• २०८१ माघ १० बिहीबार

प्रेमस्पर्श

रीमा के.सी

रीमा के.सी

माटोलाई पवित्रताले नुहाइदिन
भीरबाट हामफालेको झरनाझैँ
बतासलाई हुलाकी बनाएर
निश्चलताको प्रेमपत्र लेखी
प्रेयसीको ठेगानामा पठाइएको
रातो गुलाफको सुगन्धझैंँ
धर्तीको सम्झनाले पिरोलेर
अनायास डाँको छोडेर रूने बादलझैं
तिमी मेरो जिन्दगीको त्यो आँसु हौ
जो मेरा सर्वाधिक खुसीहरूमा
मेरो सर्वाधिक पीडाहरूमा
मलाई नसोधी
आँखाहरूलाई खबरै नगरी
आफँै आउछ्न् हार्दिकताको बर्र्सात् बनेर

धर्तीले आकाशलाई
फूलले माटोलाई
नदीले सागरलाई
के कहिले लेखे र प्रेमपत्र ?
अनि कहिले चाहियो र
प्रेमको कुनै साक्षी प्रमाण ??
न कुनै उत्सव छ !
न कुनै समारोह !
न त छ निर्दाेष गुलाफहरूको ओइरो !
कुनै औपचारिकताको बेसुरा राग छैन
शब्दहरूको कुनै सहारा छैन
तैपनि
हृदयको हृदयसँग संवाद छ
आकाशजस्तै आनन्द अगाध छ
तिमी मेरो जिन्दगीको विश्वासको दियो हौ प्रिय !
र म प्रेमको तेल हुँ !

प्रिय ! तिमी जलिरहनु भरोसाको उज्यालो छरेर अनन्त–अनन्त !!
म चुहिरहने छु आस्थाको मूल बनेर
तप….तप….तप….


रीमा के.सी.
[email protected]