• २०८१ माघ २७ आइतबार

कलात्मक झ्याल

कात्यायन

कात्यायन

कुरूप हावा
कलात्मक झ्याल फोडेर
कुरुप हावा, भित्र पस्दैछ
झोँक्काका धारिला कूचीहरूले
भित्तामा सजिएका सजिव चित्रहरूलाई
कुसाउरो पार्दै छर्दैछ
र,
सदा झैँ भित्ताहरू मौन छन्
पर उछिट्टिएको एउटा धुजामा थुन मात्र थियो, र
अरू धुजाहरूमा, बाउँदै गरेका कलिला ओँठहरू
एउटा धुजामा वैशाखी थियो, र
अर्कोमा तिन्दृङ्ग अड्किएको एक खुट्टा मात्रै
अर्को धुजामा
काटिएको हातमा सिक्री बेरिएको
अर्कोमा गर्धन थियो
अचानो थियो
र, खुँडा थियो
नाङ्गा तारहरू थिए ती धुजाहरूमा
निलाम्मे लाशहरू पनि, र
वस्तीहरूमाथि चर्किएका बाँधहरू पनि
हावा बढ्दै गयो
कूची चल्दै गयो
धुजा थपिँदै गए
थपिएको अर्को धुजामा
बढेमाको पैँताला थियो
त्यही धुजामुनी धुकधुक गरिरहेको छाती
ओह ! छाती !
त्यो कलात्मक झ्याल त छाती पो रहेछ !
त्यो कुरुप हावा एक सम्झौता !
अस्रल्ल छरिएका धुजाहरूमा
अनगिन्ती निवेदनहरू थिए
र, अनगिन्ती दस्तखतहरू पनि !


कात्यायन