चितवन ।
साहित्य परिषद्को सभाहलमा आयोजित एक कार्यक्रममा विवेकीको कवितासंग्रह ’चस्मा’ सार्वजनिक गरिएको छ। कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले कृति सार्वजनिक गर्नुभएको थियो ।
कवि विवेकीको जन्मदिनका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । राज्य र समाजले किनारा लगाएकाहरूको पीडा, संवेदना, राजनीतिक विसङ्गति, विकृतिलगायतका प्रसङ्गलाई कविले कवितामार्फत उतारेको वक्ताहरूले बताउनुभयो । पुस्तकका सन्दर्भमा डिआर पोखरेल, उदय अधिकारी र भूपिनले वक्तव्य दिनुभएको थियो ।
‘चस्मा’ मूलतः भुईँमान्छेका कथा र राज्यप्रति उनीहरूको आक्रोश र ब्यङ्ग्यको शाव्दिक डकुमेन्ट्री भएको र एक कवि कसरी बजार हल्लाबाट टाढा रहेर चुपचाप काव्य साधना गर्छ ? त्यसको सुन्दर उदाहरण हो ‘चस्मा’, भूपिनले भन्नुभयो ।
प्रमुख अतिथि गोविन्दराज विनोदीले विवेकीले चस्मा कवितासङ्ग्रहमार्फत् आफू बाँचेको समाज र जीवनको सङ्घर्षशील समयलाई सुरुचिपूर्ण शैलीमा उतारेको बताउनुभयो । कार्यक्रममा कवि विवेकीले केही कविता पनि वाचन गर्नुभएको थियो ।