएका छन् । विशेषगरी ‘पलायन–१’ कविताले देशको जल्दोबल्दो समस्यालाई उजागर गरेको उनले बताइन् । कवि निमेषले आफ्नो कविता संग्रहको मूल आधार वर्गीय असमानता, श्रमिकको थकान, जनताको पीडा र संघर्ष रहेको बताए । समाजमा विद्यमान शोषण, उत्पीडन र असमानतालाई केन्द्रमा राखेर कविता सिर्जना गरेको उनको भनाइ थियो ।

‘मृत्युगञ्जको मौनता मा कूल ३२ कविता समावेश छन् । संग्रहलाई ‘आक्रोशको आँधी’, ‘विचारको कारखाना’ र ‘स्मृतिका जलकुम्भीहरू’ गरी तीन उपशीर्षकमा विभाजन गरिएको छ । यसअघि उक्त कृतिको काठमाडौंमा औपचारिक विमोचन गरिएको थियो ।