• २०८३ कार्तिक १३, बिहीबार

डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानद्वारा १३ स्रष्टा पुरस्कृत हुने

काठमाडौं ।

पहिलो विद्यावारिधि गर्ने लाहुरेका रूपमा परिचित डा. हर्षबहादुर बुढामगरको नाममा स्थापित डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले साहित्य, शिक्षा, कला, समाजसेवा, सञ्चार र सैन्य जीवनलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १३ जना स्रष्टा तथा व्यक्तित्वलाई सम्मान र पुरस्कृत गर्ने घोषणा गरेको छ । विगत तीन वर्षदेखि विविध कारणले स्थगित हुँदै आएको पुरस्कारअन्तर्गत प्रतिष्ठानले २०८०, २०८१ र २०८२ सालका लागि पुरस्कृत हुने व्यक्तित्वको नाम सार्वजनिक गरेको हो ।

२०८० सालका लागि साहित्यकार गोपीकृष्ण प्रसाई, शिक्षासेवी तथा साहित्यकार डा. सुषमा आचार्य, साहित्यकार विन्दु सुवेदी र कलाकार माया पौडेल चयन भएका छन्। त्यसैगरी, २०८१ सालका लागि शिक्षासेवी तथा साहित्यकार गंगा लिगल, सञ्चारकर्मी शरदराज सुवेदी, कवि गीता कार्की र गायिका विष्णु खत्री पुरस्कृत हुने भएका छन् । त्यस्तै, २०८२ सालका लागि शिक्षासेवी तथा साहित्यकार दिनेशराज सुवेदी, साहित्यकार रुकु कार्की, रङ्गकर्मी भरत गुणागाई ‘बर्बरिक’, समाजसेवी तथा साहित्यकार बेलु काजी थापा र साहित्यकार अरुण नदी खत्री चयन भएका छन् । प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तित्वको योगदानका आधारमा उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानले २०८३ सालभित्र अनुकूल वातावरण मिलाएर पुरस्कार तथा सम्मान समर्पण गर्ने जनाएको छ ।

दोस्रो विश्वयुद्धका सेनानीसमेत रहेका डा. हर्षबहादुर बुढामगरले आफ्नो जीवनकालमा समाजसेवा, शिक्षा र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका थिए। नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्ध तथा सम्पादनलगायत विधामा सक्रिय रहेका उनी साहित्यसेवी, शिक्षासेवी, समाजसुधारक र राष्ट्रप्रेमी बहुआयामिक व्यक्तित्वका रूपमा परिचित थिए। उनकै योगदान र स्मृतिलाई जीवन्त राख्दै विभिन्न क्षेत्रमा क्रियाशील प्रति प्रोत्साहित गर्ने उद्देश्यले प्रतिष्ठानले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।