यो वर्षको ‘युवाबर्ष मोती पुरस्कार’ युवा साहित्यकार लक्ष्मण बर्तौला उर्फ बिर्खे अञ्जानलाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिले २०७९ सालको युवाबर्ष मोती पुरस्कारका लागि बर्तौलालाई सिफारिश गरेको भदौ ६ गते सार्वजनिक गरिएको हो ।
नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याए बापत बिर्खे अञ्जानलाई यस वर्षको ‘युवावर्ष मोति पुरस्कार’ प्रदान गर्न लागिएको युवा सेवा कोषका सदस्य सचिव डा. बिष्णुबहादुर भण्डारीले बताउनु भयो । उहाँका अनुसार राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा राष्ट्रिय युवा कोषद्वारा नगद ४० हजार राशी सहित स्थापित पुरस्कार मोतीराम भट्टको जन्मजयन्ती यही भदौ ११ गते काठमाडौंमा एक समारोहबीच गरिने कार्यक्रम छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रलाई कर्मथलो बनाएर साहित्यको संस्थागत विकासका कृष्णप्रसाद बर्तौला र शान्ता बर्तौलाका सुपुत्रको रुपमा २०४० बैशाख १ गते खैरहनी, चितवनमा उहाँको जन्म भएको हो । उहाँका अवसान सपना (कविता सङ्ग्रह २०७२) शल्यक्रिया (समालोचना सङ्ग्रह २०७२) कठघरामा देश (मुक्तक सङ्ग्रह २०७९), मकवानपुरका काव्यः अवलोकन र अध्ययन (समालोचना सङ्ग्रह २०७९) सहित एकल कृतिका साथमा आधा दर्जन बढी संयुक्त कृतिहरू प्रकाशित छन् । त्यस्तै, मकवानपुर जिल्लाको साहित्यिक इतिहास प्रेसमा रहेको छ भने थाहानगरपालिका अन्तर्गत कक्षा १ देखि ८ कक्षा सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्नु भएको छ ।
साथ सिर्जनामा क्रियाशील रहनु भएका बिर्खे अञ्जान पालुङ साहित्य परिषद्को संस्थापक अध्यक्ष हुनुका साथै जन साहित्यमञ्च मकवानपुरका अध्यक्ष समेत हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा अब्बल उपस्थिति र पहिचान बनाउन सफल उहाँ गजलगङ्गा नेपाल २०६० देखि २०६५ सम्म अध्यक्षको अनुभव सँगाल्नु भएका उहाँ साहित्य संगम मकवानपुर, पल्लव साहित्य प्रतिष्ठान, चितवनको सदस्य हुनुहुन्छ भने फरक सोच अभियान थाहा मकवानपुर लगायत एक दर्जन सामाजिक संघसंस्थामा आबद्ध रहनु भएको छ ।
अक्षयकोष स्थापना:
साहित्यको श्रीबृद्धि गर्ने क्रममा उहाँले पालुङ साहित्य परिषद्को मातहत मार्फत सञ्चालन हुनेगरी संस्थाको वार्षिकोत्सवको अवसरमा समर्पित हुने उद्देश्य सहित भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता र शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गर्नका निमित्त आठ लाखको अक्षयकोषको स्थापना गर्नु भएको छ । सो कोषको व्याज रकमबाट पद्मकान्त स्मृति युवा स्रष्टा सम्मान, कृष्णप्रसाद स्मृति नारी स्रष्टा सम्मान, कृष्णप्रसाद स्मृति पत्रकारिता सम्मान, पद्मकान्त स्मृति दीर्घ साहित्य साधना सम्मान प्रत्येक बर्ष नगद सहित २/२ जनालाई समर्पित गरिदै आएको छ ।
उहाँले दामन मासिक २०५८ देखि २०७२ सम्म, दोभान साहित्यिक त्रैमासिक २०६० देखि २०६९ सम्म, अजिव मासिक साहित्यिक पत्रिका २०६१ देखि २०६५ सम्म सम्पादन गर्नु भएको छ । त्यसबाहेक कुराकानी साप्ताहिक, सर्व सिजन साप्ताहिक र दामनपोष्ट साप्ताहिकको संवाददाता समेत हुनुहुन्छ ।
जिल्लास्तरीय निबन्ध प्रतियोगितामा भाग लिएर २०५४ देखि पुरस्कृत हुनथाल्नु भएका उहाँले २०६० सालमा लमजुङबाट अन्तरङ्ग गजल सम्मानबाट सम्मानित हुनुभएको छ । उहाँलाई नेपाली साहित्य परिषद् सिक्किमद्वारा सन् २०१७ मा अभिनन्दन गरिएको छ भने झण्डै चार दर्जन पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुहुन्छ ।